बन्दले प्रदेश नम्बर १ को जनजीवन प्रभावित

 साउन २२, २०७५ मंगलबार ११:५०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

धनकुटा –  बन्दका कारण प्रदेश नं. १ को जनजीवन प्रभावित बनेको छ । लिम्बूवान–खम्बूवानमा सक्रिय रहेका पहिचानवादी राजनीतिक दलहरु राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी, लिम्बूवान राष्ट्रिय क्रान्तिकारी पार्टी र कोचिला एकता पार्टीले प्रदेश नं १ बन्द आह्वान गरेका हुन् । बिहानदेखि धरानबाट धनकुटा हुँदै पहाडी जिल्ला भोजपुर, संखुवासभा, तेह्रथुमतर्फ संचालन हुने सवारी साधनहरु ठप्प रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बन्दका पूर्व जानकारी नपाएपछि धनकुटा बसपार्क, हिलेबजार, पाख्रीवास बजार, सिधुवाबजार, लेगुवा लगायतका स्थानमा यात्रुहरु अलपत्र परेका छन् । बन्दको प्रभाव प्रदेश नं. १ का पहाडी जिल्ला धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुरमा बढी मात्रामा परेको छ । अन्य जिल्लाहरु सुनसरी, मोरङ, झापा, इलाम, सोलुखुम्बु, उदयपुर, खोटाङ र ओखलढुंगामा भने कम मात्रामा परेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी कृष्ण प्रसाईँले जानकारी दिनुभयो ।

बन्दकर्ताले लिम्बूवान–खम्बूवानको ऐतिहासिक विरासतलाई पहिचानको रुपमा स्थापित गर्न २०६६ सालदेखि हरेक वर्ष साउन २२ गते बन्द आह्वान गर्दै आएको जनाएका छन् । आत्मनिर्णयको अधिकार सहितको  प्रदेश नं. १ को नाम स्वायत्त लिम्बूवान–खम्बुवान राज्य घोषणा गर्नु पर्ने माग अघि सारेका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • Milan nyaupane

    Aug. 7, 2018, 12:20 p.m.

    यस्तै जातिय बिभेदकारि सोचले नै नेपालमा अस्थिरता बढेको हो।त्यहि बिभेदकारि सोचले द्वन्द बढ्ने डर ले प्रदेश को नामाकरन हुन सकेको छैन। आखिर नामले बिकासमा असर पारछ जसतो लागेन बेलै मा सोचौ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया