को - को ले पाउँदैछन् राष्ट्रिय युवा प्रतिभा सम्मान ?

 साउन २३, २०७५ बुधबार ६:१०:० | रासस

काठमाडौं - युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर १० युवालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ दिने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस अर्थात यही साउन २७ गतेका दिन मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत युवा तथा युवाका क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्न लागेको हो । 

मन्त्रालयका अनुसार शिक्षा, उद्यमशीलता, विज्ञान प्रविधि, सामाजिक रुपान्तरण, कृषि, कला संस्कृति, साहित्य सिर्जना, समाजसेवा, कृषि र उद्यमशीलता तथा सूचना प्रविधि र सञ्चार विधामा १० जनालाई सम्मान गर्न लागिएको हो । सम्मानका साथ जनही रु एक लाख रहनेछ । 

राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि २०७२ बमोजिम राष्ट्रिय युवा प्रतिभा छनोट सिफारिश समितिबाट सिफारिश भई आएका १० व्यक्तित्वलाई सम्मान गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार शिक्षातर्फ काठमाडौँ महानगरपालिका– १८का ३६ वर्षीय विनोद शाही (स्नोयार्ड फाउण्डेशन) लाई माथिल्लो डोल्पामा १४ वर्षदेखि स्वयंसेवक शिक्षक र डोल्पाको सामाजिक विकासमा योगदान पु¥याएवापत सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

उद्यमशीलतातर्फ इलाम नगरपालिका–६ इलामका ३५ वर्षीय दिवस श्रेष्ठ सम्मानित हुँदै हुनुहुन्छ । बेतबाँसको सामग्री उत्पादन र बजारीकरण तथा कुपण्डोलमा अपाङ्गता भएका व्यक्तिका लागि बेतबाँस सामग्री निर्माणका लागि निर्वाहभत्तासहित निःशुल्क तालीम सञ्चालन गरेवापत उहाँलाई सो सम्मान प्रदान गर्न लागिएको हो । 

विज्ञान प्रविधितर्फ धनुषा, जनकपुरका २८ वर्षीय अम्बर मण्डललाई सम्मान गर्न लागिएको छ । मण्डललाई गहुँ काट्ने ‘नारा एग्रो मेशिन’ र अन्य कृषि उपयोगी उपकरण आविष्कार गरी सफल परीक्षण गर्न सफल भएकाले सो पुरस्कार प्रदान गर्न लागिएको हो । विज्ञान प्रविधितर्फ नै चितवन राप्ती नगरपालिका गडाँैलीका २० वर्षीय सरोज चेपाङ पनि सम्मानित हुँदैछन् । चेपाङले आफैंँले प्यारा मोटर निर्माण गरी उडाएका थिए । 

सामाजिक रुपान्तरणतर्फ गुल्मी, मालिका गाउँपालिका–५ छापहिलेकी २८ वर्षीया गङ्गा खड्का सम्मानित हुँदै हुनुहुन्छ । सुरक्षित महिनावारी अभियानकर्मीका रुपका काम गर्नुभएकाले उहाँलाई सम्मान गर्न लागिएको हो । साग ग्रुप कृषि फर्म सञ्चालन गरी टिस्युकल्चर प्रविधिबाट केराको व्यावसायिक उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएवापत कृषितर्फ कैलाली, धनगढी उपमहानगरपालिका–५ की गोमाकुमारी अधिकारी सम्मानित हुँदैहुनुहुन्छ । 

निजी लगानीमा काठमाडौँ फन भ्यालीमा कर्णाली संग्रहालयको स्थापना र १३ साहित्यिक कृति प्रकाशन गरेवापत कलासंस्कृति र साहित्य सिर्जनातर्फ जुम्ला, चन्दननाथ नगरपालिका– २ डाँडाकोटका ३९ वर्षीय गोविन्द नेपाली सार्की सम्मानित हुँदै हुनुहुन्छ । 

सामाजसेवातर्फ नवलपरासी देवचुली नगरपालिका–१५ प्रगतिनगरका ३६ वर्षीय तिलोत्तम पौडेल ९जागृति बाल तथा युवा क्लबका अध्यक्ष० सम्मानित हुँदै हुनुहुन्छ । बाल क्लबको संस्थागत विकास, युवा सशक्तीकरण र नेतृत्व विकासमा योगदान पु¥याएवापत उहाँलाई सम्मान गर्न लागिएको हो । 

कृषि र उद्यमशीलतामा तनहुँका ३७ वर्षीय तेजविक्रम थापा सम्मानित हुँदै हुनुहुन्छ । प्राङ्गारिक कृषि उत्पादन, बजारीकरण र किसानलाई प्राविधिक सहयोग पु¥याएवापत उहाँलाई सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ । सूचना प्रविधि र सञ्चारतर्फ कास्की लेखनाथकी ३३ वर्षीया शर्मिला विश्वकर्मालाई अपाङ्गता भएको व्यक्तिको अधिकारका क्षेत्रमा क्रियाशील रही योगदान पु¥याएवापत सम्मान गर्न लागिएको हो ।

यसैबीच मन्त्रालयले सिफारिशमा परेका व्यक्तिविरुद्ध सम्मान गर्न नहुने कारण भए सोको उजूरी मन्त्रालयमा आगामी भदौ २५ गतेभित्र लिखितरुपमा प्रमाणसहित पेश गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया