चौरजहारी अस्पतालमा सोमबार पनि झडप, ९ शेल अश्रु ग्यास प्रहार

 साउन २१, २०७५ सोमबार २०:२८:११ | राजु लामिछाने
unn.prixa.net

रुकुम – डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै आक्रोशित भएका आफन्त र प्रहरीबीच सोमबार पनि चौरजहारी अस्पतालमा झडप भएको छ ।

शुक्रबार भेरी नगरपालिका वडा नम्बर १३ कुदु जाजरकोटकी यसोधा मल्ल आरसीलाई उपचारको लागि रुकुमको चौरजहारी अस्पताल अस्पताल गरिएको थियो तर उहाँको आइतबार दिउँसो ज्यान गएपछि आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै अस्पताल प्रशासनप्रति आक्रोशित भएका हुन् ।

पत्थरी र मृगौलाको समस्याबाट पीडित मल्ललाई आइतबार आफन्तले उपचारको लागि काठमाडौं लैजान हेलिकप्टर बोलाएपछि चिकित्सकले उहाँलाई मृतक घोषणा गरेका थिए । मल्ललाई मृतक घोषणा गरेपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो ।

 

आइतबार आक्रोशित आफन्तले अस्पतालको ओपीडी, इमरजेन्सी, लेखा शाखा र प्रतिक्षालयमा तोडफोड गरेका थिए । घटनालाई नियन्त्रमा लिन प्रहरीले आइतबार दुई राउण्ड हवाई फायर गरेको थियो । आइतबार सुर्खेत, जाजरकोट, सल्यान, रुकुम पूर्वबाट प्रहरी थप गरी घटनास्थललाई नियन्त्रणमा लिने प्रयास भएको थियो ।

सोमबार पनि बिरामीका आफन्तले अस्पतालमा आक्रमण गर्दा चारजना प्रहरी घाइते भएका छन् । प्रहरीले झडपलाई नियन्त्रणमा लिन ९ शेल अश्रु ग्यास प्रहार गरेको छ । मृतकका आफन्त पनि झडपमा घाइते भएको जनाइएको छ । घाइतेको एकीन विवरण आएको छैन् ।

सोमबार अस्पतालका निर्देशक कपिल शर्मा विवाद मिलाउन अस्पतालतर्फ आउँदै गरेको जनाइएको छ । उहाँ आएपछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच वार्ता हुने अस्पताल प्रशासनले जनाएको छ ।

मृतकका आफन्तले मृतकका बच्चाको पढाई, मृतक भएकाको उपचारमा लागेको खर्च बेहोर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । उनीहरुले घटनाका दोषिलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।

अन्तिम अपडेट: चैत ८, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया