दुई दिन घाम लागेमा कलंकीको ‘अण्डरपास’ खुल्ने, यसरी पास हुनेछन् गाडी

 साउन २२, २०७५ मंगलबार ७:२०:१६ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – लगातारको झरीले कलंकीमा बन्दै गरेको अण्डरपास सञ्चालनमा ढिलाई भएको छ । साउन पहिलो हप्तामै अण्डरपास सञ्चालनमा ल्याउने भनिए पनि घाम नलागेर काम हुन नसक्दा ढिलाई भएको हो ।

चक्रपथ सडक आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार अण्डरपासको सबै काम सकिए पनि कालोपत्रे गर्न बाँकी भएकोले अहिल्यै खुलाउन नसकिएको हो । घाम नलाग्दा काम नहुने भएकाले राम्रोसँग घाम लागेपछि मात्र काम हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दुई दिनको मात्र काम बाँकी छ, तर घामले राम्रोसँग जमिन नतातेसम्म पिच गर्न नमिल्ने भएकाले काम अहिले रोकिएको हो ।’

चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण भएको हो । दुई वर्षअघि सुरु भएको अण्डरपास निर्माणको काम ६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प र नाकाबन्दीको कारण देखाउदैं ठेकेदार कम्पनीले समयमा काम नगरेपछि एक वर्ष समय थप गरिएको थियो । थप गरिएको समयमा पनि दुई महिना बढी भइसक्यो । 

अण्डरपास खुलेपछि कलंकीको जाम हट्ने, यसरी हुनेछन् गाडी पास

अण्डरपास खुलेपछि कलंकीमा जाम हुने छैन । चक्रपथमा गुड्ने गाडी अण्डरपास भएर ओहोरदोहोर गर्नेछन् । थानकोटबाट स्वयम्भूतर्फ, स्वयम्भूबाट कालिमाटीतर्फ, कालिमाटीबाट बल्खुतर्फ र बल्खुबाट थानकोटतर्फ गुड्ने गाडी कलंकी चोकमा रोकिनुपर्ने छैन ।

थानकोटबाट बल्खु र कालिमाटीतर्फ तथा कालिमाटीबाट स्वयम्भू र थानकोटतर्फ गुड्ने गाडीहरुले भने केहीबेर पालो पर्खनुपर्ने हुन्छ ।

अर्थात गुडिरहेको रुटबाट बायाँतर्फ मोडिंदा नरोकिकनै गाडी जान पाउने छन् भने गाडी गुडिरहेको रुटबाट दायाँतर्फ जाँदा भने केहीबेर रोकिनुपर्ने आयोजना प्रमुख भण्डारीले बताउनुभयो ।

कलंकी चोकबाट स्वयम्भूतर्फ चारसय मिटर र बल्खुतर्फ चार सय मिटर गरी आठसय मिटर  लामो चार लेनको अण्डरपासमाथि दुबैतिरबाट दुई दुर्ई लेन छन् । सडक छेउमा साइकल गुडाउन र मान्छे हिँड्न मिल्ने गरी फुटपाथको व्यवस्था गरिएको छ । अहिले फुटपाथ बनाउने काम धमाधम भैरहेको छ ।

कोटेश्वर–बल्खु–कलंकी १० दशमलव ४ किलोमिटर सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । नौ किलोमिटर काम सम्पन्न भईसकेको छ ।

खसीबजारदेखि बल्खुसम्मको  एक दशमलव चार  किमीको सडकखण्ड विस्तारको काम सम्पन्न भइसकेको, तर फिनिसिङ गरेर पिच गर्न मात्र बाँकी रहेको योजना प्रमुख भण्डारीले जानकारी दिनुभयो । चीन सरकारको अनुदान सहयोगमा कोटेश्वर–बल्खु–कलंकी चक्रपथ विस्तारको काम भैरहेको हो ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

1 Comments

  • माेहन हरि अाचर्य

    Aug. 7, 2018, 7:44 a.m.

    थानकाेटबाट बल्खु जादा बायां साइड बाट गएर अन्डर पास बाट बल्खु तर्फ जाने र बालाजु बाट थानकाेट जांदा अन्डर पास बाट छिरेर दायाँ तर्फ माेडी थानकाेट तर्फ जानेे ब्वस्था मिलाए त पालाे कुर्नै पर्दैन नि ।

  •  0 Reply

तपाईको प्रतिक्रिया