तीन उत्कृष्ट स्टार्टअप आईडिया पुरस्कृत

 साउन २२, २०७५ मंगलबार ८:३१:५१ | उज्यालो सहकर्मी

काठमाडौं - अमेरिकी विश्वविद्यालय म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलाजी (एमआईटी) ले संचालन गरको एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रममा तयार पारिएका ९ स्टार्टअप आईडियामध्येबाट तीन उत्कृष्ट आईडिया पुरस्कृत भएका छन् ।

निर्णायक मण्डलले तीन उत्कृष्ट स्टार्टअप आईडियाहरु ‘सजिलो मर्मत सेवा’लाई प्रथम, ‘किन्डर’लाई द्वितीय र ‘ओपस’लाई तृतीय घोषित गरेका हुन् । यी तीन समुहले पुरस्कार स्वरुप एमआईटीको अनलाईन कोर्ष माइक्रो मास्टर कोर्ष (एमएमसी) पाउनुका साथै एनसेलकातर्फबाट प्रथम भएको आईडियाले रु ५००,०००, द्वितिय भएको आईडियाले रु ३००,००० र तृतीय भएकोे आईडियाले रु २००,००० सिड फण्ड पाएका छन् ।

विजयी तीन स्टार्टअप आईडियाहरुलाई काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) इन्क्युबेसन सेन्टरले इन्क्युबेसनका लागि स्थान दिंदै प्रशिक्षण सुविधा पनि प्रदान गर्नेछ । अन्य सहभागी समूहका विद्यार्थीहरुले पनि सान्त्वना पुरस्कार स्वरुप एमआईटीको इडिएक्स सर्टिफिकेट कोर्ष प्राप्त गरेका छन् । 

एमआईटीले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा पहिलो पटक सञ्चालन गरेको एमआईटी जीएसएलमा काठमाडौं विश्वविद्यालय र यस विश्वविद्यालको आल्मुनाईको १५० आवेदकहरुमध्येबाट छानिएका ३५ विद्यार्थीहरु सहभागी भएका थिए । उनीहरुले एमआईटीका प्रशिक्षकहरुको प्रशिक्षणमा ९ समूहमा आबद्ध भई आ—आफ्ना स्टार्टअप आईडियामा काम गरेका थिए ।

एमआईटी जिएसएल नेपाल २०१८ की प्रमुख प्राविधिक प्रशिक्षक ज्याकी सुले भनिन्, “आफ्नो प्रस्तुती तथा न्युनतम संभाव्य उत्पादनलाई  निखार्नका लागि सात हप्तामा हाम्रा विद्यार्थीहरुले गरेको परिश्रम तथा उनीहरुको निष्ठा तथा लगावले हामीलाई चकित पारेको छ । नतिजा जे भए पनि आफ्नो काम जारी राख्ने तथा नेपालको भविष्य निर्माण गर्ने कौशल र साहस उनीहरुमा विकास भएको छ ।”

एमआईटीले विगत १८ वर्ष देखि यो कार्यक्रम दक्षिण एसियाको भारत र श्रीलंका लगायत विश्वका विभिन्न २५ राष्ट्रहरुमा संचालन गर्दै आएको छ । कार्यक्रमले प्रविधिमा आधारित युवा उद्यमीहरुको प्रवर्धन गर्दै विकासशील राष्ट्रहरुको आर्थिक विकासमा योगदान पु¥याउँदै आएको छ ।
 

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया