सार्वजनिक सुरक्षा ऐन संशोधनसहित संघीय संसदमा पठाउने निर्णय पारित

 साउन २४, २०७५ बिहिबार १४:१५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था समितिले सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई संसोधनसहित संघीय संसदमा पठाउने निर्णय गरेको छ । 

बिहीबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले विधेयकमाथि सामान्य छलफल गरी संसोधनसहित संघीय संसदमा पठाउने निर्णय गरेको हो । समितिको बैठकको सभापतित्व गर्नुभएका जेष्ठ सदस्य दिलेन्द्रप्रसाद बढुले संसोधनसहित विधेयकलाई संघीय संसदमा पठाउन राखेको प्रस्ताव सर्वसम्मति पारित भएको हो ।

सदस्यहरु संञ्जय गौतम र मिनाक्षी झाले मुल ऐनको दफा १२ को प्रस्तावित संशोधनमा संभवन भएसम्म भन्ने शब्द झिक्नुपर्ने भन्दै संसोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।

गौतम र समिति सदस्य देवेन्द्र कँडेलले नजरबन्दमा राखिएका व्यक्तिलाई छोड्नुपर्दा उनको परिवार वा नजिकको नातेदारलाई रोहबरमा राख्नु उपयुक्त हुने भन्दै त्यहाँ उल्लेखित संभव भएसम्म भन्ने शब्द झिक्नुपर्ने धारणा राख्नुभएको थियो ।

समितिबाट सर्वसम्मति पारित भएको सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक २०७५ आगामी प्रतिनिधिसभाको बैठकमा पेस हुनेछ ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया