पाकिस्तानका इमरान खानलाई लेखेको चिठी भारतका इमरानलाई आएपछि...

 साउन २३, २०७५ बुधबार १७:२९:१९ | एजेन्सी
unn.prixa.net

पाकिस्तानले केही दिनमा नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई पाउँदैछ । 

पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान इमरान खान प्रधानमन्त्री बन्ने पक्का भएपछि मानिसहरु सामाजिक सञ्जालमा आ–आफ्ना प्रतिक्रिया दिन व्यस्त छन् । 

यस्तो प्रतिक्रिया दिनेमा इमरान खानको पार्टी पीटीआईका समर्थकदेखि इमरानका खानलाई पछ्याउने विश्व समुदाय नै रहेको छ ।

इमरान खानका एक जना समर्थक इमरानलाई चिठी लेख्छन् :

‘प्रिय प्रधानमन्त्री इमरान खान साहब, एक सपल नेता त्यो हुन्छ, जसले सही समयमा सही निर्णय गर्दछ । उ सही साथी र टिमका विश्वास गर्न लायक सदस्यलाई चिन्दछ । म पहिलो निदेखि नै तपाईँको टिममा सहभागी हुन चाहन्छु ।’

 

तर यो चिठी गलत ठाउँमा पुग्यो । पुग्नुपर्ने थियो पूर्व क्रिकेटर तथा पाकिस्तानका हुनेवाला प्रधानमन्त्री इमरान खानकोमा तर चिठी पुग्यो आमिर खानका भान्जा तथा ‘जाने तू या जाने ना’ का अभिनेता इमरान खानकोमा । दुवैको नाम एउटै भएकाले पनि ती समर्थकबाट गल्ती हुन पुगेको हो । 

 

अभिनेता इमरान खानले यो इमेलको स्क्रीनसट शेयर गर्दै लेखेका छन्, ‘मलाई लाग्छ अब मैले यी कुरामा नजरअन्दाज गर्न मिल्दैन । म यही हप्तामा नीतिहरु बनाउँछु र तपाईँहरुसमक्ष अपडेट गर्नेछु ।’

बलिउड अभिनेता इमरान खानलाई सम्बोधन गरेर पत्र आएको यो पहिलो पटक भने होइन । यसभन्दा अगाडि जुलाई ९ मा इमरान खानलाई  इन्स्टाग्राममा एउटा सन्देश आयो, ‘सर म खैबर पख्तूनख्वाको बन्नूमा बस्दछु । म इन्जिनियर हूँ । यहाँका एसएचओले अन्याय गरिरहेका छन् ।’ 

 

इमरानले त्यसबेला पनि त्यो सन्देशको स्क्रीनसट शेयर गर्दै लेखे, ‘मलाई थाहा छैन तपाईँले के सुन्नुभयो । तर मसँग त्यो कुरामा एक्सन लिने अधिकार नै छैन ।’
 

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया