निशान खड्का हत्या प्रकरण : शव हेर्दै भक्कानिए बुवा, दागबत्ती दिनै सकेनन्(भिडियो)

 साउन २४, २०७५ बिहिबार १९:०:४४ | उज्यालो सहकर्मी

काठमाडौं – आइतबार राती हत्या गरिएका भक्तपुरका निशान खड्काको बिहीबार अन्त्येष्टि गरिएको छ । 

वैदेशिक रोजागारीका क्रममा मलेसियामा रहेका निशानका बुवा गणेशबहादुर खड्का फर्किएपछि उनको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।दिउँसो साढे १ बजे नै आउने भनिएपछि उहाँ दुई घण्टा ढिलो मात्रै आइपुग्नुभएको थियो । विमानस्थल आइपुगेका गणेशबहादुर सिधै छोराको अन्त्येष्टिका लागि पशुपति आर्यघाट पुग्नुभएको थियो । 

छोराको अनुहार हेर्दै भक्कानिएपछि उहाँले दागबत्ती दिन सक्नुभएन । छोरालाई दागबत्ती दिन नसकेर केही पर राखिएको बेञ्चमा बसेका गणेशबहादुरका हात बाउँडिएको थिए । छोरालाई पानी खुवाउना साथ उहाँलाई शवभन्दा टाढा नै राखिएको थियो । 

बुवाले दागबत्ती दिन नसकेपछि आफन्त र मलामीहरुले केहीबेर कसले दागबत्ती दिने भनेर छलफल गरेका थिए । निशानका हजुरबुवासँगै मावलका हजुरबुवा पनि नातिको अनुहार अन्तिम पटक हेर्न आर्यघाट आइपुग्नुभएको थियो । 

घरका व्यक्ति हुँदा हुँदै अरुले दागबत्ती दिन नहुने भनाई आएपछि जयबहादुर खड्काले नातिलाई दागबत्ती दिनुभयो । छोराको हत्याको खबर सुनेलगत्तै कम्पनीमा बिदा मागेका गणेशबहादुर बिहीबार मात्रै नेपाल आउनुभएको हो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया