‘एकछिन खेलेर आउँछु’ भनेका निशानले आमासँग लिए सधैँका लागि बिदा, दाहसंस्कार बिहीबार

 साउन २२, २०७५ मंगलबार १९:२४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – ‘आमा म एकछिन खेलेर आउँछु है’, भन्दै प्रायः फुटबल खेल्न जाने कागेश्वरी मनोहरा वडा नम्बर ९, काँडाघारी टाउन प्लानिङ्ग स्थित चमेली खड्काको ११ वर्षका छोरा निशान खड्काको फुटबल खेलाडी बन्ने सपना अधूरै बनेको छ । 

निशान स्कुलमा पनि फुटबलमै रुची राख्ने र स्कुलबाट घर आएपछि पनि प्राय खेल्न जाने बालक शनिबार र बिदाको दिनमा पनि फुटबल खेल्नै दौडन्थे ।

आइतबार दिउँसो सधैँ झैँ उनी फुटबल खेल्ने भनेर घरबाट गएका थिए । मृतक निशानका मामा रामकाजी सापकोटाका अनुसार आइतबार पनि स्कुल छुटेर झण्डै सवा ४ बजे सिधै आमा चमेलीले सञ्चालन गरेको खाजा पसलमा आए । 

किताबको झोला घरभित्र राख्दै स्कुल पोशाक खोलेर विश्वकपका बेलामा किनेको अर्जेन्टिनाको टिसर्ट लगाएर निशानले आमाले दिएको खाजा खाए । त्यसपछि वैदेशिक रोजगारीमा मलेसिया गएका बाबु गणेश खड्काले फोन गर्छु भनेकाले बाबुसँग कुरा गर्न पाइने भो भनेर मख्ख थिए । 

अपहरण भएको दिनमा मात्रै अपहरणकारी सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट सामरीका २४ वर्षीय गोपाल तामाङ तीन पटक पसलमा आएका थिए । घरमा रंग लगाउने काम गर्दै आएका यी दुवैले गएको तीन वर्षदेखि चमेलीकै खाजा पसलमा नियमित खाजा खाने गर्थे । 

उधारो खाजा खाने र कहिलेकाही रकम समेत सापटी चल्ने गरेको अपहरणकारीले चमेलीसँग लिएको ऋण समेत नतिरी उल्टै छोरा अपहरण गरेर हत्या गरेका छन् । त्यसदिन पनि छोराले कर गरेकाले चमेलीले छोरा निशान र अपहरणकारी गोपाललाई मोबाइल किन्न पठाइन् । निशानकै साइकलमा दुवै मोबाइल किन्न गए र १२ सयमा मोबाइल किनेर ल्याएपछि गोपाल आफैले मोबाइलमा सीम राखिदिए । 

त्यसपछि निशानले आमालाई ‘खेल्न जान्छु है आमा’ भनेर गए । ‘आमासँग खेल्न जान्छु भनेर बिदा लिएको त्यो क्षण उसको अन्तिम बिदाई बन्न पुग्यो’, निशानका मामा सापकोटाले भन्नुभयो, ‘छोरा खेल्न गएको केही क्षणपछि दुवै अपहरणकारी पनि पसलबाट निस्किए ।’ 

सधैँ साढे सात बजेसम्म खेलेर घर फर्कने निशान त्यसदिन साढे ८ बजेसम्म पनि नफर्किएपछि आमाले छिमेकतिर खोजी गर्नुभएको थियो । छिमेकीमा टीभी पो हेर्दै छ कि भनेर सोधीखोजी गर्दै गर्दा झण्डै ९ बजे चमेलीको नयाँ फोनमा घण्टी बज्यो । 

फोन उठाउनेबित्तिकै अपहरणकारीले ‘तेरो छोरा हाम्रो कब्जामा छ, छोरा चाहिने भए ४० लाख रुपैयाँ ठिक पार, प्रहरीलाई खबर गरिस् भने ठिक हुन्न’ भनेर फोन राखिदिएको चमेली सुनाउनुहुन्छ । पछि पटक–पटक यताबाट फोन गर्दा पनि अपहरणकारीको फोन नउठेको र स्वीच अफ छ भने पछि आत्तिएकी उहाँले छिमेकी र नजिकै रहेको माइतीलाई बोलाउनु भएको थियो ।

बच्चा अपहरण भएको हल्लाखल्ला भएपछि छिमेकीले १०० मा फोन गरिदिएको केही बेर मै काँडाघाँडी प्रहरी बिटबाट प्रहरी आयो भने त्यसको केही समयपछि महानगरीय प्रहरी अपराध महाशाखाका टोली आएको थियो । 

मृतक बालकका मामा भन्नुहुन्छ, ‘पैसा दिन्छाैँ, कहाँ भेट्नेसम्म पनि भन्न पाइएन, पछि फोन नै नगरी भान्जाको हत्या गरे अपराधीले ।’ प्रहरीको विभिन्न टोली बनाएर खोजी कार्यलाई रातभरी तीव्र बनाएको बताउँदै उहाँले आफै पनि राति ३ बजेसम्म एउटा टोलीमा बसेर भान्जाको खोजीमा लागेको बताउनुभयो । 

प्रहरीको अनुसन्धान अनुसार खाजाघरमा चमेलीले अपहरणकारीकै अगाडि मलेसियाबाट श्रीमानले पैसा पठाइदिएको सुनाउनु भएको थियो । त्यही सुनेर फिरौती माग्न अपहरण गरेको र अपहरणपछि आफूहरु भाडामा बस्दै आएको मध्यपुरथिमि नगरपालिका –७, नगदेश बुद्धबिहारको तल श्याम लवटको घरमा लगेका थिए । 

प्रहरीका अनुसार चिनजानकै व्यक्ति भएकाले अपहरणकारीसँग सजिलै उनीहरुको कोठामा पुगेका निशानकै अगाडि फिरौती रकम मागेपछि निशान कराएर चिच्याएको र पछि अपहरणको पोल खुल्ने डरले हत्या गरेको हुन् । हत्यापछि लवटकै निर्माणाधीन घरको डीपीसीभित्र गाडेर फरार भएको र खोजी गर्ने क्रममा सूर्यविनायक जंगलमा प्रहरीको गोली लागि दुवै अपहरणकारीको मृत्यु भएको हो ।

दुई छोरी र एक छोरालाई आमाको जिम्मा लगाएर मेलेसिया गएका गणेशले घटनाको बारेमा सोमबार राति मात्रै थाहा पाउनुभएको थियो । मलेसियामासँगै बसेका छिमेकी भाइले घटना सोमबार दिउँसै थाहा पाए पनि बाबुले भने राति मात्रै थाहा पाएपछि मलेसियामै शोकमा डुबेका छन् । 

गएको फागुनमा ४० दिनको बिदा लिएर नेपाल आएका गणेश गएको चैत १३ गते मलेसिया फर्किएका हुन् । ‘छोरासँगको उहाँको अन्तिम भेट १३ गतेका लागि लेखेको रहेछ’, आफन्त भन्छन् । गणेश मलेसियाबाट आउँदो बिहीबार १ः३० बजेको फ्लाइटमा नेपाल आउने भएका छन् । 

उता स्थायी घर मेलम्ची नगरपालिका–९, दोबाटो रातामाटामा रहेका निशानका हजुरबुबा दुर्गाबहादुर खड्का र आफन्त पनि शोकमा डुबेका छन् । नातिको हत्याको खबरले सोमबार दिउँसैदेखि हजुरबुबा निकै पीडामा रहेको र मंगलबार मेलम्चीबाट काठमाडौं आइपुगेका परिवारका सदस्यले बताए ।

सोमबार राति चमेलीलाई माइती घर लगिएको छ । चमेलीले होटल चलाउँदै आएको स्थानभन्दा केहीमाथि काँडाघारीमै बस्दै आएकी चमेली माइतीमा पुगेपछि पनि चमेली र माइतीपक्ष शोकले रातभर जागै छन् । 

चमेलीका बुबा मिनप्रसाद सापकोटा आफै सम्हालीन सकेका छैनन् । नातिको सपना अधूरै भो भन्दै आफै रुँदै छोरीलाई सम्झाउने प्रयास गरिरहेका छन् । आज भने पोष्टमार्टम गर्नुपर्ने भएपछि परिवारका अधिकांश व्यक्ति, टोल छिमेकका शिक्षण अस्पताल पुगेका छन् । 

यता कक्षा ६ मा निशान पढ्दै आएको स्कुल हाइल्याण्ड इङ्लिस स्कूल पनि आज बन्द गरिएको छ । आफ्नो स्कुलको विद्यार्थीको अपहरण गरी हत्या गरेको शोकमा स्कुल बन्द गरिएको प्रिन्सिपल प्रल्हाद खड्काले बताउनुभयो । 

स्कुलमा पनि फुटबल खेल्न नै धेरै मन पराउँने निशान फुटबल खेलाडी बनेर देशको नाम राख्छु भनेर भन्ने गरेको खनाल सुनाउनुहुन्छ । स्कुलमा कसैलाई नराम्रो व्यवहार नगर्ने, प्रायः सधैँ स्कुल आउने अनुशासित विद्यार्थी भएको बताउँदै निशानको हत्याले सिंगो स्कुल परिवार शोकमा डुबेको उहाँले बताउनुभयो । मृतक निशानका बाबु गणेश आगामी बिहीबार १ः३० बजेको फ्लाइटमा नेपाल आएपछि बालकको बिहीबार नै दाहसंस्कार गरिने भएको छ । 
 

 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया