भएन विद्यालय पुनर्निर्माण, विद्यार्थी अझै टहरामै

 साउन २१, २०७५ सोमबार १२:३३:२० | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – भूकम्पले क्षति पुर्याएका विद्यालयको पुनर्निर्माणको काम अझै हुन सकेकाे छैन । तीन वर्षभित्रै सबै विद्यालय भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य निर्धारण गरिएकोमा अहिलेसम्म १६१ विद्यालयको मात्र पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पमा जिल्लाका ५४७ विद्यालय ध्वस्त भएका थिए ।

शिक्षा विकास तथा समन्वय जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार जिल्लाका विभिन्न ६४ विद्यालय भवन विद्यालय व्यवस्थापन समितिमार्फत नै निर्माण सम्पन्न भएका हुन् । ९७ विद्यालय भवन अन्तर्राष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्थाले निर्माण गरेका हुन् भने अन्य विद्यानय दातृ निकायहरुले बनाइदिएका हुन् ।
 
एसियाली विकास बैंकको सहयोगमा ३७ बढी विद्यालयहरु निर्माणाधीन अवस्थामा छन् । सम्बन्धित विद्यालय व्यवस्थापन समितिमार्फत १ सय ४२ विद्यालयका भवन निर्माणाधीन अवस्थामा छन् । गैरसरकारी संस्थाहरुले निर्माण गर्ने १ सय ३१ विद्यालय भवन मध्ये ३४ विद्यालय भवन निर्माणको क्रममा छन् । निर्माण व्यवसायीमार्फत पुनर्निर्माण हुनुपर्ने ३८ विद्यालयका भवनहरु भने कुनै पनि निर्माण सम्पन्न हुन सकेका छैनन् । निर्माणको जिम्मा लिएका व्यावसायीहरुको ढिलासुस्तीका कारण भूकम्पमा ध्वस्त भएका विद्यालय भवनहरु निर्माणमा सुस्तता आएकोे छ ।
 
समयमै विद्यालयको भवन पुननिर्माणमा नहुँदा विद्यार्थीहरु विनाशकारी भूकम्पको तीन वर्षसम्म पनि अस्थायी  टहरोमा बसेर अध्ययन गर्न बाध्य छन् । तत्कालीन जिल्ला शिक्षा कार्यालयको समन्वयमा शिक्षा विभागलगायत विभिन्न संघ संस्थाहरुले भूकम्पमा क्षति  भएका विद्यालयहरु पुनर्निर्माण गर्ने जिम्मा लिएका थिए ।
 
भूकम्पको तीन वर्ष बितिसक्दा पनि २५ विद्यालयका भवन भने निर्माण सुरु नै भएका छैनन् । आफ्नो स्वामित्वका जग्गा जमिन नभएका तथा न्यून विद्यार्थी संख्या भई मर्जको तयारीमा रहेका विभिन्न २५ विद्यालयका भवनहरु भने निर्माण सुरु नै नभएको जिल्ला आयोजना कार्यान्वयन इकाइका इन्जिनियर शेरबहादुर पुजाराले बताउनुभयो । आगामी दुई वर्षभित्र भूकम्पमा ध्वस्त सबै विद्यालय भवनहरु पुनर्निर्माण सम्पन्न भइसक्ने इन्जिनियर पुजाराले बताउनुभयो । 

 

अन्तिम अपडेट: बैशाख २, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया