ऐतिहासिक हेलुसिनेसनमाथि आजको कथा : एक सर्को माया

 साउन २६, २०७५ शनिवार १२:४३:३३ | जीवन युगीन
unn.prixa.net

जिएस पौडेलले एक सर्को माया मा भ्रमको संसारभित्र वास्तविकता र वास्तविक भनिएका  तथ्यहरुभित्र नीहित भ्रमसँग खेलेर एउटा लोभलाग्दो कथानक रचेका छन् ।

समाजले आत्मसात् गर्न नसकेका, दुव्र्यसन भनेर छिःछिः र दुर्दुर् गरिएका पात्र र प्रवृत्तिहरुको अन्र्तबाह्य द्वन्द्व, तिनीहरुले समग्र मानव सभ्यतामाथि पार्ने प्रभाव, दुव्र्यसनमा फसेका पात्रहरुको मनोसंवेगात्मक पक्ष, उनीहरुभित्र निर्माण हुने भ्रमको पृथक संसार, भ्रमभित्रैबाट गरिने उन्मुक्तिको प्रयत्न र असफलता, सहृदयी आफन्तहरुबाट उनीहरुले गर्ने अपेक्षाहरुको प्लटमाथि उभिएका कतिपय स्थापित मान्यता र यापनको जग हल्लाउँदै, मूल प्रवाहमा नरहेका विषय र प्रवृत्तिहरुको पुर्नरुत्खनन् गरेर सतहमा ल्याउन सफल भएका छन् । 

हाम्रा सिर्जना, भाषा, कला, साहित्यको व्याख्या, समालोचना र विवेचना गर्दा जे जस्ता आयातित दार्शनिक र सैद्धान्तिक औजारहरुको प्रयोग गरिरहेका छौं के ती अनिवार्य नै छन् त ? भन्ने  पेचिला सवालका बिचमा नेपाली साहित्यका पाठकको हातमा आइपुगेको एक  सर्को माया, जसले समाजको उत्पादन प्रणालीको आधारभूत तत्वभित्र सिर्जित मानवीय संवेदना, वर्तमान विश्वका युवाहरुले अपनाउन बाध्य श्रम शैली, त्यसमा निहित उदाशी, मानसिक समस्या, परसंस्कृतिग्रहण र दुव्र्यसनी जस्ता समस्याका जालो (Quantum of the problems) र त्यसले एउटा मान्छेभित्र निर्माण गर्ने अमान्छे (भ्रमित मान्छे) र उसको एकाङ्की संसारको स्वरुपलाई उठाएको छ, यसको मिहीन शल्यक्रिया हुनु जरुरी पनि छ ।

द्वैधताबीचको मेल र विरोधाभासका उहापोहभित्र बुनिएका सिर्जनाहरुको अध्ययन गर्दा  भ्रम र वास्तविकता सम्बन्धि चरहरु पूर्विय वाङ्गमयका कथा, काव्य र बिम्बहरुमा प्रशस्त मात्रामा प्रयुक्त भएको पाउन सक्छौं ।  त्यति मात्र होइन तन्त्र, मन्त्र र ध्यानसम्बन्धी सैद्धान्तिक एवम् प्रायोगिक विधि र व्यवहारिक ज्ञानको भण्डारभित्र पनि भ्रम र वास्तविकता सम्बन्धि प्रभाव भेट्न सकिन्छ । हिजोका स्वप्न विज्ञान, सम्मोहन कला, प्रणय वशीकरण, इन्द्रजाल, जस्ता तन्त्रद्वारा मानव मस्तिष्कलाई नियन्त्रित र परिचालित गर्ने विधि, पद्दति या त आधारहीन मानेर पन्छायौँ या त अतिवादी भेषभुषा पहिरिएर ठगी धन्धाको साधन बनाएर समय गुजारिरह्यौँ । त्यसैले आज तिनै अवधारणलाई हेलुसिनेसनजस्ता आयातित शब्द सापटी लिएर कथा सिर्जना गर्न बाध्य छौँ यतिबेला । 

भ्रम र वास्तविकताको तालमेलभित्र गुज्रिएरै मान्छेले थुप्रै आविष्कार र निर्माणहरु गरिरहेका हुन्छन् । सुदूर आकाशमा देखिएका रंगहरुको संसार आफैमा धर्ती र आकाशको साइनोभित्रै निर्माण हुने एक भ्रम पनि हो जसलाई छुन र छाम्न सकिँदैन । प्रचण्ड घाममा पर सडकमा देखिने मृगतृष्णा पनि त भ्रम नै हो जुन सडक र घामको वास्तविक मेलबाटै निर्मित हुन्छ । त्यति मात्र होइन एकथरीले मिथ्या भनेर हिँड्ने र अर्कोथरीले पूर्ण सत्य नै भौतिकता मात्र हो भन्ने अतिवादी चिन्तन प्रणालीभित्र तय भएको जीजिविषा आफैमा भ्रम पनि हो र यिनै दुई विरोधाभाससँग खेलेर सर्जकले जुन कथानक लेखे त्यो आफैंमा चामत्कारिक झैँ लाग्छ । 

घर फर्किने बेला कोठामा साझेदारीको सर्काे सल्किएपछि चालिसेको मलीन र मधुरो अनुहार हेरेर म पात्र बोल्छ, भरसक घरको कुरा मिलाएर फेरि आउनुहोस् दाइ, मालिदभ्स । त्यसपछि फेरि चालिसे बोल्छ– खै भाइ, जीन्दगीको डोनीलाई समयको छालले कहाँ पुर्‍याउँछ हेरौँ ? उसको अन्यौलताको कारण अन्ततः राज्यसत्ता हो भन्ने कुरा न त पात्रलाई थाहा हुन्छ, न त लेखकलाई नै ।

हुन त लेखकलाई थाहा नभएको कुरा पात्रलाई थाहा नहुनु पनि अनौठो पनि भएन । खाशमा यस उपन्यासको भ्रमको केन्द्र पनि यहीँनेर छ पात्रहरुको पलायनता असमान उत्पादन प्रणाली, विभेदकारी राज्य र गैर न्यायिक सत्ताको उपज हो भन्न छोडेर बढो अलगाव जस्तो लाग्ने, रुमानी दार्शनिकता जस्तो लाग्ने जवाफमा अल्झाइन्छ चालिसेको जिन्दगीको मोडलाई कि– आज हामी जहाँ छौँ त्यो हिजो गरेका निर्णयको उपज होे, छोरीलाई नयाँ ल्यापटप नपठाउने सानो निर्णयले मेरो जिन्दगी नै उलटपुलट भयो । 

हिजो राष्ट्रको निम्ति उत्सर्जित हुँदा निर्माण भएको शुरता, वीरता र पराक्रमको इतिहास राणा शासन कालदेखि इष्ट इन्डिया, बेलायत, मलाया, हङकङ हुँदै सिंगापुरसम्म फैलिएको गोर्खालीको उपमा पनि त आफैमा एउटा भ्रम हो । जीवन र जगतको वास्तविकतामाथि उभिएको महाभ्रम । हो यही महाभ्रमभित्र यस उपन्यासको मूलपात्र र हाम्रो जीवनको मूल प्रवृत्ति छताछुल्ल भएको पाइन्छ, ‘बालुवामा बिच्छाइएको सेतो सल, राउधाको उन्मत्त वैंश भरिएको शरीरमुनि खुम्चिँदै गयो ।

म सेतो सलको बिच्छ्यौनामा पल्टिएँ, ऊ पनि मेरो छातिलाई सिरानी बनाएर चरम सुखानुभूतिका साथ आँखा चिम्लिएर पल्टिरही ।’ हो, यही आँखा चिम्ल्याईभित्रै हाम्रो युगजीवन भ्रमित छ, युगौंदेखि । जसको सिरानीमा खसमको फोटो हुन्छ, एकान्त भेटेपछि बात मार्छ, निदाउन नसक्दा आँखा चिम्लिएर सिरानीसँग पाक क्रिया सम्पन्न गर्छ र तकियामा यौनाङ्ग दलेर स्खलित हुन्छ अथवा अतृप्त वासना सपनामा छचल्किन थालेपछि रातभरी सम्भोग सुखमा भुलेर कट्टुको सेतो वास्तविक दागसँगै ब्युँझिने हिजो देखिको भोगाई हो । आजको भोगाई हो र खाडी, मलेसिया, युरोप र अमेरिका भासिने लाखौंको दैनन्दिनीको सार यही हो । यहीँनेर हामी भ्रमभित्र बाँचिरहेछौँ । यहीँनेर हामी हेलुसिनेसनमा बाँचिरहेछौं र यो उपन्यास लेख्न अभिसप्त छौं ।   

यो उपन्यास धेरै कोणबाट प्राकृतिक रुपमा लेखिएको पनि छ । जस्तै कथाको उठान बिस्तारै सुरु हुन्छ र अन्त्य द्रुततर हुँदा लाग्छ उपन्यासले सृष्टिको निर्माण र ध्वंसको धारालाई पक्रिन खोजेको छ । उपन्यासको समाप्ति हेर्दा अपूर्ण लाग्छ, त्यसले सृष्टिका कुनै पनि कुरा न त वास्तवमै सुरु हुन्छन् न त पूर्ण रुपमा अन्त्य, कथाहरु निरन्तरतामा जन्मिन्छन् र निरन्तरताकै क्रममा अन्त्य पनि हुन्छन् भन्ने सन्देश छोड्न सफल पनि छ । 

असार पन्ध्रका भाका, आमाको काख, भीर कान्लामा फलेका खन्युँ, एैसेलु र काफल अनि कोदो , फापर र दुधेमकै संग मिच्छिएर केक, बियर र चेरीका फलमा अकर्षित युवा जो वर्षौँदेखि डीभीको लाइनमा बसेर अमेरिका छिरे अथवा सयकडा तिनको साउँ याज, नववधुको उन्मत्त वैंश र जीवनका सारा जोखिम वेवास्ता गरेर खसमको गलामा सुनको सिक्री र रातो सारीका निम्ति भासिइरहेछन् के त्यो सडकको मृगतृष्णा देखेर भाग्ने मृगको दौड भन्दा भिन्न छ ?

तर त्यही दौडमा होमिएर रातो बाकसमा फर्किंदा उसको जीवन लीलाको समाप्ति भ्रम हुन सक्छ ? यो जीवन लीला आफैंमा भ्रम र वास्तविकताको फ्युजन नभए के हो र ?सबै कुरा भ्रम हो र भ्रम नै सबै कुरा हो भन्ने महाभ्रमभित्र बाँचिरहने कि, भ्रम र वास्तविकतालाई पर्गेलेर जागरुक जीवन बाँच्न सक्ने पाठक तयार गर्न साझा प्रयत्न थाल्ने भन्ने पेचिलो प्रश्न जन्माउन सफल उपन्यास पनि हो यो । 

त्यसैले भन्न सकिन्छ भ्रम र वास्तविकताको फ्युजनभित्र जीवन र जगतका धेरै पहलुहरु अल्झिएका छन् जसलाई भ्रम र वास्तविकताको समानान्तर खोजद्वरा नै सुल्झाउन सकिन्छ । यही मान्यता र भाष्यमा आधारित औपन्यासिक कृति हो, एक सर्को माया । जसले मानसिक स्वास्थ्यको एउटा महत्वपूर्ण समस्यालाई साहित्यका माध्ययमबाट प्रचार र प्रसारमात्र गरेको छैन बरु ऐतिहासिक रुपमा हेलुसिनेसनभित्र बाँचिरहेको नेपाली समाजको समग्र इतिहास, वर्तमानताको उत्पादन प्रणाली र सामाजिक तथा राजनैतिक धरातलको जग नराम्ररी हल्लाइदिएको छ । 

यस उपन्यासमा राउधा एक कल्पना, चाहना र भविष्यको उज्यालोको बिम्बको रुपमा उभिएकी थिई । जो कार्य र कारणको सम्बन्धको त्यो ऐतिहासिक मोडमा भिडको थोरै पर एउटा रुखमुनि बसेर हेरिरहेकी थिई ।  जो म पात्रको हालत देखेर मन्द मुस्कुराई र म पात्र उसको मुस्कानलाई संसारकै घिनलाग्दो हाँसोको रुपमा स्वीकार गर्न बाध्य हुन्छ, छिः कति निष्ठुर हुन सक्छे ? हो राउधा, जसरी एक भ्रम थिई ठिक त्यसैगरी आजका लाखौं तन्नेरीले आत्मसात् गरेको भविष्य दुरुस्त राउधा जस्तै छ । एकदमै मोहिनी, एकदमै रुमानी, एकदमै धोकेबाज । सुनौलो भविष्यको सपना बोकेर विदेशिएका युवा या त रातो बाकसमा फर्किन्छ, या त स्वयं फर्किँदा सारा संसार अर्कैको घरमा दोस्रो बिहा गरेर गइसकेको भेटाउँछ । यो समाजमा रहेको हेलुसिनेसन नभएर के हो त ?

दराजको ठूलो ऐना अघिल्तिर मृत्यु रचना गर्दैगर्दा संयोगवश ऐना ध्वंस गरेर आफ्नै अतितको वास्तविक जीवन सुम्सम्याउँदै पुनः राउधाको अवास्तविक मोहिनीमा होमिन पुग्छ, म पात्र । ज्यादै छोइने, मन–मुटु र चैतन्य एउटा डल्लो परेर थामिन गाह्रो हुने प्लट जसरी रचना भएको छ, त्यसको आधार भ्रम र वास्तविकताको फ्युजन नै हो । सर्जकको मस्तिष्कमा हुँदै गर्दा निसृतः शक्ति र शब्दको प्राकृतिक एकत्व हो ।

यो उपन्यास धेरै कोणबाट प्राकृतिक रुपमा लेखिएको पनि छ । जस्तै कथाको उठान बिस्तारै सुरु हुन्छ र अन्त्य द्रुततर हुँदा लाग्छ उपन्यासले सृष्टिको निर्माण र ध्वंसको धारालाई पक्रिन खोजेको छ । उपन्यासको समाप्ति हेर्दा अपूर्ण लाग्छ, त्यसले सृष्टिका कुनै पनि कुरा न त वास्तवमै सुरु हुन्छन् न त पूर्ण रुपमा अन्त्य, कथाहरु निरन्तरतामा जन्मिन्छन् र निरन्तरताकै क्रममा अन्त्य पनि हुन्छन् भन्ने सन्देश छोड्न सफल पनि छ । 

जे होस्, एक सर्को माया सामान्य पाठकको दैननन्दिनलाई स्पर्श गर्नसक्ने उपन्यास हो जसले नेपाली समाजभित्र निहित ऐतिहासिक हेलुसिनेसनलाई एक हदसम्म सतहमा ल्याउन सफल भएकोमा सर्जकलाई बधाई र कृतिको उत्तरोत्तर प्रगतिको कामना । 


 

अन्तिम अपडेट: भदौ २, २०७५

जीवन युगीन

लेखक मध्यबिन्दु प्रज्ञा प्रतिष्ठानका, नवलपरासीका अध्यक्ष हुनुहुन्छ साथै जीवन अस्पताल, कावासोतीका प्रबन्ध निर्देशकसमेत हुनुहुन्छ ।
 

तपाईको प्रतिक्रिया