स्वास्थ्यमा खेलबाड गर्ने व्यापारीलाई रेड कार्ड !

 साउन २२, २०७५ मंगलबार १६:११:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले जनस्वास्थ्यमा खेलबाड गर्ने जोसुकैलाई पनि तत्काल रेड कार्ड दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिनुभएको छ ।

विभागको तेस्रो चौमासिक प्रगति समिक्षा बैठकमा मन्त्री खनालले जनस्वास्थ्यमा खेलबाड गर्ने छुट कसैलाई नभएको भन्दै त्यही अनुसार कडा कदम चाल्न विभागलाई निर्देशन दिनुभएको हो ।

मातहतका संयन्त्र राम्रोसँग चलेनन् भने परिणाम ननिस्कने भन्दै मन्त्री खनालले आफूसँग भएको सम्पूर्ण संयन्त्र परिचालन गर्न निर्देशन दिनुभयो ।  विभागको ठूलो दायित्व रहेको भन्दै खनालले अहिले त्यो पूरा हुन नसकेकोमा असन्तुष्टि जनाउनुभयो ।

‘विभागको निक्कै ठूलो जिम्मेवारी छ, अहिले त्यो पूरा भएको छैन, मन्त्री खनालले भन्नुभयो, अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा हामीले गर्ने काम पुग्दो छ कि छैन ? तपाईँहरु आ–आफ्ना छोराछोरी सम्झेर काम गर्नुस्, समिक्षा आफै गर्नुस् ।’

जनस्तरबाट उठेका प्रश्नको जवाफ विभागले दिनु पर्ने उहाँको भनाई छ । ‘आफ्नो घेरा भित्र रहेर हरेक ठाउँमा अनुगमन र चेकजाँच गर्नुस्, खनालले भन्नुभयो, ‘साथ दिने म छु, हरेक ठाउँमा निर्देशनको मात्र भर पर्न पर्दैन ।’

पटक पटक अनुगमन र चेकजाँच गर्ने, नमूना फरक फरक ढंगले संकलन गर्न निर्देशन दिँदै मन्त्री खनालले राम्रो गर्ने उद्योगलाई पुरस्कृत र प्रचार तथा नराम्रोलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताउनुभयो ।

पानी, दूध र मुख्य खाद्य बस्तुमा सकृया भएर अनुगमन गर्न आग्रह गर्दै मन्त्री खनालले ६ महिनापछि कामको फेरि समिक्षा गर्ने बताउनुभयो । ‘ल्याब बिग्रेको छ भने बिग्रेको छ भन्नुस्, बजेट र जनशक्ति छैन भने त्यो जानकारी गराउनुस्, सबै छ गर्न सकिएन भने त्यो पनि भन्नुस्’, खनालले भन्नुभयो, ‘अनि के गर्नुपर्छ, म गर्छु, कोहीसँग कोही डराउनु पर्दैन ।’ 

कार्यक्रममा विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले मन्त्रीले भनेका कुराहरुलाई आफ्नो दायित्व सम्झेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । पटक पटक अनुगमन गरेर सुधार गर्न निर्देशन दिँदा पनि सुधार नगर्ने उद्योग बन्द गराउने उहाँको भनाई थियो । विभागले अनुगमनलाई तीव्र बनाएको तर स्रोत साधार र जनशक्ति प्रयाप्त नरहेको महानिर्देशक कर्णको भनाई थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया