असई थमन विकको हत्या हामीले गरेका होइनौँ : राज्यमन्त्री शर्मा

 साउन १८, २०७५ शुक्रबार १९:५५:१ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – प्रदेश नं. २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफूहरु फरार अभियुक्त नभएको बताउनुभएको छ ।

शुक्रबार महोत्तरीको एकडारा गाँउपालिकाले आयोजना गरेको आर्थिक वर्ष २०७५–०७६ को बजेट तर्जुमा सार्वजानिक समारोहलाई सम्बोधन गर्नुहुँदै जनताको मतले निर्वाचित भएलगत्तै निर्वाचन आयोगबाट प्रमाणपत्र ग्रहण गरेको, मन्त्रिपरिषदले राज्यमन्त्रीमा सपथ ग्रहण गराएलगतै चौबीसै घण्टा प्रहरीले आफूलाई सुरक्षा दिइराखेकोले आफूहरु फरार अभियुक्त नभएको मन्त्री शर्माले स्पष्ट पार्नुभयो ।

राज्यमन्त्री शर्माले आफूहरु अदालतको आदेश सम्मान गर्दै आएकोले दोषी भए कानुन बमोजिम सजाय भोग्नको लागि तयार रहेको जनाउनुभएको छ । मन्त्री शर्माले सशस्त्र प्रहरी असई थमन विकको हत्या आफूहरुले नगरी तत्कालीन स्थानीय प्रशासनको मिलीभगत भएको राज्यमन्त्री शर्माले धारणा राख्नुभयो ।

राज्यले आफूहरुसँग २ वटा मुद्धाको शीर्षकमा फिर्ता लिने सम्झौता भएकोले आफूहरु तत्कालीन मधेश आन्दोलनको क्रममा भएको घटनामा कदापि दोषी हुन नसक्ने शर्माले जिकिर गर्नुभयो ।  तर सरकारले आफूहरुलाई असई थमन विकको हत्यामा सुनियोजित ढंगले फसाउन खोजेको आरोप लगाउनुभयो ।

केही दिन अगाडि मात्रै उच्च अदालत जनकपुरले असई थमन विकको हत्यामा राज्यमन्त्री शर्मासहित जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र(शंकर शाही), प्रदेशसभा सदस्य कौशल रायसहित २८ जनालाई पक्राउ गर्न जिल्ला अदालत महोत्तरीको नाममा परमादेशको फैसलासहित पत्र काटेको थियो । 

मधेस आन्दोलनको क्रममा २५ भदौ ०७२ मा महोत्तरीको जलेश्वरमा भएको झडपका क्रममा सशस्त्र प्रहरीका असई थमन विक घाइते भएका थिए । उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाटै थुतेर उनको हत्या भएको थियो ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया