स्कुल पढाएपछि क्याम्पस भर्ना ! ६९ वर्षका ‘बाजे’ भन्छन् – पढ्नलाई के को लाज ?

 साउन २३, २०७५ बुधबार १२:१०:११ | निर्मला खडायत
unn.prixa.net

कैलाली – जागिर पछिको अवकाश जिन्दगी आराम गरेर बिताउने धेरैको धोको हुन्छ  । ‘भो, अब त पुग्यो । कति काम गर्नु ?’ अवकाशपछि धेरैले यस्तो भन्ने गरेका पनि छन् । तर कतिपय व्यक्ति यस्ता पनि हुन्छन्, जो न काम गरेर थाक्छन् न त अध्ययन गरेर नै थाक्छन । बरु जागिरे जिन्दगीमा पूरा गर्न नसकेका अधुरा ईच्छाहरु त्यही अवकाशको जिन्दगीमा पूरा गर्ने ध्याउन्नमा जुट्छन् । तिनै मध्येका एक हुनुहुन्छ,  कैलालीका ६९ वर्षीय पूर्णानन्द जोशी ।

नाति नातिनालाई डोर्‍याएर विद्यालय पुर्‍याउने उमेरमा उहाँ आफैं पढ्ने धोको पूरा गर्न क्याम्पस भर्ना हुनुभयो । पढ्नलाई न उमेरले छेक्यो, न त यो उमेरमा कलेज जाँदा समाजले के भन्ला भन्ने चिन्ताले नै पिरल्यो । अल्लारे सहपाठी उहाँलाई कलेजमा बाजे भनेर जिस्क्याउँछन । त्यसले उहाँलाई असर गर्दैन । उहाँ वास्ता नै गर्नुहुन्न । दिनहुँ कलेज जानुहुन्छ । नातिनातिना उमेरका विद्यार्थीसँगै कलेज पढ्न पाउँदा दंग हुुनुहुन्छ ।

चार दशक लामो शिक्षण पेशा

आठ वर्षको उमेरमा उहाँको बुवा जगन्नाथ जोशी बित्नुभयो । १२ वर्षको हुँदा आमा कमला देवीको निधन भयो ।  बाल्यकालमै टुहुरा भएका उहाँलाई दाइहरुले पढाए, हुर्काए । डोटीको पदम पब्लिक हाइ स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उहाँ कैलाली झर्नुभयो । र सुरु भयो,  शिक्षण पेशाको चार दशक लामो यात्रा ।
 
सुरुवातमा उहाँले धनगढीको पञ्चोदय उच्च माविमा पढाउनुभयो । त्यसको केही समयपछि आफैँले स्थापना गरेको गोमती बाल बिद्या मन्दिर स्कुलमा पढाउन थाल्नुभयोे । २०२९ सालमा उहाँलाई सरकारले शिक्षकमा नियुक्त गर्यो । तीन वर्ष गोमतीमा पढाएपछि २०३२ सालमा उहाँको सरुवा भयो, शारदा मिडल स्कुल श्रीपुरमा । त्यहाँ पढाउँदै गर्दा उहाँ स्थायी शिक्षक हुनुभयो ।
 
२०३३ सालमा उहाँको त्यहाँबाट पनि सरुवा भयो । नयाँ कार्यथलो भयो, डोटीको डौड गाविसको कालिका प्राथमिक विद्यालय । जहाँ उहाँले जीवनका उर्वर ३५ वर्ष शिक्षण पेशामा बिताए । २०६८ सालमा त्यही विद्यालयबाट अवकाश पाएपछि उहाँ फेरि तराई झर्नुभयो । धनगढी उप–महानगरपालिका–२ सन्तोषी टोललाई स्थायी बसोबास बनाउनुभयो ।

चक डस्टर घोट्दा पढ्ने इच्छा पलायो

४० वर्षसम्म चक डस्टर घोट्दा उहाँभित्र तीव्र इच्छा थियो, पढ्ने । अझै बढी पढ्ने । त्यही इच्छाले उहाँलाई कलेज पुर्या‍यो ।

२०६९ सालमा सुदूपश्चिमाञ्चल एकेडेमी धनगढीमा ११ कक्षामा भर्ना हुनुभयो । उहाँको रोजाई थियो, मानविकी संकाय । उहाँ भन्नुहुन्छ, ‘शिक्षण पेशाले पूरा हुन नसकेको पढ्ने धोको अवकाशको जिन्दगीमा पूरा गर्ने अठोटले कलेज भर्ना भई छोडेँ ।’

यो उमेरमा पढ्न तपाईंलाई अप्ठ्यारो लागेन भन्ने प्रश्न भुईंमा खस्न नपाउँदै उहाँले भन्नुभयो, ‘पढ्नलाई के को लाज ?’

उहाँले ४० वर्ष लामो शिक्षण जीवनमा अब्बल र अनुशासित विद्यार्थीलाई सधैं स्याबासी दिनुभयो । धाप मार्नुभयो । गृहकार्य नगर्नेलाई हकार्नुभयो । र कपाल फुलेर सेताम्ये भएपछि कलेजका विद्यार्थी बनेका उहाँलाई अहिले सरहरुको स्याबासीले त्यही शिक्षण पेशाताका आफूले विद्यार्थीलाई धाप मारेका पलहरु याद दिलाउँछ । भन्नुहुन्छ, ‘सरहरुले स्याबासी दिंदा साह्रै खुशी मिल्छ ।’

उहाँ विगतका राम्रा कुरा सम्झिन चाहनुहुन्छ । उहाँलाई टुहुरो हुनुको पीडा कस्तो हुन्छ ? थाहा छ । अभावको जिन्दगी कस्तो हुन्छ ? त्यसको अनुभव छ ।

अभाव, गरिबीका कारण एसएलसीपछि अघि बढाउन नसकेको पढाई उहाँ जसरी पनि पूरा गर्ने ध्याउन्नमा हुनुहुन्छ । अब उहाँको बाँकी जीवनको एउटै लक्ष्य छ–पढाई पूरा गर्ने ।

आफ्ना अल्लारे सहपाठीहरुले पढाईमा खासै ध्यान नदिएको देख्दा उहाँलाई लाग्छ, यी कुनै दिन नपढेकै कारण पछुताउने छन् । त्यतिबेलासम्म धेरै ढिलो भइसकेको हुनेछ ।

उमेर छँदा पढ्न नपाएकोमा उहाँलाई थकथकी छ । त्यो समयमा पढ्न पाएको भए कस्तो हुन्थ्यो ? उहाँ कहिलेकाहीँ सोच्नुहुन्छ । घोत्लिनुहुन्छ । फेरि सम्हालिनुहुन्छ । नफर्केने त्यो समयलाई सम्झेर बित्थामा किन मन अमिलो बनाउनु ? आफैंलाई प्रश्न गर्नुहुन्छ ।

घर्केको समय र बगेको नदी उस्तै हुन् । कहिल्यै फर्किंदैन । उहाँ यसो भनेर आफ्ना कलेजका साथीहरुलाई सम्झाउनुहुन्छ । पढाईमा ध्यान दिन आग्रह गर्नुहुन्छ । कतिपय साथी बुझे जस्तो गर्छन् । टाउको हल्लाउँछन् । कतिपय साथी बाजेका कुरा यस्तै हुन भनेर मुन्टो बटार्छन् । र सुने पनि नसुने झै गर्छन् ।
 
उहाँ कक्षामा अनुशासित भएर बस्नुहुन्छ । सरले दिएको गृहकार्य आज्ञाकारी विद्यार्थीझैं नछुटाएर गर्नुहुन्छ । कतिपय साथी कलेज नआउने बहाना खोजिरहेका हुन्छन् । उहाँको भने एउटै चिन्ता हुन्छ, कुनै पनि दिन कलेज नछुटोस् ।

राम्रोसँग पढ्ने भएकाले उहाँले १२ कक्षामा राम्रै अंक ल्याएर उत्तीर्ण हुनुभयो । उहाँ अहिले स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।

उहाँ पढाइसँगै पूजापाठ पनि गर्नुहुन्छ । घरको कोठामा एकातिर किताब कापीहरु यत्रतत्र छरिएका छन् । अर्कोतिर पूजापाठका सामग्री र धार्मिक किताबको चाङ छ । घरमा हुँदा अधिकांश समय कलेजका किताबहरु पढ्नुहुन्छ । फुर्सदको समयमा धार्मिक किताबहरु ।

नजानेको कुरा कसलाई सोध्नुहुन्छ नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘सरलाई नि, अरु कस्लाई सोध्नु ?’

आफूभन्दा कम उमेरको सरलाई सोध्न संकोच लाग्दैन ? भन्ने प्रश्नमा उहाँले उत्तर दिनुभयो, ‘सिकाई त जीवनभर चलिरहने प्रकृया हो । गलत काम गर्न पो संकोच मान्नुपर्छ । नजानेको कुरा सोध्न के को संकोच ?’

सिक्ने कुरामा संकोच नभएकै कारण उहाँ यो उमेरमा पनि निसंकोच कलेज जान सक्नुभएको छ ।

गरिब विद्यार्थीलाई छात्रवृत्तिको लागि अक्षयकोष

६९ वर्षका पूर्णानन्द जोशीले गरिबी देख्नुभएको छ । भोग्नुभएको छ । त्यसैले त गरिबीका कारण पढ्नबाट बञ्चित विद्यार्थीको सहयोग पुगोस् भनेर छात्रवृत्तिका लागि एक लाखको पूर्णानन्द जोशी अक्षयकोष स्थापना गर्नुभएको छ । अक्षयकोषको व्याजबाट प्राप्त हुने रकमबाट आफू पढ्ने सुदूरपश्चिमाञ्चल क्याम्पसकै एक÷एक जना छात्र र छात्रालाई बर्सेनि ६/६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्नुहुन्छ ।

मान्छे खुशी खोज्न भौतारिरहन्छ । कोही पैसामा खुशी देख्छ, कोही पदमा । उहाँको खुशी भने दुईवटा कुरामा छ । पहिलो, अधुरो पढाई पूरा गर्नुमा । र अर्को, आर्थिक अभावका कारण पढ्न नपाएकालाई सक्ने जति आर्थिक सहयोग गर्नुमा । र त भन्नुहुन्छ, ‘खुशी खोज्नु कही भौंतारिनु पर्दैन । यो त आफैंसँग छ ।’

उहाँ अवकाशपछिको जीवन व्यर्थमा बिताइ रहेकाहरुका लागि त उदाहरणीय व्यक्ति हुनुहुन्छ नै । हरेश खाएर पढाई छोडेका युवाहरुका लागि समेत प्रेरणाका पात्र बन्नुभएको छ । 

 

अन्तिम अपडेट: भदौ २९, २०७५

निर्मला खडायत

उज्यालाेका कैलाली सहकर्मी खडायतलार्इ फेसबुकमा भेट्न सकिन्छ ।

2 Comments

  • SURAJ REGMI

    Aug. 9, 2018, 5:30 p.m.

    धेरै राम्रो लाग्यो सुन्दा ..यस्तै नयाँ नयाँ खबरहरु सुन्न पाइयोस हजुरहरुको कार्यक्रमवाट /Thank You

  • PUSHKAR Sharma joshi

    Aug. 8, 2018, 8:54 p.m.

    Subhkamana dai lai

तपाईको प्रतिक्रिया