जाजरकोट अपडेट : पहिरोमा ज्यान गुमाउनेको संख्या आठ पुग्यो

 साउन २०, २०७५ आइतबार १४:४३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

जाजरकोट – भेरी नगरपालिका–३, ठाँटी बजारमा आइतबार बिहान गएको पहिरोमा परि आठ जनाको ज्यान गएको छ ।

पहिरोले तिर्थबहादुर बोहोराको घर र गोपाल सुनुवारको घर पुर्दा आठ जनाको ज्यान गएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले जानकारी दिनुभएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार तिर्थराज बोहराको घरमा भाडा गरी बस्ने लालबहादुर लोहारका श्रीमती र तीन छोरीको घटनास्थलमा नै ज्यान गएको छ ।

लालबहादुर लोहार भने सामान्य घाइते हुनुभएको छ । उहाँकी श्रीमती सितली लोहार, छोरीहरु १० वर्षकी रञ्जना लोहार, सात वर्षकी मनिषा लोहार र तीन वर्षकी भगवती लोहारको ज्यान गएको छ । तिर्थराज बोहराकी आठ वर्षीय छोरी नन्मा बोहराको पनि घटनास्थलमा ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै गोपाल सुनुवारको घरमा भाडा गरी बस्ने माया परियारका दुई भाइहरुको पनि घटनास्थलमा नै ज्यान गएको छ । माया परिवारका भाइ दशरथ परियारको शव फेला परेको छ भने अर्का भाइको शव अझै फेला नपरेको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिनुभयो । त्यस्तै गोपाल सुनुवारको घरमा खेल्न आएका दुई बालक १३ वर्षका नरेन्द्र परियार र १० वर्षका नविन परियारको पनि घटनास्थलमा ज्यान गएको उहाँले जानकारी दिनुभयाे ।  

शवहरुको पोष्टमार्टमा लागि अस्पताल लगिएको छ । अहिले वर्षा रोकिएकाले पहिरा पनि रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिनुभयो । खतिवडाका अनुसार पहिरोले त्यहाँको बस्ती नै जोखिममा पारेकोले त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि भेरी नगरपालिकामा कार्यपालिकाको बैठक बसिरहेको छ ।

फेरि पानी परे त्यहाँको बस्ती पनि पहिरोमा पर्ने भएकाले त्यहाँको बस्ती स्थानान्तरणको लागि पहल भैरहेको उहाँले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया