ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो

 साउन २३, २०७५ बुधबार १३:५५:२६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौंडाको सबै ओम्याक्स सिने हलमा लागेको आगो दुई घण्टापछि निभाइएको छ ।

हेटौंडा उप–महानगरपालिका र आयल निगमको दमकलले आगो निभाएको हो । आगलागीबाट हल भित्रका सबै सामानहरु जलेर नष्ट भएका छन् । हेटौंडाको पहिलो अत्याधुनिक हल ओम्याक्स हल आगोलागीले क्षण भरमै ध्वस्त भएको छ ।

२०६९ जेठबाट सञ्चालनमा आएको ओम्याक्स हल बुधबार बिहान १० बजे आगलागी हुँदा दुई घण्टामा नै ध्वस्त भएको हो । हल चलचित्र निर्माता, वितरक तथा चलचित्र विकास बोर्डका सदस्य रहेका नरेन्द्र महर्जनको हो ।

तीन करोड लागतमा निर्माण गरिएको ओम्याक्स हेटौंडामा बनेको सुविधा सम्पन्न पहिलो हल थियो । ८ कठ्ठा क्षेत्रफलमा बनेको हलमा एक साथ ४ सय ३१ जनाले फिल्म हेर्न सक्थे । अहिले हलमा कायरा फिल्म प्रर्दश भइरहेको थियो ।

सम्पूर्ण डिजिटल सिस्टममा निर्माण भएको ओम्याक्स फिल्म हल काठमाडौंको सिभिल महलको जस्तै क्यूएफएक्स ब्राण्डेड प्रविधि र डिजाइन रहेको थियो । काठमाडौंको जय नेपाल हलमा भए जस्तै व्यवस्थापन रहेको हलमा कम्प्युटरबाट टिकट सिस्टम, इन्टरनेटबाट टिकट बुकिङ गर्ने लगायतका सुविधा थिए ।

सिनेमा हलले १५ जनालाई रोजगार दिएको थियो । सुविधायुक्त ओम्याक्स हल निर्माण भएपछि महर्जनले नै सञ्चालन गर्दै आएको ओम सिनेमा हल भत्काइएको थियो । ओम चलचित्र हल २०४४ सालमा स्थापना भएको थियो । केही महिनाअघि मात्र हलको मर्मत गरेर सिट तथा कार्पेट परिवर्तन गरिएको थियो ।

आगोलागीले हल भित्र रहेका सबै उपकरणसहित भवन समेत ध्वस्त भएको छ । दुई तलाको फिल्म हलमा आगलागी भएको हो । विद्युत लाइन मर्मत गर्ने क्रममा इलेक्ट्रिक सर्ट भएर आजलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

हलमा लागेको आगो निभाउनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासिन्दाहरु, हेटौंडाका युवाहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताउनुभयो ।

हेटौंडामा एउटा मात्र दमकल रहेकाले छिटो आगो निभाउनका लागि समस्या भएको हो । आगो निभाउनका लागि बाराको अमलेखगन्जमा रहेको नेपाल आयल निगमको दमकल र हेटौंडा उप–महानगरपालिकाको दमकलले आगो निभाउने काम गरेको थियो ।

चितवन र वीरगञ्जबाट समेत आगो निभाउन दमकल मगाइएको भए पनि दमकल आउनुभन्दा अगाडि नै आगो निभाइएकाले ती दमकललाई बाटोबाटै फर्काइएको छ । आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भए पनि एकीन तथ्यांक भने आइसकेको छैन् । बुधबार बिहान आठ बजेपछिको फिल्मको ‘सो’ नभएकाले मानवीय क्षति भने हुन नपाएको प्रहरीको भनाई छ । 

आगो लाग्ने बितिक्कै हलमा कार्यरत कर्मचारी भने बाहिर निस्किएर भाग्न सफल भएका थिए । हलभित्र रहेका सबै सामानहरु जलेर नष्ट भइसकेको छ । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया