बिरामीको ज्यान गएपछि रुकुमको चौरजहारी अस्पताल तनावग्रस्त

 साउन २०, २०७५ आइतबार १८:४४:१९ | उज्यालो सहकर्मी

रुकुम – डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै बिरामीका आफन्तले रुकुम पश्चिमको चौरजहारी अस्पतालमा तोडफोड गरेका छन् ।

शुक्रबार भेरी नगरपालिका वडा नम्बर १३ कुदु जाजरकोटकी यसोधा मल्ल आरसीलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उहाँको आइतबार दिउँसो ज्यान गएपछि आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन् ।

पत्थरी र मृगौलाको समस्याबाट पीडित मल्ललाई आइतबार आफन्तले उपचारको लागि काठमाडौं लैजान हेलिकप्टर बोलाएपछि चिकित्सकले उहाँलाई मृतक घोषणा गरेका थिए । मल्ललाई मृतक घोषणा गरेपछि अस्पतालमा तनाव उत्पन्न भएको हो । अस्पताल प्रशासक डिलबहादुर गोसाइका अनुसार मल्ल मृगौला र पत्थरी समस्याबाट पीडित मल्लकाे उपचारकै क्रममा ज्यान गएकाे हाे ।

अस्पतालमा झण्डै ५० जना बिरामी रहेको र मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दा बिरामी र अस्पतालका कर्मचारीको भागाभाग भएको छ । अहिले अस्पतालमा प्रहरी पुगेको र घटना सामान्य पार्न खोजिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया