गुणस्तरहीन खाद्यवस्तु बजारमा ल्याउने उद्योगलाई कडा कारबाही गर्ने सरकारको चेतावनी

 साउन २३, २०७५ बुधबार १५:५४:२ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले गुणस्तरहीन खाद्य वस्तु बजारमा ल्याउने उद्योगमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गुणस्तरहीन खाद्य वस्तु बजारमा ल्याउने उद्योगलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

विभागका महानिर्देशक संजीवकुमार कर्णले बजारमा खाद्य वस्तु गुणस्तरहीन आउन नदिने गरी कानुन बनाउने काम सुरु गरिएको पनि जानकारी दिनुभयो । विभागले गुणस्तरीय र सुरक्षित खाद्य वस्तु सुनिश्चित नभएका उद्योगको उत्पादन बजारमा आउन नदिने व्यवस्था पनि गरेको छ ।

महानिर्देशक कर्णले दूषित तथा न्यून गुणस्तरका खाद्य वस्तुलाई नियन्त्रण गर्न पुरानो कानुनले काम नगरेपछि नयाँ कानुन ल्याउने बाध्यात्मक अवस्था रहेको स्पष्ट पार्नुभयो ।

विभागले गुणस्तरीहीन खाद्य वस्तु आयातमा प्रतिबन्ध लगाउन आयात/निर्यात नियन्त्रण नीति ल्याउने तयारी पनि गरेको छ । गुणस्तरहीन खाद्य वस्तु आयात हुने गरेपछि त्यसलाई प्रतिबन्ध लगाउन सरकारले आयात/निर्यात नियन्त्रण नीति ल्याउन लागेको पनि महानिर्देशक कर्णले बताउनुभयो ।

सरकारी तथ्यांक अनुसार नेपालमा अहिले झण्डै २५ प्रतिशत दुषित खाद्य वस्तु बजारमा बिक्री वितरण हुने गरेको छ भने झण्डै १५ प्रतिशत खाद्य बस्तु न्युन गुणस्तरका रहेका छन् । ती सबै बस्तुहरुलाई बजारमा आउन नदिन कडा कारबाही हुने प्रावधानसहितको कानुन बनाउने सरकारको योजना छ ।

२०२३ सालमा बनाइएको खाद्य ऐनले बजारमा खाद्य वस्तुको अनुगमनको कामलाई प्रभावकारी बनाउन नसकेको पनि विभागका महानिर्देशक कर्णले स्पष्ट पार्नुभयो । विभागले खाद्य वस्तु अनुगमनको कामलाई प्रभावकारी बनाउन जनशक्ति थप गर्ने योजना अघि सारेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया