एकदिवसीय क्रिकेटमा पहिलाे जितका नायकहरु

 साउन १९, २०७५ शनिबार १२:३४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

क्रिकेट समूहमा खेलिने खेल हो ।  यसमा एउटा मात्रै खेलाडी चल्दा कहिलेकाहीँ त जित हात पारिएला तर सधैँ यस्तो हुँदैन । फेरि यो खेलमा अन्तिम ओभरको अन्तिम बल नफाल्दासम्म नतिजाबारे पनि अनुमान गर्न गाह्रो हुन्छ । हो यस्तै भएको नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो खेलको नतिजा पनि । 

आईसीसीले सन् २०२२ सम्मका लागि नेपाललाई एकदिवसीय राष्ट्रको मान्यता दिएपछि नेपाललाई डेब्यू सिरिज खेल्न नेदरल्याण्ड्सले आफ्नै मैदानमा निम्ता गर्यो । नेदरल्याण्ड्सको निम्ता स्वीकार गर्दै नेपालले २ वटा खेलको एकदिवसीय क्रिकेट श्रृङ्खलामा सहभागिता जनायो । पहिलो खेलमा ५५ रनको पराजयलाई बिर्सँदै नेपालले दोस्रो खेलमा १ रनको रोमाञ्चक जित आत्मासाथ मात्रै गरेन, ऐतिहासिक सिरिज पनि एक–एकको बराबरी गर्न सफल भयो ।

एक रनको रोमाञ्चक जित निकाल्दा जति खेलाडीहरु उत्साहित थिए, त्यति नै नेपाली क्रिकेटलाई फलो गर्नेहरुको मुटुको गति पनि बढाइदिएको थियो । कुनै समय नेपाल सानै स्कोेरमा अलआउट हुन्छ भन्दै टाउको छामेर बसेका दर्शकहरु त्यतिबेला खुशी भए जतिबेला आठौँ नम्बरमा मैदान आएर सोमपाल कामीले ६१ रनको चामत्कारिक पारि खेले । उनलाई अर्का खेलाडी सन्दीप लामाछिानेले पनि गतिलो साथ दिए ।

८८ रनमा ५ विकेट गुमाएको नेपालका लागि सोमपाल र सन्दीप बरदान सावित भए र अन्तिम विकेटको रुपमा सन्दीप आउट हुँदा नेपालले स्कोरबोर्डमा २१६ रन जोडिसकेको थियो । यो नै नेदरल्याण्ड्सका लागि चुनौतीपूर्ण स्कोर बन्यो ।

क्रिकेटको मज्जा भनेको बलिङ, ब्याटिङ, किपिङ र फिल्डिङ हो । नेपालको सुरुवाति क्रम राम्रो भए पनि बीचको ब्याटिङ चलेन र अन्त्यमा त्यही ब्याटिङ सुधारिँदा सम्मानजनक  २१६ रनको बोर्ड नेपालले झुण्डाउन सफल भयो ।

ब्याटिङमा चम्किएकाहरु

सोमपाल कामी 

उनी नेपालका अलराउण्डर हुन् । उनको सुझबुझपूर्ण पारिले नेपाल जितको हकदार बन्यो । नेपाली टिमलाई अप्ठेरो परेको बेला सन्दीप लामिछानेसँग स्ट्राइक रोटेड गर्दै सोमपालले ६१ रन बनाए । जुन अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालबाट अर्धशतक बनाउने तेस्रो खेलाडी पनि बने । ४६ बल खेलेका सोमपालले ६१ रन बनाउनु नै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा बनाएको सबैभन्दा ठूलो स्कोर पनि हो ।

पारस खड्का

कप्तान पारस खड्काले दोस्रो एकदिवसीय क्रिकेटमा अर्धशतक बनाए । ६९ बल खेलेका पारसले ५१ रन बनाएर नेपाली इनिङ उकास्न मद्दत गरेका थिए । पाँचौ विकेटका रुपमा रोहित पौडेलसँग जम्मा १६ रनको साझेदारी गर्न पाएका पारसले आरिफ सेखसँग भने ४७ रनको साझेदारी गरे ।

एकदिवसीय क्रिकेटमा पारसको पहिलो अर्धशतक भए पनि नेपाली टिमका लागि  अर्धसतक बनाउने दोस्रो खेलाडी बनेका छन् । पहिलो अर्धशतक बनाउने ज्ञानेन्द्र मल्ल हुन् ।

बलिङमा चम्किएकाहरु

सोमपाल कामी 

हो सोमपाल कामीले जसैगरी ब्याटिङमा जादू देखाए । त्यसैगरी पहिलो ओभरका पहिलो बल कप्तान पारस खड्काले सोमपाललाई नै थमाए । उनले दोस्रो बलमै नेदरल्याण्डस्का खेलाडीलाई शून्य रनमा पेभेलियन पठाएका थिए । १० ओभर बलिङ गरेका सोमपालले ४१ रन खर्चिएर १ विकेट लिए । उनको धारिलो बलिङलेनै नेदरल्याण्ड्सको विकेट पतन सुरु भएको थियो ।

सन्दीप लामिछाने

दोस्रो खेलमा सन्दीपले ३ विकेट लिएका थिए । नेपालले विकेट लिन नसकेको खडेरीलाई सन्दीपल नै टारेका हुन् ।  उनले एकै ओभरमा २ विकेट लिँदै नेपालको आसा जीवितै बनाएका थिए । सन्दीपले ड्यानिएल डे ब्राक र वेस्ले वारेसीको मजबुत साझेदारी तोड्दै नेपालको पक्षमा खेल फर्काउन ठूलो योगदान गरे ।  समग्रमा सन्दीपले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरी

दोस्रो खेलका नायकको नाम लिंदा दीपेन्द्रसिंह ऐरीलाई पनि भुल्न हुँदैन । उनी ब्याटिङमा रन आउट भए पनि बलिङमा भने उत्कृष्टकै दर्जामा गनिन्छन् । ऐरीले नेदरल्याण्ड्सका सर्वाधिक स्कोरर वेस्ले वारेसीलाई पेभेलियन पठाएका थए । ७१ रन बनाएर नेपाली टिमका लागि टाउको दुखाई भइरहेका बेला  ऐरीले ३६ औं ओभरमा एलबीडब्ल्यू आउट गराएर नेपाललाई खुसी बनाएका थिए ।

५ ओभर बलिङ गरेका दीपेन्द्र १ मेडन रख्दै १९ रन खर्चेर १ विकेट लिए । जुन सबैभन्दा महत्वपूर्ण विकेट ऐरीले नै लिए ।

र फेरि पारस खड्का

कप्तान पारस खड्काको विषयमा जति चर्चा गरे पनि कम हुन्छ । उनकै सुझबुझपूर्ण बलिङका माध्यमले नेपालले नेदरल्याण्ड्समाथि एक रनको रोमाञ्चक जित हात  पारेको हो । 

उनी अलराउण्डर भए पनि अन्तिम ओभरको बल खासै लिने गरेका थिएनन् । उनीसँग विकल्पको रुपमा ललित भण्डारी थिए । तर ललितलाई उनले बल दिएनन् बरु आफै बलिङमा आए । 

अन्तिम ओभरमा जितका लागि नेदरल्याण्ड्सलाई ६ रन मात्र आवश्यक थियो । उनले अन्तिम ओभरको पहिलो बलमा १ रन दिए, दोस्रो बल डट गराएका पारसले तेस्रो बलमा १ रन खर्चिए । चौथो बलमा २ रन खर्चिएपछि नेपाल झनै दबाबमा आयो । २ बल २ रन नेदरल्याण्ड्लाई चाहिएको थियो । पाँचौ बलमा उनले रन दिएनन् र अन्तिम बलमा नेदरल्याण्ड्सलाई जितका लागि २ रन आवश्यक थियो भने स्कोर बरबारी गर्न १ रन काफी थियो । कप्तान खड्काले फिल्डरहरुलाई ३० यार्ड भित्र राखेर बलिङ गरे । 

अन्तिम बल  फालेपछि उनैका हातमा बल आइपुग्यो र नेदरल्याण्ड्सका कप्तान कलासनलाई आउट गरेपछि नेपाली टिम तथा समर्थकहरु १ रनको जितका साथ खुसी मनाउन थाले ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया