जनावरलाई पनि माया गर्नुस् है, नत्र कारबाहीको फन्दामा पर्नुहोला !

 साउन २५, २०७५ शुक्रबार १७:२३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

बढी मालसामान ढुवानी गर्ने भन्दैमा गधा वा घोडालाई धेरै भारी नबोकाउनुस् है, अब कारबाहीको फन्दामा पर्नुहोला नि । 

आउँदो भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी अपराध संहिता ऐन २०७४ ले पशपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म कैद गरिने व्यवस्था गरिएको छ । त्यति मात्रै होइन पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा गरिएको छ ।  

संहिता ऐनको परिच्छेद २७ अन्तर्गत २९० मा कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाउन नहुने उल्लेख छ । यस्तै आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएका कारणले सार्वजनिक रुपमा छाड्न तथा अन्य कुनै किसिमबाट पनि निर्दयी वा क्रुर व्यवहार गर्न नपाइने ऐनमा लेखिएको छ । 

यस्तै ऐनमा सार्वजानिक स्थलमा समेत जथाभावी पशु वा पंक्षी मार्न नहुने र यस्तो कार्य गरेको भेटिएमा एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँ जरिवाना तथा दुबै सजाय हुनसक्ने व्यवस्था छ । तर परम्परादेखि बली दिँदै आएको धार्मिक स्थल, पशु वा पंक्षीको बध गर्न चली आएको मेला, जात्रा, हाट जस्ता ठाउँमा भने बाधा नपर्ने ऐनमा उल्लेख छ ।  

यस्तै गाई गोरु मार्ने अपराध गरेकोमा भने सजाय घटाइएको छ । पहिलो यो अपराध गरेकालाई पाँच वर्ष कैद हुँदै आएकोमा अहिले घटाएर ३ वर्ष राखिएको छ । 
संहिता ऐनको परिच्छेद २७ अन्तर्गत २८९ मा भनिएको छ ‘यदि कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन ।’

यस्तै कसैले गाई वा गोरुलाई कुटेर अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पु¥याएमा पचास हजार रुपैयाँँसम्म जरिवाना गरिने पनि उल्लेख छ ।   

यस्तै कुखुरा, हाँस तथा विभिन्न पशुपंक्षीलाई साईकल मोटरसाईकल जस्ता साधनमा झुण्ड्याएर निर्दयीपूर्वक एक ठाउँबाट अर्को ठाउँ लैजाने कार्य पनि अपराध रहेको ठान्दै यस्तो कार्यमा संलग्नलाई पनि तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने उल्लेख छ ।


 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया