मैदानभित्र र बाहिरका शक्ति गौचन

 साउन २३, २०७५ बुधवार १३:४७:२४ | पवित्रा राउत
unn.prixa.net

काठमाडौं – ‘ल मानौँ एउटा व्यक्ति ६० वा ७० या यस्तै‘ वर्षसम्म बाँच्छ, त्यसमा तिमी कति वर्ष खेल खेल्छौ ? २० वर्ष ? ल यदि धेरै नै राम्रो खेलाडी रहेछौ भने २५ वर्ष ? त्यसपछि त तिम्रा जिन्दगीका मुख्य दिनहरु तिमीले खेलकुदको मैदानबाट बाहिर बिताउनु पर्छ, यसको मतलब क्रिकेटभन्दा धेरै अरु चिज छन् जीवनमा’, भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आफ्नो आत्मवृतान्त ‘प्लेइङ इट माई वे’मा आफ्नो पिताले बाल्यकालमा सिकाएको सिद्धान्तका बारेमा उल्लेख गर्ने क्रममा लेखेका उद्गार हुन् यी । 

जब नेपाली क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । तब सबैभन्दा पहिले मैले यही उद्गार सम्झिएको थिएँ । मुम्बईका तेन्दुल्कर अनि शक्ति पनि मुम्बईमै क्रिकेट निखारेर आएका यो संयोगले चाँही पक्कै होइन । उनी क्रिकेटर भन्दा ठूलो एउटा व्यक्तित्व थिए सायद त्यसैले होला । एक शालीन र मिहिनेती खेलाडीको रुपमा उनले नेपाली क्रिकेटको उतारचढावको सिंगै इतिहास बोकेका छन् । सबैभन्दा लामो समय झन्डै दुई दशक नेपाली क्रिकेटलाई दिएका छन् । 

सन् २००० मा मुम्बईसँगको नाता तोडेर भैरहवाको खुकुरी क्लबसँग जोडिन आइपुगे उनी । शक्ति पहिले ब्याट्सम्यान, त्यसपछि बलिङ, अलराउन्डर बनेका हुन् । शक्ति कप्तान पारस खड्कापछि धेरै नेपाली समर्थक माझ चिनिने अनुहारमा पर्दछन् । यसो हुनमा उनले उमेर समूहको प्रतियोगिता यु–१७, यु–१९ क्रिकेट र सिनियर क्रिकेट टिममा दिएको योगदान नै प्रमुख हो । सन् २००१ मा यु–१७ क्रिकेटमा बंगलादेशविरुद्ध कप्तानी सम्हालेर उनने नेपालको प्रतिनिधित्व सुरु गरे । उमेर समूहमा सबैभन्दा बढी समय खेलेका र कप्तानी गरेका भएकाले पनि होला उनी चर्चित छन् । तर उनको यो यात्रामा थकाली परिवारले पछि मात्र साथ दिएको हो । १२/१३ वर्षको उमेरमा उनले क्रिकेट खेल्छु भन्दा दुई दिदी सुमित्रा र बबितामा कान्छी बबिताले परिवारसँग लडेर शक्तिलाई क्रिकेट मैदान पठाएकी थिइन् । जब नेपालको लागि उनले एकपछि अर्को सफलता पाए तब परिवारको साथ मिल्दै गएको थियो ।

साउन १६ गते नेदरल्यान्ड्सविरुद्ध शक्तिले नेपालका लागि अन्तिम खेल खेले । नेपालको डेब्यू एकदिवसीय शक्तिको लागि अन्तिम बन्यो । यो लामो र सुन्दर यात्रामा शक्ति निरन्तर टिके । बुवा भन्नुहुन्थ्यो, ‘ढ्वाङ्भन्दा बढी स्वाङ् नर्गनूू अर्थात आफूसँग भएको कुरा मात्र देखाउनू’ मैले सदैव यही कुरालाइ ख्याल गरेँ’ शक्ति आफ्नो सफलताको भेद खोल्छन् । तेन्दूल्करको मूम्वइसँग गाँसिएका शक्तिलाई एउटा राम्रो क्रिकेटर र सरल व्यक्तित्वका रुपमा उभ्याउन उनका पिताको यही पथप्रदर्शन पर्याप्त बन्यो । 

१८/१९ वर्षको यो लामो यात्रामा उनको अन्तर्राष्ट्रिय यात्रको समापन एक हिसाबले स्मरणीय र सफल रह्यो । टिमको गार्ड अफ् अनर पाए । त्योभन्दा बढी उनको पृथक शैली क्याच गरेपछि पूरै मैदान दौड्ने त्यो एकदिवसीय क्रिकेटमा पनि देखाउन भ्याए । वसन्त रेग्मीको बलिङमा उनले मिड विकेटमा डच टोलिका कप्तान पिटर सेलारको क्याच लिएपछि अन्तिम खेलमा उनको त्यो चर्चित स्टाइल अन्तिम खेलमा पनि हेर्न पाए ।

यो लामो यात्रामा शक्तिले नेपालको क्रिकेट र समर्थकलाइ धेरै सुन्दर पल दिएका छन् । सन् २००५ मा शक्ति चौथो नम्बरमा ब्याटिपङ गर्न आएर इटालीविरुद्ध शतक हानेका थिए । चौंथो नम्बरमा मैदान छिरेर उनले हानेको त्यो दोस्रो शतक थियो । मलेसियामा भएको आईसीसी डिभिजन –२, छनौट चरणमा उनले १०६ रन बनाएका थिए ।

नेपालले खेलको एक मात्र विश्वकप टी–ट्वेन्टी विश्वकप २०१२ मा शक्तिको प्रदर्शन उलेख्य रह्यो । पहिलो खेलमा नेपालले हङकङलाई मात्र ६९ रनमा सीमित पार्दा शक्तिले नौ रन मात्र खर्चेर तीन विकेट लिए जसले उनलाइ प्लेयर अफ् द म्याच बनायो । त्यही प्रतियोगितामा उनले अफगानिस्तानविरुद्ध २५ रन दिएर दुई विकेट लिए । दुवै खेल जितेर एसोसियट राष्ट्रमा नेपालले छोटो तर मिठो टी–ट्वेन्टी विश्वकप यात्रा गरेको थियो । यी बाहेक उनले सन् २०१२ मा मलेसियाविरुद्ध आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ४ मा १०–८–२–३ को बलिङ कीर्तिमान सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उत्कृष्ट हो ।

चाहे तीन नम्बरमा ब्याटिङ करियर सुरु गर्दा होस्, वा ब्याटिङमा अर्डरमा तल झर्दा, चाहे मेडनका मेडन फ्याँक्ने कसिलो बलरको रुपमा चिनिँदा होस् या बलिङ अलराउन्डरको रुपमा चिनिँदा या एक्स्ट्रा खेलाडीका रुपमा मैदानमा आफूभन्दा जुनियर खेलाडीका लागि मैदानमा पानी लिएर छिर्दा वा अन्तर्राष्ट्रिय प्रतियोगितामामा विकेटको खुशी लिएर मैदानभर राउन्ड लगाउँदा शक्तिको न जोशमा घटीबढी भयो न उनको सिग्नेचर मुस्कान । जुन सन् २००० मा भैरहवावाट सुरु भएको थियो ।

भैरहवाको पुरानो क्लब खुकुरी क्लबवाट क्रिकेट खेल्दै शक्ति नेपाल छिरेका थिए । उनको पहिलो भेट प्रशिक्षक जंगबहादुर थापा तथा उनका छोरा क्रिकेटर अन्तिम थापासँग भएको थियो । ‘पहिलो चोटी उ रंगशालामा छिर्दा उसको हातमा चोट लागेको थियो, ब्यान्डेज लगाएको थियो, उ यति सरल र बोली यति नम्र थियो कि, त्यो दिन चिनेको  र बोलेको शक्ति र आज १७/१८ वर्ष पछिको शक्तिमा केही फरक छैन, उ त्यस्तै सरल र मिहिनेती छ’, बाबुछोरा दुवैको भनाई एउटै थियो ।

गएको वर्ष उनी नामिबियामा डिभिजन –२, खेलिरहँदा उनका बुवा अन्नपूर्ण न्यूरो अस्पतालको कोमामा थिए । तर शक्ति आफ्नो प्रदर्शनमा कति पनि विचलित भएनन् । उनी देशका लागि सबै पीडा भुलेर मैदानमा प्रस्तुत भए ।  तर नेपाल पुगेपछि पितालाई गुमाउँदा शक्ति पहिलो पटक सबैका सामू भक्कानिएका थिए । सधै हाँसिरहने शक्ति के अरु बेला कहिल्यै रोएनन् त ? ‘प्रत्येक पटक नेपालले खेल हार्दा म रोएको छु तर मनमनै, आखिर म पनि मान्छे नै हूँ’ शक्तिले जवाफ दिए । 

मुम्बई रहेर भारतको यु–१६ टिममा वन्द प्रशिक्षणमा रहन सफल भएका शक्ति संयोगले १८ वर्ष अगाडि भैरहवाको क्रिकेट मैदानमा पुगेका थिए । जहाँबाट २००१ मा यु–१७ टिमको कप्तान वनेर बंगलादेश जान पाए । नेपालको प्रतिनिधित्व गर्न पाए । राष्ट्रिय झन्डाको मोहले उनलाई यसरी बाँध्यो की उनी नेपाली क्रिकेटमा एउटा असल क्रिकेटरको पर्याय बनेर रहन सफल भए । ‘ममी बिरामी हुनुहुन्थ्यो, दिदीहरु बाहिर, बुवा इन्डियन आर्मीमा, म एक्लो छोरो ।  मेरो हातमा चोट पनि थियो, विश्राम पनि गर्छु ममीलाई हेरविचार पनि गर्छु भनेर आएको थिएँ । जब बंगलादेश गएँ, राष्ट्रको झण्डा बोक्न पाएँ । ममा अनौठो भावना आयो नेपाल छाडेर जान सकिनँ’ यात्राको सुरुवात यस्तो थियो उनको ।

सिनियर टिममा २००२ मा एसीसी ट्रफीमा ओमानविरुद्ध डेब्यू गर्दा, यु–१९ विश्वकपमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकालाई हराउँदा र नेपालमा पाकिस्तानको ए टिमलाई तेस्रो खेलमा हराएका पलहरु शक्तिलाई विशेष लाग्छन् । सन् २०१३ मा बर्मुडामा भएको डिभिजन –३, क्रिकेटमा इटालीविरुद्ध १० ओभरमा दुई मेडन राख्दै १५ रन खर्चेर दुई विकेट लिएको समय शक्तिलाई विशेष लाग्छ । जुन प्रदर्शनले नेपाललाई विश्वकप छनोट चरणमा पुर्याउन सफल भएको थियो ।

गएको साउन २ गते क्रिकेटबाट उनले विश्राम लिए । तर उनले दिदी बबितालाई भने नेदरल्याण्ड्सबाट फर्किएपछि मात्र सन्यासको खबर सुनाए । कान्छी दिदीलाई यो खबरले उदास बनायो तर उनले निर्णय लिइसकेका थिए मैदान बाहिर बस्ने । ‘क्रिकेटबिना के गर्छस् ?’ शक्तिलाई दिदीको प्रश्न थियो । यो उनको मात्र होइन धेरैको प्रश्न थियो । तर नेपाली क्रिकेट र नेपाली क्रिकेटरलाई नजिकबाट चिनेकाका लागि यो प्रश्न Shakti-The Power को हकमा लागू नहुने तर्क हुन्  । तेन्दुलकरले लेखे जस्तो ‘क्रिकेटभन्दा अरु धेरै कुरा जीवनमा छन्’ भनेजस्तो अब ती धेरै कुराहरु शक्तिका लागि के–के हुन सक्लान ? भनेर चिन्ता गर्नु पर्ने स्थिति छैन। एउटा राम्रो क्रिकेटरभन्दा एउटा राम्रो मान्छे भएको हेर्ने इच्छा तेन्दुलकरको पितालाई थियो । शक्तिको पितालाई आफ्नो छोराले देखासिखी नगरोस् भन्ने थियो । उनी सदैव उस्तै रहे । क्रिकेटरभन्दा माथिको एउटा असल व्यक्तित्व । 

शक्तिले मैदानभित्र र बाहिर आफूलाई सदैव सन्तुलित राखे । नम्र बोली, मिजासिलो स्वभावले शक्तिले शायदै कसैलाई बिझाएका होलान् ।  ‘उहाँजस्तो सरल व्यक्ति मैल देखेकै छैन’, क्रिकेटर अन्तिमले चिनेका शक्ति । ‘कहिले उसले एपीएफबाट खेल्यो कहिले अन्य टिमबाट, चाहे त्यो घरेलु होस् या राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगिता उ हरेक पटक मसँग आशिर्वाद लिन्थ्यो, उसका लागि क्रिकेटभन्दा प्यारो र सम्मानित केही छैन’, प्रशिक्षक जंगबहादुरको बुझाई छ ।

जब शक्तिले सन्यासको घोषणा गरे उनका बारेमा धेरथोर सबैले लेखे । तर गहकिलो त सुसन भारीले लेखे, ‘गुरुलाई आदर त्यसकारण हुन्छ की उसले आफ्नो शिष्यका लागि के गर्छ ।’ साउन १३ गते गुरुपूर्णिमाको दिन लेग स्पिनर सुसन भारीले आफ्नो फेसबुकमा आफ्ना गुरु शक्तिप्रति श्रद्धा यसरी व्यक्त गरेका थिए । भारीको यो सन्देशले मलाई भने शक्तिसँगको जम्काभेटमा सञ्चारकर्मीले शक्तिलाई जिस्काउने एउटा वाक्य याद आयो । ‘शक्ति जस्तो आफू खेल्छ चेला पनि त्यस्तै बनायो’, जवाफमा शक्ति मुसुक्क मुस्काउँथे मात्र । 

शक्तिले खेल्दै र खेल पनि सिकाउन सुरु गरिसकेका थिए स्टार क्रिकेट एकेडेमीको स्थापना गरेर । जसले सुसन भारी, निर्मल थापा, नुरध्वज सेन, प्रकाश केसी र सौरभ खनाललगायतका युवा पुस्ता नेपाललाई दिइसकेको छ । यो सन्दर्भमा शक्ति एउटा खेलाडीको परिचयबाट अगाडि बढिसकेका थिए तर क्रिकेटभन्दा पर उनको जीवन थिएन । प्रशिक्षक जंगबहादुर भन्छन्, ‘सरकारले के दिन्छ भन्ने त मलाई थाहा छैन, शक्तिलाई भविश्यको चिन्ता छैन, उ बेफुर्सदमा भएकाले भैरहवाका युवालाई राम्ररी प्रशिक्षण दिन भ्याइरहेको थिएन, यहाँ जुनियर खेलाडी र उनका अभिभावक शक्ति कहिले फर्केलान् भनेर पर्खिरहेछन् ।’ 

क्रिकेट मैदानभित्र प्रतिस्पर्धाका लागि उनका पाइला अब जाने छैन तर उनको प्रतिनिधित्व गर्ने युवा जमातले उनलाई कहिले पिच त कहिले बाउन्ड्रीतिर कुदाइरहनेछ । उनी भने पेभेलियनमा बसेर यसैगरी मुस्काइरहनेछन् । शक्तिले सबै फरम्याटमा गरी नेपालका लागि कुल एक सय ९२ खेल खेले । अब पालो उनको चेलाको । ‘तपाईँ कहिले सन्यास लिने र हामीलाइ पूरै समय सिकाउन भनेर सोधिरहन्थे, अब मलाई हरेक प्रतियोगितापछि कुदेर भैरहवा पुग्न पर्दैन मसँग पर्याप्त समय छ । मेरो एकेडेमी र मैले १४ वर्षदेखि प्रशिक्षण दिइरहेको न्यू होराइजन इन्स्टिच्यूटलाई म पर्याप्त समय दिन सक्छु ।’ 

यो योजनामा श्रीमती कविताको साथको खुशीभन्दा पनि बढी उनका दुई छोरी ११ वर्षकी सदिक्षा र ६ वर्षकी कस्तुरले पछ्याएको पदचाप प्यारो छ । सदिक्षा दायाँहाते ब्याटर हुन् । कान्छी रमाइलोको लागि मात्र खेल्छिन् । तर छिट्टै उनी पनि शक्तिको चेलाको सूचीमा थपिनेछिन् ।
 

अन्तिम अपडेट: साउन ३१, २०७५

पवित्रा राउत

लामो समय खेल पत्रकारिता गर्नु भएकी पवित्रा अहिले नेपाल ल क्याम्पसमा अध्यापन गराउनुहुन्छ र वकालत पेशामा सक्रिय हुनुहुन्छ । उहाँलाई ट्विटरफेसबुकमा भेट्न सकिन्छ ।

1 Comments

  • Dinesh Sampang Rai

    Aug. 8, 2018, 5:58 p.m.

    राम्रो मान्छे अनि राम्रो खेलाडी सधै सबैको मन अनि मस्तिष्कमा बसेको हुन्छन् । त्यस्तै शक्ति Dai पनि सबैको मन, मस्तिष्क अनि मुटुमा बस्ने एक असल अनि सफल खेलाडी हुन् ।

तपाईको प्रतिक्रिया