गाउँगाउँमा दलालको सञ्जाल : तीन वर्षमा बेचिए २२ युवती

 साउन २७, २०७५ आइतबार १८:३१:१७ | हरि हुमागाईं

मकवानपुर – बेच्ने उद्देश्यले मानव ओसारपसार रोकथामका लागि सञ्चालित गैरसरकारी संस्थाको ध्यान मकवानपुरमा केन्द्रित भइरहेको बेला चेलिबेटी बेचबिखनका घटना भने घट्न सकेको छैन । 

वैदेशिक रोजगारीका नाममा ललाइफकाई भारत पु¥याएर यहाँका युवतीहरु बेचिन थालेको प्रमाण फेला पर्न थालेका छन् ।

वैदेशिक रोजगारीका लागि गएका युवती फर्केर बेचिएको भन्दै न्यायालय धाउन थालेपछि यस्तो तथ्य खुलेको हो ।

आर्थिक वर्ष २०७२/०७३ देखि अहिलेसम्मको तथ्यांक हेर्ने हो भने मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आठ मुद्धा परेका थिए ।

ती मुद्धामध्ये २२ युवती पीडित रहेको कार्यालयको तथ्यांक छ । मुद्धामा रहेकामध्ये प्रलोभनमा पारि तीन, आर्थिक प्रलोभनमा नौं, विवाह गर्ने बहानामा एक र बाध्य बनाएर एक जनालाई बेचिएको पाइएको छ ।

प्रहरीको मुद्धा शाखाका अनुसार बेचबिखनका घटना सार्वजनिक हुने क्रम बढ्दो छ । गाउँकै दलालहरु रोजगारीमा लगाइदिने नाममा बेचबिखनमा सक्रिय छन् । 

पीडितले जाहेरीमा उल्लेख गरेअनुसार वैदेशिक रोजगारीमा लैजाने भन्दै फकाउने गरिएको हो ।
गाउँगाउँमा दलालको सञ्जाल रहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।

पीडितको बयान र प्रहरी अनुसन्धान भन्छ, ‘जसले गाउँबाट महिला लैजान्छन्, तिनीहरु नै भारतमा कोठी सञ्चालन गरेर बसेको जिल्ला प्रहरी कार्यालयको मुद्धाशाखाले जनाएको छ ।

तर, बेचबिखनका घटना दर्ता हुने क्रम बढे पनि जघन्य अपराधका आरोपीलाई पक्रेर कारबाही गर्न भने प्रहरी उदासीन पाइएको छ । 

सात मुद्धाका २२ पीडितले २१ जनालाई विपक्षी बनाएका छन् । तर पनि ४ अभियुक्त फरार छन् । 

तीमध्ये कोही अनुसन्धानमा पुर्पक्षका लागि कारागार चलान गरिएका छन् भने केही धरौटी बुझाएर तारेखमा छुटेका छन् । 

मुद्धा शाखाका प्रहरीका अनुसार आरोपीहरु फरार रहेकाले पक्रन नसकिएको हो । आरोपीहरु पक्राउ नपर्दा पीडितहरु न्यायको खोजीमा प्रहरीमा धाउन उत्साही छैनन् ।

बेचबिखन रोक्ने भन्दै जिल्लामा दर्जनौं एनजीओ खुलेका छन् । केही सक्रिय रहेको पनि पाइन्छ । 

तर बेचबिखनको श्रृंखला घटेको पाइँदैन । राहदानी बनाएर वैदेशिक रोजगारीमा जाने बहानामा चेलीहरु बेचिइरहेका छन् ।

मानव बेचबिखनमा पर्ने युवतीहरु १६ वर्षदेखि २५ वर्षसम्मका बढी पीडित रहेको प्रहरीले जनाएको छ ।

यहाँ जीउ मास्ने बेच्नेसम्बन्धी वा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अपराध गम्भीर समस्याका रुपमा रहेको र यसलाई रोकथामका लागि कडा कानुन लागू गरिए पनि व्यवहारमा अहिले पनि कयौं पीडितले कानुनी उपचार पाउन सकेका छैनन् । 

यस्तो कार्यलाई निस्तेज पार्न जबसम्म राज्यबाट कडा कदम चालिँदैन, तबसम्म जतिसुकै कडा कानुन लागू भए पनि पीडितले अन्याय सहेरै बस्नुपर्ने अवस्था छ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धका उजुरी बढ्न थालेका छन् ।

आर्थिक वर्ष २०७१/०७२ को तुलनामा २०७२/०७३ मा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको उजुरी १७ प्रतिशतले बढेको छ । 

नेपाल प्रहरीअन्तर्गत महिला तथा बालबालिका सेवा निर्देशनालयमा दुई वर्षमा दर्ता भएको उजुरीको अवस्था हेर्दा यस्तो पाइएको हो ।

निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा मानव बेचबिखन तथा ओसारपसारविरुद्धका २ सय १२ वटा उजुरी परेका थिए भने आव २०७१/०७२ मा १ सय ८१ वटा त्यस्ता प्रकृतिका उजुरी दर्ता भएका थिए । 

जुन अघिल्लो आव २०७२/०७३ को भन्दा ३१ वटाले बढी हो ।

आव २०७०÷०७१ मा १ सय ८५ वटा उजुरी दर्ता भएकोमा आव २०६९/०७० र आव २०६८/०६९ मा क्रमशः १ सय ४४ र १ सय १८ वटा उजुरी दर्ता भएका थिए । 
यी तथ्यांक हेर्दा पछिल्लो पाँच वर्षमा मानव बेचबिखनका उजूरी प्रत्येक वर्ष बढेको स्पष्ट हुन्छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया