टिप्परको ठक्करबाट एक जनाको ज्यान गएपछि हेटौंडा तनावग्रस्त

 साउन २१, २०७५ सोमबार १७:५६:१२ | हरि हुमागाईं

मकवानपुर – टिप्परको ठक्करबाट एक जनाको ज्यान गएपछि हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँ निकैबर तनावग्रस्त भएको छ । 

गैरीगाउँमा ना ७ ख ७३२३ नम्बरको टिप्परले ठक्कर दिँदा स्थानीय २६ वर्षका टंक न्यौपानेको मृत्यु भएको थियो ।  न्यौपानेको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । 

मृतकका आफन्त र गाउँलेहरुले क्षतिपूर्तिको माग गर्दै कान्ति लोकपथ बन्द गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो । प्रहरीले १० राउण्ड अश्रुग्यास पनि हानेको थियो । झडपका क्रममा स्थानीय र प्रहरी गरी आधा दर्जन घाइते भएका छन् । सडक बन्द गर्ने र ठक्कर दिने टिप्परललाई हेटौंडा ल्याउन खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । 

प्रहरी, प्रशासनले मृतक परिवारलाई आज बिहान वार्तामा बोलाए पनि दिउँसोसम्म वार्ता हुन सकेको छैन । मृतक परिवारलाई बेवास्ता गर्दै प्रहरीले पहिला ज्यान लिने टिप्परको सुरक्षामा लागेको स्थानीयले आरोप लगाएका छन् ।

टिप्पर ल्याउनु अघि वार्ता गरेर मृतक परिवारको कुरा सुन्न प्रहरी प्रशासनलाई आग्रह गर्दा बेवास्ता गर्दै टिप्पर हेटौंडा ल्याउन खोजेपछि झडप समेत भएको हो । व्यापक प्रहरी परिचालन गरेर टिप्पर हेटौंडा ल्याइँदै छ । 

मृतक न्यौपानेको शव परिवारले अहिलेसम्म जिम्मा लिएको छैन । मृतक परिवारले चालकलाई कारबाही र वार्तामार्फत् घटनाको समाधान नभएसम्म शव जिम्मा नलिने बताएका छन् । घटनाको विरोधमा स्थानीयले गैरीगाउँको विभिन्न स्थानमा बाटो बन्द गरेका छन् । 

हेटौंडाबाट गैरीगाउँतर्फ गैरहेको बा ४२ प ७०७० नम्बरको मोटरसाइकललाई टिप्परले ठक्कर दिएको थियो । मोटरसाइकलको पछाडि बसेकी गीता न्यौपानेको भने भरतपुरमा उपचार भइरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया