नेकपाका युवा र विद्यार्थी एकता : नाम र नेतृत्वमा बाहेक सहमति

 साउन २२, २०७५ बुधबार ५:४२:३५ | रासस
unn.prixa.net

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ संस्था युवा र विद्यार्थी संगठनको एकतामा अन्तिम चरणमा पुगेको छ । 

युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग नेपालको एकतापछिको नाम र नेतृत्वबाहेक सबै कुरा मिलिसकेको एकता कार्यदलका सदस्य तथा वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । ‘‘कार्यदलमा नाम र नेतृत्वका बारेमा सहमति गर्नका लागि हामी प्रयासरत रहेका छाँै’’, उहाँले भन्नुभयो, ‘‘यदि कार्यदलमा सहमति हुन नसके हामी पार्टी नेतृत्वबाट नै सहमति गर्नेछौँ ।’’दुवै संगठनले नेतृत्वका लागि दावी गरिरहेका छन् । 

उहाँले आगामी भदौ ५ गते एकता गर्ने गरी कार्यदलको प्रतिवेदन शुक्रबार पार्टी महासचिवलाई बुझाइने बताउनुभयो । उहाँका अनुसार संगठनको नाम युवा कम्युनिष्ट लिग नेपाल वा समाजवादी कम्युनिष्ट युवा नेपाल वा नेपाली युवा फेडेरेशन वा नेपाल समाजवादी युवा संघ प्रस्ताव गरिएको छ । 

यसैगरी नयाँ बन्ने केन्द्रीय कार्यसमिति १९९ सदस्यीय रहने गरी विधान टुङ्ग्याइएको उहाँले जानकारी दिनुभयो । कार्यसमितिमा संयोजक, सहसंयोजक, नौ सदस्यीय स्थायी कमिटी र केन्द्रीय कमिटीको एक तिहाइ सचिवालय रहनेछन् । 

यसैगरी अर्को भ्रातृ सङ्गठन विद्यार्थीको पनि एकता अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले विधान मस्यौदा, संगठन समायोजन र राजनीतिक शैक्षिक कार्यदिशा उपसमितिले एकताका लागि प्रतिवेदनलाई अन्तिम रुप दिन थालेका छन् । 

अनेरास्ववियू र क्रान्तिकारीले पनि अन्य विषयमा सहमति गरे पनि नेतृत्व र नामका विषयमा अझै टुङ्ग्याएका छैनन् । नेतृत्व र नाम दुवै पक्षले आआफ्नो नाम राख्ने अडानमा रहेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय कमिटी १९९ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । 

दुवै संगठन समायोजन हुँदा भने ४९९ जनाको केन्द्रीय कमिटीको नाम प्रस्ताव गरिएको छ । उहाँले भदौ २५ गतेसम्म सबै काम टुङ्ग्याएर पार्टीलाई प्रतिवेदन बुझाइने जानकारी दिनुभयो । 

गत जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो । सबभन्दा पहिले दुवै पार्टीका इञ्जिनीयरहरुको सङ्गठनको पहिलो पटक एकता भएको हो । 
पार्टीले भदौ १५ भित्र सबै भ्रातृ सङ्गठनको एकता सक्ने गरी सबै कार्यदललाई निर्देशन दिइसकेको छ । कार्यदलमा दुवै पार्टीका भ्रातृ संगठनका इञ्जार्च र अध्यक्ष रहनुभएको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया