संस्कृति जोगाउन घरेलु रक्सी उत्पादन गर्न पाउनुपर्ने गुरुङ समुदायको माग

 साउन २१, २०७५ सोमबार १८:४५:३० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङका गुरुङ समुदायले घरेलु रक्सी उत्पादन गर्न पाउनुपर्ने माग राखेका छन् । बेसीशहरका गुरुङ समुदायले सोमबार जिल्ला प्रशासन कार्यालय र प्रहरीमा घरेलु रक्सी उत्पादन गर्न पाउनुपर्ने माग राखेका छन् ।

केही दिनअघि बजारमा प्रहरीले छापा मारेर घरेलु रक्सी र रक्सी बनाउने प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेपछि गुरुङ समुदायले यसबारे चासो व्यक्त गरेको हो । गुरुङ जातिले परापूर्वकालदेखि संस्कार संस्कृतिमा साथै जन्मदेखि मृत्यु संस्कारसम्म घरेलु रक्सी चलाउने प्रचलन रहेकोले यसलाई नियन्त्रण गर्ने नाउँमा जबर्जस्ती नगर्न बेसीशहरका गुरुङ समुदायले प्रशासन र प्रहरीसमक्ष आग्रह गरेका हुन् । 

गुरुङ समुदायले पितृकार्य साथै विवाह, पुटपुटे, अर्घुं, छेवरलगायत कार्यमा घरेलु रक्सीको प्रयोग गर्ने भएकाले जबर्जस्ती घरघरै पसेर रक्सी नियन्त्रणमा लिई नष्ट गरिनाले संस्कार संस्कृतिमाथिकै हस्तक्षेप भएको उनीहरुको ठहर छ ।

तमु ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेंसीसहर इकाईको संयोजकत्वमा आइतबार बेसीशहरका ५ वटै गुरुङ टोल÷समाजको बैठक बसेर संस्कारसंस्कृति तथा घरायसी प्रयोजनका लागि घरेलु रक्सी उत्पादनमा बन्देज नलगाउन प्रशासन र प्रहरीलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।   

प्रशासनबाट टोलटोलमा अनुगमन गर्ने समयमा तमु ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेंसीसहर इकाईलाई पनि सूचना गरिदिन आग्रह गरेको छ । 

सोमबार प्रशासनमा मागपत्र बुझाउ“दै इकाईका कार्यवहाक अध्यक्ष हुमबहादुर गुरुङले कानुनले बन्देज लगाएको कुरा प्रशासनले गर्न पाउने तर संस्कारसंस्कृतिमा समस्या पुग्ने गरी काम नगरिदिन आग्रह गर्नुभयो । 

कोषाध्यक्ष मानप्रसाद गुरुङले घरेलु मदिरा बिना संस्कारसंस्कृति रोकिने भएकाले मदिरा उत्पादन नै बन्द नगरिदिन आग्रह गर्नुभएको छ । 

तमु ह्यूला छोंज धींका जिल्ला अध्यक्ष ठाकुर प्रसाद गुरुङले संस्कारसंस्कृति माथिको नियन्त्रणले समुदायमा शान्तिसुरक्षा कायम नहुने भएकाले यसको व्यवहारिक पक्षलाई बुझिदिन आग्रह गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अवैध मदिराका कारण समाजमा झैझगडा हुने, चोरीडकैती, अपराधिक क्रियाकलाप बढेको भन्दै अवैध रुपमा व्यावसायिक हिसावले तयार पारिएको रक्सी नियन्त्रण अभियान संचालन गरिएको बताउनुभयो । प्रशासनले संस्कारसंस्कृतिमाथि नियन्त्रण नभई यसको संरक्षण र संवद्र्धनमा जोड दिने उहाँले बताउनुभयो । 

सामाजिक, साँस्कृतिक चलन र परम्परामा प्रशासनको हस्तक्षेप नहुने भन्दै उहा“ले पसलपसलमा हुने अवैध खालका रक्सी नियन्त्रणका लागि सहयोगी बनिदिन गुरुङ समुदायसंग आग्रह समेत गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया