डिजेल पेट्रोल नपाएपछि संखुवासभामा गाडी गुड्न छोडे

 साउन २२, २०७५ मंगलबार ८:५४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा – एक हप्तादेखि पट्रोलियम पदार्थ आपूर्ति बन्द भएपछि संखुवासभामा गाडी गुड्न छोडेका छन् । पेट्रोलियम पदार्थको अभावले  गाडी गुड्न छोडेपछि स्थानीय समस्यामा परेका छन् ।

डिजेल पेट्रोल नहुँदा गाडी गुडाउन मुश्किल पर्न थालेको यातायात व्यवसायीहरुको गुनासो छ । संखुवासभाको लागि विराटनगरमा रहेको आयल निगमको क्षेत्रीय कार्यालयबाटै पेट्रोल डिजेल नआएको व्यवसायीहरु बताउँछन् । 

क्षेत्रीय कार्याललयले नै पहाडी क्षेत्रका लागि प्रेट्रोलियम पदार्थ पठाउन आनाकानी गर्दै आएको स्थानीय यसोदा पेट्रोल पम्पका संचालक उत्तम कटवालले बताउनुभयो । उनीहरुको खातामा पैसा जम्मा गरिदिए पनि भोलि भोलि भन्दै टार्ने गरेको उहाँले बताउनुभयो । 

जिल्लामा संचालित कुनै पनि पम्पलाई डिजेल प्रेट्रोल दिइएको छैन । जिल्लाका सबै पम्पहरुमा डिजेल सकिएपछि यात्रु बोकेर हिँड्ने गाडीहरु पनि चल्न छोडेका छन् । 

पेट्रोलको अभाव हुदाँ मोटरसाइकलबाट दैनिक यात्रा गर्ने कर्मचारी तथा व्यापारी पनि समस्यामा पर्न थालेका छन् । सदरमुकाम खाँदबारीबाट चिचिला गाउँपालिका कार्यालय धाउने कृषिका कर्मचारी बलबहादुर विश्वकर्मालाई प्रेट्रोल नहुँदा कार्यालय जान समस्या पर्न थालेको बताउनुहुन्छ । 

उहाँ जस्तै धेरै स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई कार्यालय आवतजावतमा समस्या हुन थालेको छ ।

खाँदबारीमा रहेको महालक्ष्मी पेट्रोल पम्प, यसोदा पेट्रोल पम्प र तुम्लिङ्गटारमा रहेको तीन ओटा पम्पमा नै डिजेल र पेट्रोल छैन । चैनपुर र मुडेमा रहेको पम्पमा पनि डिजेल र पेट्रोलको समस्या रहेको बताइएको छ ।

जिल्लामा पेट्रोलियम पदार्थको अभाव पटक–पटक देखिए पनि दीर्घकालीन रुपमा समस्या भने हट्न सकेको छैन । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया