अश्लील गीत गाउँदै र गाली गर्दै भक्तपुरका चोक–चोकमा घण्टाकर्ण मारियो

 साउन २४, २०७५ बिहिबार २०:५१:३३ | उज्यालो सहकर्मी

भक्तपुर – प्रत्येक साउन कृष्ण चतु्र्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्व बिहीबार भक्तपुरमा पृथक शैलीमा मनाइएको छ । 

विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहीबार साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रुप बनाएर टोलटोल घुमाउदै दोबाटो र चौबाटोमा पुर्याई जलाएर पर्व मनाएको हो ।

भक्तपुरको भेलुखेल, दत्तात्रयमा भने पृथक शैलीमा यो पर्व मनाउने परम्परा रहेको छ । निगालोको चोयाबाट पूर्ण राक्षसरुपी गठांमंगल बनाई बाहिर कपडाले मोडेर विभिन्न रंग लगाई राक्षसको स्वरुप बनाएर टोलटोलमा घुमाएर जगाती लगेर विसर्जन गरिएको छ । यस प्रकारको राक्षस रुप अन्य कतै पनि नभएको र यहाँ पृथक शैली रहेको स्थानीय बाबुरत्न द्यौलाले बताउनुभयो । 

भक्तपुरका इतिहासविद् एवं संस्कृतविद डा. पुरुषोत्तमलोचन श्रेष्ठले सातौ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसँग जोडिएको बताउनुहुन्छ । उहाँले महादेवलाई मन पराउने राक्षसको रुपमा गठामङ्गल वीर शैव सम्प्रदाय अन्तर्गत रहेको बताउनुभयो । 

आजको दिनलाई महादेव उत्पत्तिको दिन समेत मानिने, आजदेखि रोपाइँ सकेर रमाइलो गर्ने, चाडबाडको परम्परा सुरु हुने दिनका रुपमा पनि मानिने श्रेष्ठले बताउनुभयो । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राती राँको बाली त्यस राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ ।

गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास समेत रहेको छ । 

भक्तपुरमा यौनसँग पनि यसलाई दाज्ने गरिन्छ । राक्षस रुपी गठामङ्गललाई शरीरको रुप दिएर परालबाट लिङ्ग बनाई दुईवटा भोगटेको अण्डकोष बनाएर अश्लील गीतहरु गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा समेत रहेको छ । 

राँको बालेर भूत भगाउने भन्दै पुत्लाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याइन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखि नै अश्लील शब्दहरुको प्रयोग गर्ने छुट रहेको किम्बदन्ती पाउन सकिन्छ ।


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया