परदेशी श्रीमानको शंकालाई विश्वासमा बदलेकी जमुना

 साउन २३, २०७५ बुधबार १६:१८:३३ | मोहन पौडेल

काठमाडौं – उतिबेला न टेलिफोन, न हात हातमा अहिलेको जस्तो मोबाइल । त्यसैले विदेश गएका जमुना तामाङका श्रीमान् शुक्रबहादुर चिठ्ठीमा मनका कुरा लेखेर पठाउनुहुन्थ्यो ।

जमुना न राम्ररी चिठ्ठी पढ्न जान्नुहुन्थ्यो, न चिठ्ठी लेख्न नै । त्यसैले मनमा लागेका जति सबै कुरा त हुँदैनथे । एक पटक श्रीमान्ले जमुनालाई चिठ्ठीमा प्रश्न गर्नुभएको थियो ‘तिमी मैले छोडेकै जस्तो छौ त ?’ 

प्रश्नमा श्रीमानको मनको शंका प्रष्ट बुझिन्थ्यो । तर जमुनालाई यसको उत्तर दिन गाह्रो भएन । उहाँले प्रतिउत्तरमा चिठ्ठी पठाउनुभयो ‘मनका सबै कुरा त भन्न सक्दिन, तर विश्वास गर्नुहोस् । दुई जनाबीच विश्वास भए केही समस्या हुँदैन ।’ 

जमुना चाहेर पनि सबै कुरा चिठ्ठीमा लेख्न सक्नुहुन्नथ्यो । किनकी उहाँलाई न पढ्न आउँथ्यो, न त लेख्न नै । श्रीमानले पठाएको चिठ्ठी साथीलाई पढाउनुहुन्थ्यो, अनि जवाफसहितको चिठ्ठी पनि साथीलाई नै लेख्न लगाउनुहुन्थ्यो । 

कुरा चिठ्ठीमा हुन्थे किनकी यो २०५७ सालकै कुरा हो । रामेछापको लामागाउँकी जमुनालाई विदेश जान सक्यो भने त दुःख सबै सकिन्छ भन्ने लाग्थ्यो । उहाँले नै श्रीमानलाई विदेश जान आग्रह गर्नुभयो । १४ वर्षमा बिहे गरेकी जमुना १७ वर्षकी हुँदा नै दुई छोरीकी आमा भइसक्नुभएको थियो । 

श्रीमानलाई विदेश जान प्रस्ताव गर्दा २१ वर्षकी मात्रै हुनुहुन्थ्यो । श्रीमानले छोरी हुर्काउन गाह्रो हुन्छ भन्दै नजाने भन्नुभयो । तर जमुनाले मलाई गाह्रो हुँदैन बस्न सक्छु भनेपछि उहाँका श्रीमान् दुबई जानुभयो । 

घरमा पैसा थिएन । त्यसैले जमुनाले ६५ हजार ऋण लिएर श्रीमानलाई विदेश उडाउनुभयो । श्रीमानसँगै काठमाडौं आएकी जमुना गाउँ फर्किनुभएन । उहाँ काठमाडौंमै काम गर्न थाल्नुभयो । ‘परिवारको पनि त्यति धेरै साथ थिएन अनि त्यहाँ गएर के गर्नु भन्ने लागेर गइनँ’ जमुनाले भन्नुभयो ।

काठमाडौंमा फकाउने पनि थिए 

विदेश जानेका श्रीमती कुबाटोमा लाग्छन् भन्छन्, तर त्यो कुरा जमुना पत्याउनुहुन्न । ‘सयमा एक जनाले गर्ने गल्तीलाई लिएर सबैलाई गलत भन्नु ठिक होइन’ जमुना भन्नुहुन्छ ।

यो त उहाँले आफ्नै व्यवहारबाट पनि सिक्नुभएको कुरा हो । आफू दह्रो हुन सकेन भने बिग्रिने रहेछ भन्ने पनि अनुभव गर्नुभएको छ जमुनाले । काठमाडौंमा बस्दा जमुनालाई धेरैले बिहे गर्न फर्काएका थिए । 

‘म २२ की मात्रै हुँदैथिएँ, त्यही भएर बिहे गरेर छोराछोरी पनि छन् भन्दा पत्याउँदैनथे’ जमुनाले आफ्नो विगत सुनाउन थाल्नुभयो । उहाँसँगै अरु महिला पनि थिए, टोपी बनाएर ठमेलमा बेच्न लाने ।

उहाँका साथी कोही ३५ वर्षका त कोही ४० कट्न लागेका । साथीहरुमध्ये जमुना सबैभन्दा कान्छी । गाडीमा सामान पुर्याउन जाँदा ट्याक्सी र टेम्पोका ड्राइभरले भनेका कुरा उहाँले यसरी सुनाउनुभयो 

‘गाडीमा सामान लिएर आउँदा जाँदा बिहे गर्ने मान्छे चाहिएको छ भनेर जिस्काउँथे । मसँग भएका दिदीहरुले हामी छौं बिहे नगरेका भन्थे । तर तपाईंहरु होइन त्यो बीचमा बस्नेसँग भए चाहिँ बिहे गर्ने हो भनेर मलाई देखाउँथे । बीचमा बस्नेको त दुईवटा बच्चा छन्, श्रीमानले मार्ला भन्दिन्थे ती दिदीहरुले ।

तर हेर्दा दुईवटा बच्चाको आमा जस्तो नदेखिने भएर होला तपाईंहरुले ढाँटेको, मिलाइदिनु न भन्थे । कहिलेकाहीँ एक्लै सामान बोकेर हिँडेका बेलामा म छिटो हिँड्दा छिटै गाडी चलाएर अनि ढिलो हिँड्दा ढिलै चलाएर जिस्क्याउँथे ।

त्यतिबेला म उनीहरुलाई म तिमीहरुको कुरा सुन्ने खालको केटी होइन, म त व्यवहारमा भिजिसको मान्छे हो भर पन्छाइदिन्थें । अनि तिमीहरु आफ्ना बुढीलाई नै माया गर्नु पनि भन्दिन्थें ।

फकाएर अर्काको घर बिगारेर भलो हुन्छ जस्तो लाग्छ भनेपछि केही नभनी फर्किन्थे । त्यति भनेपछि चाहिँ साँच्चै नै यसको बिहे भएको रहेछ भनेर फकिन्थे । उमेरकै थिएँ । तर मैले त्यतिबेला अरु केही सोचिन । म यदि अरुको कुरामा बहकिएँ भने विदेश गएका श्रीमान, आफ्नो परिवारको के हालत हुन्छ भन्ने सोच्थें ।’ 

जमुनाको सोचलाई ससुराको सुझावले पनि साथ दियो । सासुको निधन भएपनि ससुराले जमुनालाई व्यवहारिक कुरासँगै परदेशीका श्रीमतीले कसरी व्यवहार सम्हाल्नुपर्छ भनेर सम्झाइरहनुहुन्थ्यो । 

टोपी बुनेर ६ महिनामा २५ हजार बचत

श्रीमानलाई पठाउनुअघि जमुनाले विदेश गएपछि त मज्जैसँग कमाउन सकिन्छ भन्ने सुन्नुभएको थियो, अनि त्यस्तै सोच्नु पनि भएको थियो । तर सुनेको र सोचेको दुवै पुगेन । जमुनाका श्रीमानले ६ महिना पुग्दा ४० हजार रुपैयाँ पठाउनुभयो । 

त्यतिञ्जेलमा दुई जना छोरी लिएर काठमाडौं बसेकी जमुनाले २५ हजार जम्मा गर्नुभएको थियो । दुवैतिरको पैसा जम्मा पारेर उहाँले श्रीमानलाई पठाउँदा लागेको ६५ हजार ऋण तिर्नुभयो । तर ६ महिनाको ब्याज चाहिँ बाँकी नै रह्यो । 

जमुना काठमाडौंमा टोपी बुन्ने काम गर्नुहुन्थ्यो । त्यो पनि विदेश निर्यात हुने टोपी । धागो रुकुम र रोल्पाबाट ल्याएर टोपी बन्थ्यो अनि विदेश जान्थ्यो । विदेश जाने टोपीले जमुनालाई विदेश गएका श्रीमानले जस्तै कमाउन सघायो ।

‘मेरो कमाई राम्रो थियो । म टोपी बनाउँथे । उनीका टोपीहरु बनाउँथें । त्यस्ता सामान विदेशमा बिक्री हुँदो रहेछ । त्यही भएर मेरो कमाई राम्रो थियो’ जमुनाले सुनाउनुभयो । 

उहाँले आफैं लगानी गरेर पनि टोपी बनाउनुभयो । ५ हजार लगानी गर्दा १५÷१६ हजार रुपैयाँका टोपी बिक्री गर्नुहुन्थ्यो । त्यसले १० हजार त चोखो नाफा । त्यसैले श्रीमानको कमाईमा आफ्नो पनि कमाइ जोड्न पाउनुभयो । 

जमुनाले अरुलाई काम लगाएर पनि पैसा कमाउनुभयो । उहाँलाई काम दिने साहुले एउटा टोपीमा २५ रुपैयाँ दिन्थे । जमुना चाहिँ अरुलाई काम लगाएर १५ रुपैयाँ दिनुहुन्थ्यो अनि १० रुपैयाँ त्यसबाट पनि नाफा निकाल्नुहुन्थ्यो ।

जमुनाले कमाउने भएपछि श्रीमानले पैसा खर्चलाई भनेर पैसा पठाउनुहुन्नथ्यो । अनि जमुना पनि श्रीमानले पठाएको पैसा बैंकमा जम्मा गरिदिनुहुन्थ्यो । उहाँले ६ महिनामा ४० हजार पठाएपछि बाँकी ३० महिनामा दुई पटक गरेर ६० हजार पठाउनुभयो । जुन जमुनाले बैंकमै राखिदिनुभएको थियो । 

आफू पनि कमाउने भएपछि जमुनालाई काठमाडौंमै जग्गा किन्ने आँट आयो । तर श्रीमानले मान्नुभएन । शत्रु मित्रु सबैलाई देखाउन भएपनि गाउँ नै फर्किनुपर्छ भनेपछि २०६० सालमा श्रीमानसँगै लामागाउँ फर्किएर डेढ रोपनी जग्गा किन्नुभयो, ६० हजार रुपैयाँमा ।

आफ्नो पैसाले जग्गा किनेकी जमुनाले श्रीमानले विदेशबाट पठाएर जम्मा गरेको ६० हजारले घर बनाउनुभयो । अहिले त आनाकै लाख रुपैयाँ पुगेको छ लामागाउँको जग्गाको भाउ । अहिलेको हिसाब गर्दा त जमुनाको घर जग्गा करोड भन्दा माथिको भएको छ । 

चिठ्ठी आउँदा मान्छे नै भेटे जस्तो हुन्थ्यो

०५७ सालमा काठमाडौं बस्दा अहिलेको जस्तो मोबाइल थिएन सबैका हातमा । जमुनाको अवस्था पनि त्यस्तै थियो । श्रीमानले उहाँलाई बागबजारमा रहेको एउटा कलेजको ठेगानामा चिठ्ठी पठाउनुहुन्थ्यो ।

जमुना चाहिँ चिठ्ठी साथीलाई पढ्न लगाउनुहुन्थ्यो अनि त्यसको जवाफ पनि साथीलाई लेख्न लगाएर पठाउनुहुन्थ्यो । ‘चिठ्ठी आउँदा मान्छे नै भेटे जस्तो हुन्थ्यो । तिमी राम्ररी बस भनेर लेख्नुभएको हुन्थ्यो’ जमुनाको अनुहार केही लजाए जस्तो भयो ।

तर चिठ्ठी अर्कालाई लेख्न लगाउँदा मनका सबै कुरा कहाँ लेख्न पाइन्थ्यो र । जमुनालाई पनि त्यस्तै हुन्थ्यो । चिठ्ठीमा व्यवहारका कुरा मात्रै हुन्थे । मनका कुरा मनमै रहन्थे । जमुनाका पनि अनि उहाँका श्रीमान्का पनि । त्यही चिठ्ठीमा एक चोटी उहाँका श्रीमानले शंका गरेर ‘तिमी मैले छोडेकै जस्तो छौ त ?’ भनेर लेख्नुभएको थियो । 

तर त्यो शंका पहिलो र अन्तिम भयो । त्यसपछि न श्रीमानले शंका गर्नुभयो न त जमुनाले श्रीमानलाई शंका गर्ने मौका नै दिनुभयो । तीन वर्ष दुकई बसेर फर्किएका श्रीमान् घर बनाइसकेपछि उहाँलाई गाउँमा छोडेर फेरि त्यही ठाउँमै जानुभयो । 

दोस्रो पटक गएका जमुनाका श्रीमान् ६ वर्ष बस्नुभयो । त्यतिबेला गाउँदेखि केही परको पसलमा फोन पुगेको थियो । त्यही पसलमा फोन आउँथ्यो जमुनालाई । तर चिठ्ठीमा जति पनि कुरा हुँदैनथे फोनमा । ‘उहाँले पैसा धेरै लाग्छ भनेर खबर सोधेपछि फोन राखिहाल्नुहुन्थ्यो’ जमुना भन्नुहुन्छ । 

फोनमा बोलुन्जेल श्रीमान आफैंसँग भए जस्तो लाग्ने जमुनालाई फोन राखेपछि चाहिँ नरमाइलो लाग्थ्यो । एक पटक शंका गरेका श्रीमानलाई जमुनाले त्यसपछि शंका गर्ने ठाउँ दिनुभएन । अहिले त जमुनाका श्रीमान घरमै हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत १, २०८०

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया