प्रचार–प्रसार नहुँदा बैतडीका धार्मिकस्थल ओझेलमा

 साउन २१, २०७५ सोमबार ७:२८:१८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – प्रचारप्रसारको अभावमा बैतडीका धेरै धार्मिक स्थलहरु ओझेलमा परेका छन् । भगवतीका शक्तिपीठ र केदारका मन्दिरहरु रहेको बैतडीमा प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा पर्दै गएका हुन् । त्रिपुरासुन्दरी, निंगलाशैनी, डिलाशैनी, मेलौली भगवती लगायतका मन्दिरहरु रहेका छन् भने सिगासधुरा, ग्वाल्लेक केदार, रौलाकेदार, शिखरकेदार, गोफाकेदारलगायतका केदारका मन्दिरहरु पनि रहेका छन् । 

प्रसिद्ध धार्मिक स्थल भए पनि अधिकांश मानिसहरुलाई यहाँको मन्दिरका बारेमा जानकारी नै छैन । स्थानीय पत्रकार लक्ष्मीदत्त पाण्डेय भन्नुहुन्छ ‘बैतडीका स्थानीय तहले धार्मिक पर्यटनको प्रवद्र्धनमा ध्यान दिन सकेमा यो क्षेत्रको आर्थिक समृद्धि सम्भव छ ।’

सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिरको महत्व बद्रीकेदार जत्तिकै रहेको भए पनि प्रचार प्रसार नहुँदा ओझेलमा परेको रौलाकेदार बहुमुखी क्याम्पसका प्रमुख उद्धवबहादुर बिष्टले जानकारी दिनुभयो । रौलाकेदार धामको महत्वका बारेमा प्रचार प्रसार गर्न सके यहाँ उल्लेख्य मात्रामा धार्मिक पर्यटन  भित्र्याउन सकिने उहाँले दाबी गर्नुभयो । 

बैतडीमा रहेका धार्मिक स्थलहरुको दर्शनका लागि सीमावर्ती भारतीय नागरिक पनि आउने गरेका छन् । तर धार्मिक स्थलसम्म पुग्ने सडक मार्ग, बसोबासको उचित व्यवस्था नहुँदा उनीहरु आउन सकिरहेका छैनन् । धार्मिक सम्पदाहरुको प्रचार–प्रसार, संरक्षण र सम्वद्र्धनमा ध्यान दिन सकियो भने जिल्लाको समग्र विकास हुने जानकारहरु बताउँछन् । 

बैतडीमा रहेका धार्मिक सम्पदाहरुको संरक्षण, सम्बद्र्धन र विकासका लागि पहल गरिरहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा यो क्षेत्रको पर्यटन विकासका लागि २७ करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया