रुकुम अपडेट : झडपलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाइ फायर, स्थिति नियन्त्रणमा

 साउन २०, २०७५ आइतवार २०:२४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम – डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै बिरामीका आफन्तले रुकुम पश्चिमको चौरजहारी अस्पतालमा तोडफोड गरेका छन् ।

शुक्रबार भेरी नगरपालिका वडा नम्बर १३ कुदु जाजरकोटकी यसोधा मल्ल आरसीलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उहाँको आइतबार दिउँसो ज्यान गएपछि आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन् ।

पत्थरी र मृगौलाको समस्याबाट पीडित मल्ललाई आइतबार आफन्तले उपचारको लागि काठमाडौं लैजान हेलिकप्टर बोलाएपछि चिकित्सकले उहाँलाई मृतक घोषणा गरेका थिए ।

मल्ललाई मृतक घोषणा गरेपछि अस्पतालमा तनाव उत्पन्न भएको हो । अस्पताल प्रशासक डिलबहादुर गोसाइका अनुसार मृगौला र पत्थरी समस्याबाट पीडित मल्लको उपचारकै क्रममा ज्यान गएको हो ।

अस्पतालमा झण्डै ५० जना बिरामी रहेको र मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दा बिरामी र अस्पतालका कर्मचारीको भागाभाग भएको थियो । आक्रोशित आफन्तले अस्पतालको ओपीडी, इमरजेन्सी, लेखा शाखा र प्रतिक्षालयमा तोडफोड गरेको प्रहरीले जनाएको छ । घटनालाई नियन्त्रमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो । 

आक्रोशित आफन्तले प्रहरीमाथि पनि आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले अवस्था सामान्य भएको छ । आक्रोशित आफन्तले ढुंगामुढा गर्दा प्रहरी समेत घाइते भएका बताइएको छ । अहिले जिल्लाबाट प्रहरीको अर्को टोली घटनास्थलमा पुगेको छ । मानविय क्षतिको विवरण आएको छैन् ।

अन्तिम अपडेट: साउन २६, २०७५

तपाईको प्रतिक्रिया