रहेनन् दक्षिण भारतीय राजनीतिका 'भीष्म पितामह' : तमिलनाडुका पूर्वमुख्यमन्त्री करुणानिधिको निधन

 साउन २२, २०७५ मंगलबार १९:२२:४४ | एजेन्सी
unn.prixa.net

भारतको तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको मंगलबार साँझ चेन्नई अस्पतालमा निधन भएको छ । करुणानिधि ९४ वर्षका थिए । उनी दक्षिण भारतकाे राजनीतिमा 'भीष्म पितामह' का रुपमा चिनिएका  थिए ।

करुणानिधि करिब आठ दशक राजनीतिमा सक्रिय रहे । उनी पाँच पटक तमिलनाडुको मुख्यमन्त्री बने । उनले १३ पटक तमिलनाडुको विधानसभा चुनावमा उठे र प्रत्येक पटक जित हात पारे ।

करुणानिधि केही दिनदेखि गम्भीर बिरामी थिए । चेन्नईमा रहेको उनको निवासमै उपचार भैरहेको थियो । शुक्रबार उनलाई कावेरी अस्पतालमा भर्ना गरिएको थियो । 

करुणानिधि झण्डै दुई वर्षदेखि राजनीतिबाट निष्क्रियजस्तै थिए । उनका छोरा एमके स्टालिनले सन् २०१७ बाट डीएमकेको कार्यकारी अध्यक्षको रुपमा जिम्मेवारी सम्हालेका थिए । 

सन् १९६९ का डीएमकेका संस्थापक सीएन अन्नादुरैको निधनपछि करुणानिधि पहिलोपल्ट तमिलनाडुको मुख्यमन्त्री बनेका थिए । करुणानिधिले २७ जुलाई १९६९ मा डीएमकेको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

करुणानिधिले तीन वटा विवाह गरेका थिए । उनकी पहिली श्रीमती पद्मावतीको कम उमेरमै निधन भएको थियो । पद्मावती तर्फबाट उनका एक छोरा एमके मुथु रहेका छन् । 

त्यसपछि करुणानिधिले दयालु अम्माल र रजति अम्मालसँग विवाह गरे । दयालुतर्फाबाट उनका तीन छोरा एमके अलागिरि, एमके स्टालिन, एमके तमिलारासू र एक छोरी सेल्वी रहेकी छिन् । 

त्यस्तै रजतितर्फकी एक्ली छोरी कनिमोझी राज्यसभा सांसद रहेकी छिन् ।

करुणानिधिले झण्डै ५० वटा तमिल फिल्मको पटकथा लेखेका छन् । उनको आत्मकथा ‘नेन्जुक्कू नीति’ प्रकाशित छ । 

करुणानिधिले अन्तिम पटक थिरुवर विधानसभाबाट चुनाव जितेका थिए । २०१६ मा भएको तमिलनाडुको विधानसभा चुनावमा उनी सबैभन्दा बढी मतान्तरले विजयी भएका थिए 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया