भारतको धौलीगङ्गाको बाँध खोलिँदै, महाकाली नदीमा बाढीको खतरा

 साउन २८, २०७५ सोमबार ५:५५:४३ | रासस

बैतडी - भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजना बाँध खोलिने भएको छ । बाँध सरसफाइका लागि भन्दै सोमबार बिहान ७ बजे बाँध खुला गरिन लागेको जानकारी आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेर सम्भावित बाढीबारे सतर्कता अपनाउन आग्रह गरेको छ । 

बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकालीमा बाढी आउने खतरा हुने भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ । बाँधको पानीका कारण महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । 

दार्चुलाको ब्यास, दुहू, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नदीतटीय क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई सुरक्षित भएर बस्न एवं सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो । 

पछिल्लो समय बाँध खोल्ने समयबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । केहीदिन पहिले दार्चुलामा सम्पन्न नेपाल र भारतका जिल्ला अधिकारीहरुको बैठकमा बाँधको पानी छाड्ने समयबारे सूचना आदानप्रदान गर्ने सहमति भएको थियो । यस वर्षमात्रै धौलीगङ्गाको बाँध चारपटक खोलिएको छ । 

धौलीगङ्गा जलविद्युत् परियोजनाको क्षमता २८० मेगावाट रहेको छ । यसअघि सो परियोजनाको छिरकिल्ला बाँधमा पानीको मात्रा बढेपछि गत साउन १२ गते पनि बाँधको ढोका खोलिएको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया