एकदिवसीय क्रिकेटकाे सफलतापछि अबकाे लक्ष्य एसियन कप छनाेट : कप्तान पारस

 साउन २१, २०७५ सोमबार ११:४७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं –  ऐतिहासिक पहिलाे अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ ।

सोमबार बिहान जेट एयरलाइन्सको बिमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टलगायतले स्वागत गरेका थिए ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेदरल्याण्ड्सविरुद्ध पहिलो सिरिजमा बराबरी गरेको थियो । दुई एकदिवशीय खेलको श्रृङखलामा नेपालले १–१ को बराबरी गरेको हो । पहिलो खेलमा ५५ रनको पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

त्यसअघि नेपालले क्रिकेटको मक्का मानिने इङ्ल्याण्डको लर्ड्समा नेदरल्याण्ड्स, मेरिलेवोन क्रिकेट क्लब एमसीसीसँग मैत्रीपुर्ण टि–ट्वान्टी सिरिज खेलेको थियोे । वर्षाले प्रभावित सिरिजमा नेपाल र नेदरल्याण्ड्स संयुक्त रूपमा विजयी भएका थिए।

पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा जित हासिल गरेपछि नेपाली टोली निकै उत्साहित छ । कप्तान पारस खड्काले पनि पहिलो जित ऐतिहासिक भएको प्रतिक्रिया दिए । उनले लड्सको सिरिज वर्षाले प्रभावित भए पनि नेदरल्याण्ड्सको सिरिज बराबरी हुनुले उत्साह बढेको बताए । 

एशियाकप छनोट नजिकै आइरहेको अवस्थामा पहिलो एकदिवशीय सिरिजको राम्रो प्रदर्शनले भविश्यमा नेपाली टोली माथिल्लो स्तरको क्रिकेटका लागि तयार रहने कप्तान पारसले बताए । ‘पहिलो जित हो, यसले भविश्यमा नेपाली क्रिकेटको विकासका लागि अझै महत्वपूर्ण हुन्छ भन्ने अपेक्षा लिएका छौं । यसले हाम्रो स्तर अझै माथि लगेको छ, हामी छिट्टै एशियाकप छनोट खेल्दैछौं ।’

कप्तान खड्काले सधैं नेपाली टिमको ओपनिङमा समस्या देखिए पनि नेदरल्याण्ड्सबिरुद्धको सिरिजमा ओपनरहरुले राम्रो गर्दा त्यसलाई सदुपयोग गर्न नसकेको स्वीकार गरे । पहिलो खेलमा १९० रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरेको थियो । यद्यपी मध्यक्रम चल्न नसक्दा नेपाल ५५ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा १ रनको रोमाञ्चक जितबारे कप्तान पारसले भने, ‘अन्तिम ओभरसम्म जिताउनका लागि प्रयास गर्ने हो, त्यस खेलमा पनि हामीले अन्तिमसम्म हिम्मत हारेनौं र जित हासिल गर्न सफल भयौं ।’

उनले एशिया कप छनोट नेपालका लागि अवसरको रुपमा रहेको र त्यसका लागि अझै राम्रो क्रिकेट खेल्नुपर्ने आवश्यकता औल्याए । ‘एशिया कप छनोटमा हामीले हङकङ, युएईजस्ता पेपरमा राम्रो टिमसँग खेल्दैछौं, ओमान पनि बलियो छ, तर, हाम्रो लागि एउटा अवसर पनि छ हामी प्रतियोगिता जितेर सिधै एशियाकपका लागि छनोट हुन सक्छौं । तर, त्यसका लागि अझै राम्रो क्रिकेट खेल्नुपर्छ ।’

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा भने नेदरल्याण्ड्सबिरुद्धको सिरिज नेपाली क्रिकेटको स्तरोन्नतिका लागि महत्वपूर्ण रहेको बताए । प्रशिक्षक टमाटाका अनुसार बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा सुधार गर्नुपर्ने ठाउँ रहेको स्वीकार गरे ।

‘नेदरल्याण्ड्सबिरुद्ध हामीले अन्तर्राष्ट्रियस्तरको फिल्डिङ र बलिङ गर्यौं, हो, ब्याटिङमा सुधार गर्नुपर्ने ठाउँहरु थिए, तर, हामीले एउटा खेल जित्यौं ।’ प्रशिक्षक टमाटाले भने, ‘हामीले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्सलाई हराइसकेका थियौं, त्यसैले हामी सक्छौं भन्ने भावनाले त्यहाँ काम गरेको हो, पहिलो खेलमा हामी हाम्रै कमजोरीले हार्न पुग्यौं तर, दोस्रो खेलमा कमजोरी सच्याउँदै जित हासिल गर्न सक्यौं ।’

उनले नेपालमा क्रिकेट संघ नहुनुको घाटाबारे प्रष्ट्याउँदै नेदरल्याण्ड्स नेपालमा एकदिवसीय सिरिज खेल्न इच्छुक भए पनि क्यान नभएकाले सम्भव नदेखिएको गुनासो गरे ।

प्रशिक्षक टमाटाले केहि दिनको बिश्रामपछि छिट्टै एशिया कप छनोटका लागि बन्द प्रशिक्षण सुरु गरिने जानकारी दिएका छन् । ‘हाम्रो पुरानो सपना हो कि भारत, पाकिस्तानजस्ता ठूला टोलीसँग क्रिकेट खेल्ने, तर, त्यसअघि हामीले छनोट खेल खेल्नुछ र जित्नुछ । त्यसका लागि हामी छिट्टै क्याम्प सुरु गर्नेछौं, श्रीलंकामा प्रशिक्षणका लागि कुरा भइरहेको छ ।’

आगामी अगष्ट २९ देखि नेपालले मलेसियामा एशिया कप छनोट खेल्दैछ । पहिलो खेल नेपालले ओमानसँग अगष्ट २९ मा बायोमास ओभलमा खेल्नेछ । अगस्ट ३० मा नेपालले आफ्नो दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)को सामना गर्नेछ । 

सेप्टेम्बर १ मा घरेलु टोली मलेसियासँग, सेप्टेम्बर २ मा सिंगापुरसँग र सेप्टम्बर ४ मा हङकङसँग खेल्नेछ । यस प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले आसन्न एशिया कप क्रिकेट खेल्नेछ । जहाँ एशियाका पाँच टेष्ट मान्यता प्राप्त मुलुकका टोलीसँग प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया