बिरामीलाई आँगनमै उभ्याएर स्वास्थ्य सेवा

 साउन १९, २०७५ शनिबार १६:५८:२६ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – स्वास्थ्य संस्थाको दुईतले पक्की भवन २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीले बिरामीहरुलाई खुल्ला चउर (आँगन) वटै स्वास्थ्य सेवा दिँदै आएको  छ ।

भूकम्पपछि स्वास्थ्य संस्थाको आँगनमा टेन्ट टाँगेर अस्थायी रुपमा बिरामीलाई सेवा उपलब्ध गराउँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीले प्लाष्टिकको टेन्ट हावा, पानी र घामले मक्किएर च्यातिएपछि अहिले बिरामीको नाम दर्ता गर्ने काम आँगनमै बसेर सञ्चालन गर्दै आएको छ भने बिरामी जाँच र प्रसुति काम भने पाले बस्ने २ कोठे भवनबाट संचालन गर्दै आएको छ ।

स्वास्थ्य संस्थाको भवन अभावका कारण उपचार गराउन आएका बिरामीहरुलाई सहज ढंगले सेवा दिन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीका अहेब गंगा रिमालले बताउनुभयो ।  

स्वास्थ्य संस्थाको भवन नहुँदा पाले घरबाट स्वास्थ्य संस्था संचालन गर्नु पर्दा ज्यादै कठिनाई भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । अहिले एक कोठामा प्रसुति कक्ष र अर्को कोठामा प्रशासनीक काम, ओपीडी कक्ष, जनरल कक्ष, औषधि स्टोरसँगै बिरामीको बेड समेत राखेर उपचार गराउनु पर्दा धेरै समस्या भएको अहेब रिमालले जानकारी दिनुभयो । सरकारले २४ घण्टा स्वास्थ्य संस्था खुल्ला राखेर बिरामीलाई सेवा प्रदान गर्न निर्देशन दिए  पनि रामेछापको सरकारी स्वास्थ्य संस्थाको हालत भने दयनिय रहेको छ ।

स्वास्थ्य संस्थामा इर्मजेन्सीका बिरामी रातको समयमा आउँदा उपचार पाउन नसकेपछि खिम्तीका नागरिकहरु आफ्नो आँगनको स्वास्थ्य संस्था छाडेर छिमेकी जिल्ला दोलखाको शहरे गाउँपालिकाको किर्नेमा पर्ने किर्ने स्वास्थ्य संस्थामा उपचार लिन जान बाध्य भएका छन् । स्वास्थ्य संस्थाको भवन नभएपछि संस्थामा उपचार लिन आउने बिरामीलाई आँगनमा उभ्याएर नै सेवा दिने गरिएको छ ।

संस्थाले रातको समयमा हुने आकस्मीक सेवादेखि सबै प्रकारका उपचार सेवाहरु बन्द गरिएको छ । पाले बस्ने कोठामा रहेर दिउँसो उपचार गराइरहेको भएता पनि रातको समयमा बिजुली बत्ति नहुँदा उपचार गराउन नसकिएको हो । त्यस स्वास्थ्य संस्थामा दैनिक २५ देखि ३५ जनासम्म बिरामीहरु उपचार लिन आउने गरेका छन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया