केबलतार चोरेको आरोपमा २८ महिना साउदीमा जेल परेका प्रेम घर फर्किए

 साउन २०, २०७५ आइतबार १८:१:५३ | उज्यालो सहकर्मी

काठमाडौं – केबल तार चोरेको आरोपमा साउदी अरबमा जेल परेका प्रेमबहादुर राई घर फर्किनुभएको छ । इलामको माई नगरपालिका –४ का राई दुई वर्ष चार महिना जेल बसेर आइतबार नेपाल आइपुग्नुभएको हो । 

 

राईले चलाएको लरीले बोकेको केबल चोरी भएपछि कम्पनीले त्यसबापत ३ लाख १० हजार रियाल अथवा ९५ लाख नेपाली रुपैयाँ तिर्नुपर्ने बताएको थियो ।  

तोकेको रकम तिर्न नसकेपछि कम्पनीले मुद्धा हालेपछि उहाँ जेल पर्नुभएको थियो । परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासमार्फत कम्पनीले तोकेको जरिवाना बुझाएपछि प्रेम नेपाल फर्किनुभएको हो । 

सबैको सहयोगले नानीले बाबा भन्न पाइन् :  श्रीमती

प्रेमलाई लिन श्रीमती सविता राई त्रिभुवन विमानस्थल आइपुग्नुभएको थियो । पत्रकारले घेरिएका प्रेमले आफूलाई जेलबाट निकाल्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । साथमै रहेकी श्रीमती सविताले पनि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भन्नुभयो ‘तपाईंहरु सबैको सहयोगले उहाँ फर्किन पाउनुभयो । मेरी नानीले बाबा भनेर बोलाउन पाइन् ।’ 

नेपाली राजदूतावासको समन्वयमा गठित ‘प्रेम बचाऊ अभियान’बाट संकलन भएको रकमबाटै बिगो रकम साउदी रियाल अनुसार १ लाख ५० हजार अथवा ४३ लाख ३ हजार ५ सय रुपैयाँ रकम बुझाएपछि कम्पनीले जेल मुक्त गरी नेपाल पठाएको ‘प्रेम बचाऊ अभियान मूल समिति’ की संयोजक अनिता राईले बताउनुभयो ।  

बिगो रकम नबुझाइ रिहाई नहुने भएपछि प्रेमको रिहाईको लागि २०७३ असारदेखि नै पहल थालिएको थियो । प्रेम बचाऊ अभियान मूल समिति बनाएर १ वर्ष अघिदेखि नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोलेर सहयोग रकम संकलन गर्न सुरु गरिएको थियो । सबैबाट साथ सहयोग जुटेपछि पारिवारिक पुनर्मिलन गराउन सफल भएको समिति संयोजक राईले बताउनुभयो । 

यसरी परेका थिए प्रेम जेलमा ?

प्रेम सन् २०१२ जुन १२ तारिकका दिन क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट साउदी अरबको रियादस्थित अल सहलावी होल्डिङ कम्पनीको गाडी (लरी) चालकको रुपमा साउदी जानु भएको थियो । सन् २०१५ सेप्टेम्बर ४ तारिखमा घर आएर २०१६ जनवरी १ तारिखका दिन उहाँ त्यही कम्पनीमा कामका लागि जानु भएको थियो ।

२०१६ मार्च ३१ तारिखका दिन लरीमा सामान लिएर जाँदै गर्दा कम्पनीबाट १० किलोमिटर टाढा रियादको जनदिया पुगेपछि प्रेमबहादुर गाडी पार्किङ स्थलमा रोकी साथीलाई भेट्न जानु भएको थियो । साथी भेटेर फर्कँदा पार्किङ गरेको ठाँउमा गाडी नभेटेपछि कम्पनीलाई जानकारी गराउनु भएको बताइएको छ । 

कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै चालक दोषी रहेको दाबीसहित  अदालतमा मुद्धा हालेको थियो । अदालतले तोकेको २ महिना कैद र ५० कोर्राको सजाय भोगेर नेपाल आउने तयारी भइरहेको बेला कम्पनीले पासपोर्ट नदिइ पुनः मुद्धा हालेर ३ लाख १० हजार रियाल अथवा  ९५ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो । क्षतिपूर्ति बुझाउन नसक्दा उहाँ गएको २८ महिनादेखि साउदी प्रहरीको नियन्त्रणमा हुनुहुन्थ्यो ।

प्रेम राईका बारेमा उज्यालोमा ययअघि प्रकाशित खबर पनि पढ्नुहोस् : 

२८ महिनापछि साउदीको जेलबाट छुटे प्रेम, परिवारमा छायो खुशी

साउदीको जेलमा करोडको दाउमा प्रेमबहादुर

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया