राज्यले आदिवासी जनजातिका योगदानको कदर गरेन : मन्त्री मगर

 साउन २४, २०७५ बिहिबार १८:२०:३१ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – नेपालका महत्वपूर्ण लडाईँमा आदिवासी जनजातिको योगदान रहे पनि राज्यले उनीहरुको योगदानको कदर नगरेको खानेपानी मन्त्री विना मगरले बताउनुभएको छ ।

२४ औं विश्व आदिवासी दिवसका अवसरमा बिहीबार कञ्चनपुरको बेलौनी नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले राजनीतिक परिवर्तनसँगै नेपालको सामाजिक परिवर्तनका लागि आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान रहे पनि राज्यले उनीहरुलाई हक अधिकारबाट पछि पारेको बताउनुभयो ।

पञ्चायत काल हटाउनेदेखि गणतन्त्र स्थापना जस्ता महत्वपूर्ण लडार्इँमा आदिवासी जनजातिको योगदान भएको भन्दै मन्त्री मगरले नेतृत्व तहसम्म आदिवासी जनजाति पुग्न नसक्नु दुःखद रहेको जिकीर गर्नुभयो । जनजातिको हक र पहिचानको विषयमा राज्य मौन रहेको उहाँको आरोप छ ।

‘नेपालका हरेक लडाईँ र परिवर्तनका लागि रगतको हामी आदिवासी जनजातिले आहुती दिएका छौ’, मन्त्री मगरले भन्नुभयो, ‘तर राज्यले हामीले चाहे जस्तो हक अधिकार र हाम्रो पहिचान पूर्ण रुपमा दिन सकेको छैन् ।’

कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले बेलौरीमा रहेको छोटी भन्सार  संचालनको लागि प्रयास भइरहेको बताउनुभयो । उहाँले भारतीय पक्षले त्यो नाकामा कस्टम राख्नु पर्ने माग गरेकाले भन्सार स्तरउन्नती मात्रै नभइ बेलौरी नाकालाई प्रमुख भन्सार नाकाकै रुपमा अगाडि बढाउन पहल थालिएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया