साप्ताहिक शेयर समीक्षा : हप्ताभर शेयरबजारमा के-के भयो ? नालीबेलीसहित

 साउन २५, २०७५ शुक्रबार २०:६:२४ | ज्याेति दाहाल
unn.prixa.net

काठमाडौं – नेपाल स्टक एक्सचेन्जमा यस हप्ता ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका १ सय ८१वटा कम्पनीको शेयर कारोबार भएको छ |

यस हप्ता ५ करोड ९० लाख ४० हजार रकम र ५ लाख ८५ हजार कित्ताको आधारमा प्रोग्रेसिभ फाइनान्स (संस्थापक) पहिलो भएको छ | ८ सय ७७ वटा कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्सुरेन्स पहिलो भएको छ | रकमको आधारमा प्रोगेसिभपछि नेपाल लाइफ इन्सुरेन्स, फर्ष्ट माइक्रोफ़ाइनान्स, छिमेक लघुवित्त, सानिमा माई हाइड्रोपावर क्रमशः रहेका छन् |

सूचीकरणको पर्खाईमा रहेका कुनै पनि कम्पनीको शेयर यस हप्ता पनि सूचीकरण हुन सकेन | सिद्धार्थ बैंक, हिमालयन बैंक, सूर्योदय लघुवित्त, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्सका बोनस शेयर धितोपत्र बोर्डमा दर्ता भइसक्दा पनि नेप्सेमा सूचीकरण हुन सकेको छैन | एनएमबी बैंकको एफपीओ, एनएडीइप लघुवित्त लगायत कम्पनीका शेयर पनि सूचीकरणको पर्खाइमा रहेका छन् |

सूचीकरण नहुनुको कारण सूचीकरण विनियमावलीमा धितोपत्र बोर्डको हस्तक्षेप बताइएको छ | सूचीकरण शुल्क र नवीकरण शुल्क तोक्ने स्टक एक्सचेन्जको अधिकार विपरित वोर्डले संशोधन गरिदिएपछि नेप्से र वोर्डबीच विवाद बढ्दा एक्सचेन्जको संचालक समितिले बोर्डबाट स्वीकृत विनियमावली लागू गर्न सकेको छैन | विनियमावली लागू हुनको लागि एक्सचेन्जको बैठक बसेर लागू हुने मिति तोक्नुपर्ने व्यवस्था विनियमावलीमा गरिएको छ | साविकको विनियम खारेज भइसकेको छ | सूचीकरण विनियमावलीसँगै खारेजीमा परेको कारोबार विनियमावली पनि लागु हुनसकेको छैन | कारोबार विनियमवालीविना नै अहिले कारोबार भइरहेको छ |

गएको हप्ता र यसहप्ता कारोबार हुने कम्पनी बराबर रहेका छन् | कारोबार संख्या बढे पनि कारोबार रकम भने घटेको छ | कारोबार रकम गत हप्ता भन्दा १४ दशमलब ६८ प्रतिशतले घटेको छ |

साताभरको नेप्से सूचक र नेप्से सूचकलाई प्रभाव पार्ने समूहको उतारचढाव निम्न बमोजिम रहेको छ |

पहिलो दिन आइतबार बजार बन्द हुँदा ११ सय ८९ दशमलब ८८ अंकमा रहेको नेप्से सूचक अन्तिम दिन बिहीबार बजार बन्द हुँदा ९ दशमलब २५ अंकले घटेर ११ सय ८० दशमलब ६३ अंकमा झरेको छ | गएको हप्ताको तुलनामा १० दशमलब ६८ अंकले घटेर बन्द भएको छ |

समूहगत परिसूचकमा वाणिज्य बैंक समूहको परिसूचक गएको हप्ताको तुलनामा कारोबार भएका सबै दिन घटेर बन्द भएको छ | पहिलो दिनको तुलनामा दोस्रो दिन बढे पनि त्यसपछि लगातार घटेर बन्द भएको छ | जीवन बीमा समूहको सूचक सबैभन्दा बढी घटेको छ | निर्जीवन बीमा समूहको परिसूचक पनि घटेर बन्द भएको छ | नेपाल टेलिकम सूचीकृत भएको अन्य समूहको परिसूचक भने साताको पहिलो दिनको तुलनामा अन्तिम दिन घटे पनि अगिल्लो साताको तुलनामा बढेको छ | यसले गर्दा समग्र नेप्से सूचक अरु घट्नबाट जोगिएको छ |

जीवन बीमा समूहको नेपाल लाइफ लाइफको मुल्यमा भारी गिरावट आएको छ | यसको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारण समूहमा परिवर्तन हुने क्रममा रहेको छ | यसो गर्दा यसको थप ४० लाख भन्दा बढी शेयर बजारमा आउने छ | बजारमा थप शेयर आउँदा 'ओभर सप्लाई' हुने र मूल्य अझ घट्न सक्ने मनोविज्ञानले गर्दा यसको मूल्यमा गिरावट आएको अनुमान गर्न सकिन्छ | नेप्सेले सूचीकृत कम्पनीलाई विभिन्न ११ समूहमा वर्गीकरण गरेको छ |

यस हप्ता शेयर कारोबार ५ दिन पूरै खुलेको थियो |

सरकारले लाभ कर गणना विधिको निर्णय गर्न अझसम्म सकेको छैन | यसको अन्योल कहिलेसम्म कायम रहने हो भन्न सकिने अवस्था रहेको छैन |

आर्थिक वर्ष समाप्त भएको महिना बित्दा पनि कम्पनीहरुले वार्षिक वित्तीय प्रतिवेदन सार्वजनिक गर्न भ्याएका देखिन्न | राष्ट्रियस्तरका सबै ११ वटा विकास बैंकले वार्षिक प्रतिवेदन सार्वजनिक गरिसकेका छन् | १९ वटा जलविद्युत कम्पनी मध्ये नेशनल हाइड्रोपावर र राधी विद्युत कम्पनीले मात्र वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन | नेशनलले वार्षिक प्रतिवेदन सार्वजनिक गरे पनि अपुरो रहेको छ | केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई नेपाल फाइनान्सियल रिपोर्टिंग स्ट्यान्डर्ड (एनएफआरएस) विधिबाट वित्तीय विवरण सार्वजनिक गर्न परिपत्र गरेपछि वित्तीय प्रतिवेदन बुझ्न अलि कठिनाई भएको जस्तो देखिएको छ |

चालु हकप्रदसम्बन्धी विवरण

लाभांश घोषणा

फर्ष्ट माइक्रोफ़ाइनान्ले नाम जस्तै लाभांश घोषणा गर्नमा पनि फर्ष्ट नै भएको छ | कम्पनीले आर्थिक वर्ष २०७४/७५ को खूद आम्दानीबाट शेयरधनीलाई १२ दशमलब ६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ | त्यस्तै लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालले आर्थिक वर्ष २०७३/७४ को खूद आम्दानीबाट ३६ प्रतिशत बोनस र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि १ दशमलव ८९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ |

राजीनामा र  नियुक्ति

फर्ष्ट माइक्रोफ़ाइनान्सका स्वतन्त्र संचालक सिताराम रेग्मीले राजीनामा दिएका छन् | सूर्य लाइफ इन्सुरेन्सले एनआईसी एसिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ |

प्रभू इन्सुरेन्समा कर्मचारी संचय कोषले जितेन्द्र धितालको सट्टा केदारनाथ गौतमलाई संचालकमनोनयन गरेको छ |

सिनर्जी फाइनान्सलाई प्राप्ति गरेपछि बेष्ट फाइनान्सले संचालक समिति पुनर्गठन गरेको छ | पुनर्गठित संचालक समितिमा पदमराज न्यौपाने अध्यक्ष, मिलन थापा, कृष्णहरि श्रेष्ठ, सुरज जोशी, महेशप्रसाद अधिकारी, बेविजन तिमिल्सिना, बिमलप्रसाद ढकाल (स्वतन्त्र) रहेका छन् | त्यस्तै कम्पनीले तोयाराज अधिकारीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ |

ग्रामीण विकास लघुवित्त (साविक नेपाल ग्रामीण विकास बैंक)मा नेपाल सरकारले हिक्मतबहादुर भण्डारीको सट्टा उपसचिव सुबप्रसाद रिजाललाई संचालकमा मनोनयन गरेको छ |

नयाँ नेपाल लघुवित्तका कार्यकारी संचालक सरोज घिमिरेले राजीनामा दिएका छन् | संचालकबाट राजीनामापश्चात निजलाई प्रमुख कार्यकारी प्रमुखको रुपमा नियुक्त गरिएको छ |

स्वदेशी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत पूण्यप्रसाद निरौलाले राजीनामा दिएका छन र रिक्त पदमा कम्पनीले नायव कार्यकारी प्रमुख राजेन्द्रप्रसाद न्यौपानेलाई निमित्त प्रमुख कार्यकरी अधिकृत नियुक्त गरेको छ |

कन्काई विकास बैंकले बैजनाथ ठाकुरको सट्टा बैंकका प्रमुख कार्यकरी अधिकृत प्रकाशमन बज्राचार्यलाई कम्पनी सचिव नियुक्त गरेको छ |

नबिल बैंक ऋणपत्र २०७५ को अवधि समाप्त भएको छ | बैंकले २०६५ साल श्रावणमा ३० करोड बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गरेको थियो | ऋणपत्रको चुक्ता मूल्य प्रति इकाई एक हजार रहेको थियो |

देव विकास बैंकमा संस्थापक शेयरधनीबाट प्रतिनिधत्व गर्ने प्रा.डा. सुवर्णलाल बज्राचार्य र महेश प्रधानले राजीनामा गरेका छन् |

अपर तामाकोशी हाइड्रोपावरले काठमाडौंबाट आवेदन गर्ने म्याद भदौ १ गतेसम्म थप गरेको छ | कम्पनीले स्थानीय दोलखावासीको लागि १ करोड ५ लाख९० हजार कित्ता छुट्ट्याएको छ | कम्पनीले स्थानीयवासीको लागि शेयर बिक्री गरिरहेको छ | आयोजनाले वार्षिक २ अर्ब २८ करोड युनिट विद्युत उत्पादन गर्ने लक्ष राखेको छ|

सिटिजन्स बैंकले जारी गरेको एफपीओ शुक्रबार बाँडफाँड भएको छ | 

अन्तिम अपडेट: चैत ३०, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया