विष्णुकुण्डलमा पौडी खेल्दा गयो किशोरको ज्यान

 साउन २७, २०७५ आइतबार २०:२९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – मध्यपुरथिमि नगरपालिका वडा नं–४ मा रहेको विष्णु कुण्डलमा डुबेर आइतबार एक किशोरको ज्यान गएको छ । 

पौडी खेल्ने क्रममा सिन्धुपाल्चोक बराम्ची ३ घर भई हाल मध्यपुरथिमि बस्दै आएका १७ वर्षीय विवेक अधिकारीको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

आइतबार अपरान्ह करिब ५ बजे साथीहरुसँग विष्णु कुण्डलमा गएर पौडी खेल्ने क्रममा पोखरीको पर्खालबाट बाँकटे हानेर पोखरीमा पस्दा पोखरीभित्रको हिलोमा भासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएकाे छ।

घटनाबारे जानकारी पाएलगत्तै उद्धारका लागि खटिएको थिमिको प्रहरी टोलीले पोखरीभित्र पसेर आधा घण्टाभन्दा बढी समय लगाएर अधिकारीको शव निकालेको उहाँले जानकारी दिनुभयो । 

मध्यपुरथिमि नगरपालिकाले यसवर्ष मात्रै १० लाख रुपैयाँ खर्च गरेर त्यस धार्मिक पोखरीको सरसफाई गरि पर्खाल लगाएको थियो । 

वर्षाको समय भएकाले पर्खालसम्म पानी भरिएको र पोखरीको पिंधमा हिलो जमेका कारण त्यही हिलोमा भासिएर बाहिर आउन नसक्दा ज्यान गएको हुनसक्ने प्रहरीको भनाई छ । 

शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया