ढुंगेलको आक्रोश : देउवाले हिटरमा पिसाब फेर्न लगाएर किड्नी ड्यामेज गरिदिए

 जेठ १५, २०७५ मंगलबार १४:५२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएर तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल रिहा भएका छन् ।

रिहा भएसँगै ढुंगेलले सरकारको शासकीय प्रवृत्तिका कारण आफू जेल जानु परेको बताएका छन् । मुलुकमा गणतन्त्रको माग गर्दै आन्दोलन चलिरहेका बेला संकटकाल लगाउन, टाउकाको मूल्य तोक्ने र योद्धाहरुलाई बेपत्ता बनाउने काममा संलग्नहरु नै गणतन्त्र प्राप्तीपछि नेतृत्वमा पुगेकाले आफूमााथि अन्याय भएको उनको भनाई थियो ।

मंगलबार बिहान डिल्लीबजार कारागारबाट सीधै पेरिसडाँडास्थित तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पुगेका ढुंगेलले त्यसै स्थानमा आयोजित सभालाई सम्बोधन गर्दे गणतन्त्र विरोधी नै गणतन्त्रको मालिक बनेपछि आफू कारागार जानुपरेको बताएका हुन् ।

उनले भने, ‘मैले गणतन्त्र माग्दै गर्दा, गणतन्त्र जिन्दावाद भन्दै गर्दा, मेरो हिटरमा पिसाब फेराएर किड्नी ड्यामेज गर्दिने शेरबहादुर देउवाजीहरु गणतन्त्र आइसकेपछि प्रधानमन्त्री बन्नुहोला र गणतन्त्रको मालिक बनेपछि फेरि मलाई अपराधीकरण गर्दे जेल पठाउनुहुन्छ होला भन्ने मैले त्यो हिरासतमा, त्यो मुर्छनामा  कल्पना गरेको थिइनँ । गणतन्त्र स्थापना भएपछि हिसाब कताब हुन्छ होला भन्ने थियो । गणतन्त्र माग्दाखेरी टाउकाको मूल्य तोक्नेहरु, गणतन्त्र हेरेर पश्चातापको आँशु बगाउँछन् होला भन्ने थियो । पछि तिनै हिटरमा पिसाब फेराउनेहरु, गणतन्त्र माग्दा टाउकाको मोल तोक्नेहरु, संकटकाल घोषणा गर्नेहरु नै गणतन्त्रका मालिक बने । जब गणतन्त्र माग्दा संकटकाल घोषणा गर्ने  र हिटरमा पिसाब फेराउने अनि नागार्जुनका जंगलमा लगेर योद्धाहरु बेपत्ता पार्नेहरु गणतन्त्रको मालिक बन्न पाएपछि बालकृष्ण ढुंगेल जानु थियो कारागार । म गएँ । र आज फेरि रिहा भएको छु ।”

उनले गणतन्त्रलाई ‘अपहरण’ गर्दै र न्यायालयलाई ‘बलात्कृत’ गरेर आफूलाई  जेल हालिएको गरिएको दावी गरे । उनले भने, ‘म बालकृष्ण ढुंगेल न्यायालयको बेन्चबाट बलात्कृत भएको पात्र हूँ ।’ आफ्ना कुरा कसैले नसुनेको भन्दै ढुंगेलले सञ्चार जगत, न्यायालय र वकिलहरुलाई ‘ब्राण्डेड रक्सी’ र ‘एक थाल भातका भतुवा’ को संज्ञा दिनुभयो ।

राष्ट्रपतिबाट कैद माफी पाएको बिर्सेर ढुंगेलले आफू अपराधी नभएको भन्दै ढुंगेलले ढिलै भए पनि सत्यको विजय भएको बताए ।  ढुंगेललाई कैद सजाय मिनाहा नगर्न दावी गर्दे दायर गरिएकाे रिटमाथि सर्वोच्च अदालतमा बहस जारी छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया