नारायणकाजीको राजीनामा फिर्ता गराउने नेतृत्वको प्रयास

 साउन २०, २०७५ आइतबार २०:३१:२७ | उज्यालो सहकर्मी

काठमाडौं – प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पदबाट राजीनामा दिएको पनि हप्ता दिन नाघिसक्यो ।

तर श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्नेबारेमा पार्टीभित्र औपचारिक छलफल समेत भएको छैन । श्रेष्ठलाई राजीनामा फिर्ता लिएर पुनः जिम्मेवारीमा फर्काउने वातावरण बनाउन बरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष ओलीले आन्तरिक जिम्मेवारी दिएको बुझिएको छ । तर श्रेष्ठले आफूले कसैलाई घुर्की देखाउन, धम्क्याउन नभई स्वेच्छाले राजीनामा दिएकाले कसैले फकाउने भन्ने कुरै नआउने बताउनुभयो । 

स्वतन्त्रपूर्वक कार्यकर्ताको हैसियतमा पार्टीको काममा संलग्न हुन आफूले राजीनामा दिएको र यसबारे पार्टीले छिट्टै निर्णय लिनेमा आफू आशावादी रहेको पनि श्रेष्ठले बताउनुभयो । केही दिनयता घाँटीको समस्याका कारण घरमै आराम गरिरहेका श्रेष्ठ शीर्ष नेताहरूसँगको सम्पर्कमा समेत नरहेको बुझिएको छ । 

पार्टीले तपाईँको खाँचो छ राजीनामा फिर्ता लिनुहोस् भन्यो भने के गर्नुहुन्छ भन्ने जिज्ञासामा श्रेष्ठले त्यस्तो अवस्था आए पुनर्विचार हुन सक्ने संकेत गर्नुभयो । 
तर पार्टीका महासचिव विष्णु पौडेलले भने प्रवक्ताबाट श्रेष्ठले दिएको राजीनामाका बारेमा अनभिज्ञता जनाउनुभयो । 

पार्टी एकतालाई तल्लो तहसम्म पुर्याउन सर्कुलर भइसकेको र त्यसैअनुरुप कामकारवाही भइरहेको जानकारी दिँदै उहाँले श्रेष्ठले प्रवक्ताबाट दिएको राजीनामाबारे आफूलाई जानकारी नभएको बताउनुभयो । श्रेष्ठले त आफूले राजीनामा दिएको बताउनुहुन्छ नि भनेर सोध्दा उहाँले नै भन्नु भएको हो भने यसबारे बुझेर प्रतिकृया दिने बताउनुभयो ।  

महासचिव पौडेलको अभिव्यक्तिले श्रेष्ठलाई राजीनामा फिर्ता लिन लगाएर पूर्ववत जिम्मेवारीमा नै राखिरहन पार्टीभित्र आन्तरिक प्रयास भइरहेको संकेत गर्छ । प्रधानमन्त्री निवास बालुवाटारमा गएको साउन ७ गते साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी ओलीसँग भनाभन भएपछि श्रेष्ठले राजीनामा दिनुभएको थियो ।  

श्रेष्ठले ‘तपाईहरुको प्रवक्ता तपाईहरु नै राख्नोस’ भन्दै त्यतिबेलै बैठकमै लिखित राजीनामा बुझाएर बाहिरिनुभएको थियो । अनसनमा बसेका डा. गोविन्द केसीलाई भेट्न गएको भन्दै श्रेष्ठसँग ओली लगायत नेकपाका शीर्ष नेताहरु असन्तुष्ट थिए । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया