फेरि डुब्यो मध्यपुरथिमिको राधेराधे, घ्याम्पे डाँडामा पहिरो जाँदा सडक बन्द

 साउन २०, २०७५ आइतबार १३:४१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर– शनिबार राति परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा बाढी आएपछि मध्यपुर थिमिको राधेराधे क्षेत्रको सिंगो बस्ती र सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ । 

शनिबारदेखि परेको वर्षा र रातिको वर्षाका कारण ढुङ्ग्रे खोला, खस्याङ खुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढी आएर पानीको बहाब जमिन सतहभन्दा माथि आएपछि बस्ती डुबानमा परेको हो ।  

बाढीबाट राधे राधे क्षेत्रका करिब ७० भन्दा बढी घर डुबानमा परेका छन् । बस्ती डुबानमा परेपछि घरबाट मानिसहरु बाहिर निस्किएका छैनन् । बिहान ४ बजे अगाडिदेखि नै घरभित्र पानी पसेपछि स्थानीय बासिन्दा त्रसित भएका थिए । 

पानी घरभित्र पसेपछि घरकोे भुईंतलाको सबै सामानहरु बिग्रिएका छन् । पसल र केही घरको सामान भने प्रहरीले बिहानै आएर सारेका थिए । 

रोधराधे क्षेत्रका विद्यार्थीहरु स्कुल जान नपाएको र यहाँका बासिन्दा कार्यालय समेत जान नपाएको स्थानीउ शर्मिला राईले बताउनुभयो । 

नजिकै रहेको मोन्टेश्वरी लगायतका विद्यालयहरुका साथै होटल तथा रेष्टुरेण्टहरु बन्द भएका छन् । 

यातायात कार्यालयले राधे राधे क्षेत्रमा सञ्चालन गर्दै आएको सवारी अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) बन्द भएको छ । अरनिको राजमार्गमा रहेको भक्तपुर र मध्यपुर थिमि जोड्ने हनुमन्ते पुल क्षेत्र समेत भासिएको छ । 

त्यस्तै हनुमानघाटमा रहेको परोपकार केन्द्र र आसपासकाका घर, सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि, डा. इवामुरा अस्पताल, अक्सफोर्ड स्कूल लगाययका क्षेत्र डुबानमा परेको छ । 

हनुमन्तेमा बाढी आएपछि सुरक्षाकर्मीलाई रातिदेखि नै तयारी अवस्थामा राखिएको डुबान क्षेत्रमा परिचालन गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

यसअघि गएको २८ गते मध्यपुर थिमि क्षेत्र डुबानमा परेको थियो । 

यता भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलमा रहेको घ्याम्पेडाँडा तथा रानीकोट जाने सडकमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । रातिको वर्षाका कारण सूर्यविनायक हुँदै घ्याँम्पेडाँडा जाने बाटोको धेरै ठाउँमा पहिरो गएपछि मुख्य सडक नै अवरुद्ध हुँदा यहाँ बासिन्दाले सास्ती खेप्नु परेको छ । 

स्थानीय होटल व्यावसायी रामजी अवालले पाइलट बाबा आश्रमभन्दा तल र माथि ठाउँठाउँमा पहिरो गएर कालोपत्रे सडकसमेत पूरै अवरुद्ध भएपछि यो बाटो हुँदै विद्यालय जाने विद्यार्थी, शिक्षक, शिक्षिका र स्थानीय बासिन्दा प्रभावित भएको बताउनुभयो । 

रातिदेखि नै बाटो बन्द भएपछि विभिन्न कार्यक्रम लिएर होटलमा आउने आन्तरिक पर्यटक समेत बिचबाटै फर्किएर गएको उहाँको भनाई छ । 

 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया