गोठमा बसेर पढ्छन् बालबालिका

 साउन २४, २०७५ बिहिबार १७:०:३५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – विद्यालय भवनको अभावमा रुकुमकोे पुथाउत्तरगंगा गाउँपालिका स्थित एक विद्यालयका विद्यार्थी गोठमा पढ्दै आएका छन् ।

गाउँपालिकाको वडा नम्बर ५ उज्र्याङको बाल कल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु गोठमा पठन पाठन गर्न बाध्य भएका हुन् । विद्यालयमा भएको भवन अपुग भएपछि विद्यार्थीहरुलाई गोठमै राखेर पठन–पाठन गराइरहेको विद्यालयले जनाएको छ ।

विद्यालयमा बाल शिक्षादेखि ५ कक्षासम्म पठन पाठन हुने गरेको छ । त्यो गोठमा विद्यालयका १, २ र ३ कक्षाका विद्यार्थीहरुको पढाई हुने गरेको छ । गर्मी, वर्षात र जाडो याममा स–साना विद्यार्थीहरु गर्मी कच्ची गोठमा बसेर पढ्न बाध्य छन् ।

विद्यालयका प्रधानाध्यापक अशोक घर्तीका अनुसार २०६५ सालमा गाउँलेको पहलमा स्थापना भएको विद्यालयमा ५ कक्षा सञ्चालन गर्न सुुरु गरेपछि भवन र कक्षा कोठा अभाव भएको हो । उहाँले विद्यालयमा २ ओटा भवन रहेका तर ३ कोठाको अपुग रहेको बताउनुभयो ।

२ भवनका ५ कोठामा कार्यालय, बाल शिक्षा कक्षा ४ र ५ को पठन पाठन भैरहेको छ । गोठमा पानी चुहिने, पानी परेको आवाज भित्रैसम्म आउँदा पठन पाठनमा असर परिरहेको विद्यार्थीहरु बताउँछन् । अहिले एउटै गोठको दुई ठाउँमा काठले बारेर तीन वटा कक्षाको पठन पाठन भइरहेको छ ।

गाउँका बालबच्चाहरु विद्यालयको पहुँच बाहिर रहेको भन्दै स्थानीय अभिभावकले नै विद्यालय स्थापनाको पहल गरेका थिए । आफैले तलब व्यहोर्ने जिम्मा लिएर स्थानीयले नै स्थापना गरेको विद्यालयको हैसियत भवन बनाउने छैन ।

विद्यालयमा नियूक्त गरिएका शिक्षकको तलव भत्ता व्यवस्थापनमै समस्या भैरहेका बेला भवन बनाउनु चानचुने कुरा नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उर्दबहादुर कामीले बताउनुभयो ।

अध्यक्ष कामीका अनुसार बाल शिक्षासहित ५ कक्षासम्म पठन–पाठन गराउने स्वीकृत प्रदान गरेको सरकारले विद्यालयलाई बाल शिक्षा सहयोगी कार्यकर्ता बाहेक अरु सुविधा दिएको छैन । हरेक महिना तलबमा मात्रै खर्च हुने २६ हजार जुटाउन गाउँलेलाई हम्मेहम्मे परेको छ । त्यस विद्यालयमा अहिले २ सय ५० विद्यार्थीले अध्ययन गरिरहेका छन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया