स्थानीय तहले जथाभावी कर असुली गरेको उद्योग वाणिज्य महासंघको आरोप

 साउन २७, २०७५ आइतबार १३:५८:५६ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले स्थानीय सरकारले जथाभावी कर असुली गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले स्थानीय सरकारले जथाभावी कर असुली गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको समृद्धिको मुख्य आधार कर भएको उल्लेख गर्दै त्यसलाई सहज बनाउन पनि सरकारसँग आग्रह गर्नुभयो ।

अध्यक्ष राणाले चीन र भारतले कर प्रणालीलाई सहज बनाएकै कारण आर्थिक वृद्धिदरलाई तीव्रता दिएको उल्लेख गर्दै सरकारले पनि सोही अनुसारको व्यवस्था गर्न ढिलाई गर्न नहुनेमा जोड दिनुभयो । उहाँले मुलुकको समृद्धिका लागि सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

अध्यक्ष राणाले मुलुकको समृद्धिका लागि उत्पादनशील क्षेत्रमा लगानी गर्न पनि निजी क्षेत्र लागि परेको दावी समेत गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले व्यवसायीलाई पीडा बोध नहुने गरी कर असुली गर्न सरकारको गम्भिर ध्यानार्कषण गराउनुभयो । उहाँले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारसँग सहकार्य गरेर जाने प्रतिवद्धता पनि दोहोर्‍याउनु भयो ।

अध्यक्ष शर्माले मुलुकको समृद्धिका लागि स्रोतहरुको कमी नभएको स्मरण गराउनुभयो । कार्यक्रममा निजी क्षेत्रको लगानीका लागि आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराइएको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया