पूर्व कानुनमन्त्री तामाङले भने : मन्त्री हुँदा पाएको तलब ऋण तिर्दै ठिक्क !

 साउन २१, २०७५ सोमबार १९:११:२४ | उज्यालो सहकर्मी

काठमाडौं – पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्री भएपछि चल, अचल सम्पत्ति नथपिएको स्पष्ट पार्नुभयो । १ सय ३० दिन कानुनमन्त्री भएर राजीनामा दिनु भएका उहाँले अहिले आफ्नो खातामा नगद ४३ हजार ९ सय ६७ रुपैयाँ रहेको र बाँकी मन्त्रीको रुपमा लिएको तलब भत्ताले ऋण तिरेको बताउनुभयो ।

त्यसैगरी पूर्व कानुनमन्त्री तामाङले श्रीमती उषाकला राईको नाममा एउटा बैंकमा १ लाख ६६ हजार र अर्को बैंकमा १ लाख २२ हजार रहेको जानकारी पनि दिनुभयो । सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निर्वाचित सांसद तामाङले आफूसँग सिन्धुपाल्चोकको सिन्धुकोट र मेलम्चीमा जग्गा रहेको र श्रीमती राईको मोरङका विभिन्न स्थानमा र खोटाङमा पनि जग्गा रहेको बताउनुभयो ।

तामाङसँग मोटरसाइकल र श्रीमती राईसँग कार रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । पूर्वमन्त्री तामाङ र प्रदेश–१, की सांसद श्रीमती राईसँग ३० तोला सुन रहेको पनि जानकारी दिइएको छ ।

पूर्व मन्त्री तामाङले पत्रकार सम्मेलनमा आफूले भ्रष्टाचार नियन्त्रणलाई एक मात्रै लक्ष्य बनाएको दावी गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया