‘अन्तिम पत्र’ लेखेर दुई दिनदेखि प्रधानाध्यापक बेपत्ता

 साउन १९, २०७५ शनिबार १९:३७:२६ | सन्तोष थापा
unn.prixa.net

पर्वत – कुश्मा नगरपालिका–९, कटुवा चौपारीका एक शिक्षक दुई दिनदेखि बेपत्ता भएका छन् ।

पर्वतकै मोदी गाउँपालिका–६, दोविल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानध्यापक समेत रहेका ५९ वर्षीय शिवप्रसाद पौडेल शुक्रबार बिहानदेखि बेपत्ता हुनुभएको हो ।

शुक्रबार बिहान पूजा पाठ गर्न भनेर घर नजिकैको मन्दिर गएका पौडेल शनिबारसम्म घर नफर्केको परिवारले जनाएका छन् । करिब ३८ वर्ष शिक्षण पेशामा संलग्न रहेर १७ वर्षदेखि हरि प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएका पौडेल घर नफर्केपछि उहाँका भाइ दिवाकर पौडेलले खोजी कार्यमा सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा उजूरी दिनुभएको छ ।

शनिबार बिहानसम्म आफन्तहरुले समेत सोधबुझ गर्दा कुनै अत्तोपत्तो नभएपछि खोजी कार्यका लागि प्रहरीमा निवेदन दिएको पौडेलले जानकारी दिनुभयो । उहाँले घर परिवारमा पनि कुनै झै–झगडा मनमुटाव नरहेको स्पष्ट पार्नुभयोे । जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी दिलिप घिमिरेले निवेदनका आधारमा वेपत्ता शिक्षक पौडेलको खोजी कार्य सुरु भएको बताउनुभयो ।

सिरानीमा 'अन्तिम पत्र'

भाइ दिवाकर पौडेलका अनुसार बेपत्ता शिक्षक पौडेलले आफू सुत्ने ओछ्यानको सिरानीमा अन्तिम पत्र नाम दिएर एउटा पत्र समेत लेखेर छाड्नुभएको छ । उहाँले पत्रमा आफूले लामो समयसम्म शिक्षण पेशामा रहेर पनि घर परिवारमा कुनै प्रगति गर्न नसकेको दुखेसो गर्नुभएको छ ।

सोही पत्रमा पौडेलले घर परिवारलाई नआत्तिन अनुरोध गर्दै आफू अध्यापनरत विद्यालयमा समेत नआत्तिन आग्रह गर्नुभएको छ । उहाँले पत्रमा विद्यालयमा भ्रष्टाचार भएको कुरा समेत उल्लेख गरेको भाइ दिवाकरले बताउनुभएको छ ।

घर परिवारले विद्यालयमा सोधपुछ गर्दा विद्यालय प्रशासन तथा अभिभावक र प्रधानध्यापक पौडेलबीच कुनै पनि समस्या नभएको जानकारी पाएको दिवाकरले बताउनुभयो । बेपत्ता शिक्षक पौडेलका १ छोरा र १ छोरी छन् । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया