एन्फा नेतृत्वविरुद्ध पूर्व उपाध्यक्ष मणि कुँवरद्वारा मन्त्रालय र राखेपमा उजुरी

 साउन २५, २०७५ शुक्रबार १४:९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाको नवनिर्वाचित कार्यसमितिको कार्यशैली विधानविपरीत रहेको भन्दै एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष मणि कुँवरले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदमा उजुरी दिएका छन् ।
 
कुँवर दक्षिण एसियाली फुटबल संघका उपाध्यक्षसमेत हुन् ।
 
उनले शुक्रबार मन्त्रालय र राखेपमा उजुरी दर्ता गराएका छन् । उजुरीमा मुख्य गरी पाँच बुँदामा आरोप लगाइएको छ । आफ्नो अभिष्ट पूरा गर्न संसारमै नभएको रेलिगेसनबिनाको लिग सञ्चालन गर्न लागिएकोमा मन्त्री तथा सदस्यसचिवको ध्यानाकर्षण गराइएको छ ।
 
त्यस्तै एन्फाको विदेश विभाग प्रमुख नवीन पाण्डेले विदेशी नागरिकको हैसियतमा फिफा कंग्रेसमा सहभागी भएको, फिफा विश्वकपका लागि २५० टिकट बिक्री गरिएको भनिए पनि परदर्शी हिसाब नदेखाएको लगायतका आरोपमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
 
निर्वाचन भएको ३ महिना नबित्दै विशेष साधारणसभा बोलाएर एकलौटी एन्फा सञ्चालन गर्न खोजेको आरोप उजुरीमा लगाइएको छ । अनावश्यक ठाउँमा विधान संशोधन गर्न लागिएको, जिल्लाको मताधिकार कटौती गरी प्रदेशमा सार्न खोज्नु फिफा र एएफसीकै प्रचलन मिचिएको, खेलकुद परिषद संघीय संरचनामा गइनसकेको अवस्थामा फुटबल आफ्नो हिसाबमा संघीय संरचनामा जानु अशोभनीय भएको भन्दै ध्यानाकर्षण गराइएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया