माथिल्लो तामाकोशी शेयर : १० दिनमा नै माग गरेको भन्दा बढी आवेदन

 साउन २५, २०७५ शुक्रबार १८:४७:३ | उषा तामाङ
unn.prixa.net

दोलखा – माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले आह्वान गरेको माथिल्लो तामाकोशी जलविद्युतआयोजना को शेयर दोलखालीले उत्साहका साथ भरेका छन् ।  शेयर आवेदन खुल्ला गरेको १० दिनमा नै माग गरेको शेयर संख्याभन्दा बढी आवेदन परेको छ ।

कम्पनीले दोलखावासीका लागि कुल एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर बिक्री गर्न लागेकामा आजसम्म एक अर्ब २७ करोड बराबरको शेयर आवेदन परेको छ । काठमाडौंबाट ५५ हजार र दोलखाबाट ५ हजार ५ सय आवेदन परेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो ।  

दोलखाका बासिन्दा खेतीपातीमा व्यस्त रहेको र आवेदन फर्म गाउँगाउँमा पुग्दै गरेको अवस्थामा सबै संकलन हुँदा ४ गुणाभन्दा बढी आवेदन पर्ने सम्भावना देखिएको छ । एक अर्ब पाँच करोड ९० लाख बराबरको शेयर बिक्री गर्न लागिएकामा १० दिनको अवधिमा मात्रै १ अर्ब २७ करोड रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन परेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ । 

स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको छ । ४ सय ५६ मेगावाट क्षमताको आयोजना आगामी पुस मसान्तसम्ममा निर्माण गर्ने समय तालिका तय गरिएको छ । 

आयोजनाले स्थानीयबासिन्दालाई १० प्रतिशत शेयर बिक्री गरेपछि सर्वसाधारणलाई  एक अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया