प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले न्यायालय दुर्घटनामा पर्‍याे : कांग्रेस

 साउन २२, २०७५ मंगलबार २०:३९:५ | उज्यालो सहकर्मी

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो चरित्रका कारण न्यायालय दुर्घटनामा परेको आरोप लगाएको छ । 

मंगलबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीकै अध्यक्षतामा रहेको संवैधानिक परिषदबाट सिफारिस भएर प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिबाट दुई तिहाईको बलमा अस्वीकृत गरिएको भन्दै कांग्रेसले न्यायालय दुर्घटनामा परेको आरोप लगाएको हो । 

यसले न्यायालयमा पर्न गएको असरको नैतिक जिम्मेवारी लिन पनि नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग आग्रह गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकले नागरिकका अधिकार खोस्ने सरकारको गतिविधिको निरन्तर विरोध गर्ने, नागरिकको संवैधानिक अधिकार रक्षाका लागि लागिरहने निर्णय पनि गरेको शर्माले बताउनुभयो ।

बैठकमा संघीय संसद र संसदीय समितिहरुलाई प्रभावकारी बनाउन नेता कार्यकर्तालाई सभापति शेरबहादुर देउवाले निर्देशन दिनु भएको छ । 

बैठकमा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नागरिकका आधारभूत अधिकार पूरा गर्न छाडेर अधिनायकवाद चरित्र देखाएको आरोप लगाउनुभयो । सभापति देउवाले विधान मस्यौदा समिति गठन र महासमिति बैठकको मिति छिट्टै तय गर्ने पनि बताउनु भएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया