सबै प्रधानमन्त्रीका योगदान र कार्यकालको विवरण राखेर राट्रिय पार्क बनाइने

 साउन १९, २०७५ शनिबार १३:५८:१२ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – गाउँपालिका क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले प्रधानमन्त्री राष्ट्रिय पार्क निर्माण गर्ने भएको छ ।

गाउँपालिकालाई जिल्लाकै नमुना गाउँपालिका बनाउने लक्ष्यसहित अघि बढेका जनप्रतिनिधिले गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि प्रधानमन्त्री राष्ट्रिय पार्क निर्माण गर्ने योजना अघि सारेका हुन् ।

गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट पार्क निर्माणको काम थाल्ने गरी बजेट समेत विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । पार्कमा नेपालका अहिलेसम्मका सबै प्रधानमन्त्रीहरुको स्तम्भ निर्माण गरी उनीहरुको कार्यकाल र योगदान समेतको विवरण राखिनेछ । पार्क आसपासमा आकर्षक बोट विरुवा र पूर्वाधार समेत तयार गरी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य बनाउने ध्येयले पार्क निर्माणको योजना बनाइएको अध्यक्ष लिम्बूले बताउनुभयो ।

गाउँपालिकाले आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी पहिलो वर्ष १० लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो । अहिले नेपालको ४१ औँ प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली दोश्रो पटक प्रधानमन्त्री हुनुहुन्छ । पार्कमा अहिलेसम्म प्रधानमन्त्री भइसकेका ३० जना बढी व्यक्तिहरुको स्तम्भ निर्माण गरिने प्रवक्ता नेपालीले जानकारी दिनुभयो ।

पार्क निर्माणका लागि पहिलो वर्ष डीपीआर तयार गरी काम सुरु हुने उहाँको भनाई छ । गाउँपालिकामा भएका जस्ता धार्मिक र ऐतिहासिक महत्वका स्थलहरु सबैतिर भएको, तर यस्तो प्रकृतिको ऐतिहासिक पार्क कतै पनि निर्माण भएको नपाइएकाले पार्क निर्माणको योजना अघि सारिएको गाउँपालिकाका अध्यक्ष लिम्बूले बताउनुभयो । पार्क निर्माणपछि गाउँपालिका शैक्षिक र ऐतिहासिक पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा प्रधानमन्त्री पार्कसहित पर्यटन प्रवद्र्धनका लागि ९० लाख रुपैयाँ विनियोजन गरेको छ । पूँजीगत तर्फको बजेटबाट गाउँपालिकाले पर्यटन क्षेत्रका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको हो । यो आर्थिक वर्षमा गएको वर्षको दोब्बर बजेट पर्यटनमा विनियोजन गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो ।

गएको वर्ष गाउँपालिकाले पर्यटन क्षेत्रमा ४० लाख रुपैयाँ मात्रै खर्च गरेको थियो । उक्त बजेटबाट गाउँपालिका क्षेत्रका पर्यटकीय तथा धार्मिक महत्वका क्षेत्रहरुमा पूर्वाधार विकास र प्रचार प्रसारका कार्यहरु गर्ने योजना रहेको छ ।

गाउँपालिकाले भ्यू–टावर निर्माण, सात तले धाम पूर्वाधार विकास, च्याङलुङ गुफा, पिकनिक स्पट निर्माण, चिल्ड्रेन पार्क, शहीद पार्क र भ्यू–पार्क निर्माणलगायत योजनाहरुका लागि पर्यटनतर्फ ९० लाख रुपैयाँ विनियोजन गरेको  गाउँपालिकाका प्रवक्ता नेपालीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया