वडा कार्यालयसमेत रहेको विद्यालय: शिक्षक छैनन्, तर नमूना !

 साउन २८, २०७५ सोमबार ७:१६:५८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - धनुषामा एक यस्तो विद्यालय छ, जहाँ वडा कार्यालय समेत सञ्चालनमा रहेको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ३ को वडा  कार्यालय स्थानीय देवकी नमूना प्राथमिक विद्यालयकै हाताभित्र सञ्चालनमा छ ।

वडा कार्यालयको आफ्नो भवन बन्दै गरेकाले गएको वैशाखदेखि नै विद्यालय भवनमा कार्यालय सञ्चालन रहेको वडाध्यक्ष हिरालाल महतोले बताउनुभयो ।

सबाट विद्यालयको पठनपाठनमा कुनै असर नपरेको उहाँको भनाई छ । निर्माणाधीन वडा कार्यालयको भवन चाँडै बनेपछि कार्यालय सार्ने वडाध्यक्ष महतोले बताउनुभयो ।  

अर्को रोचक के छ भने वडा कार्यालय समेत सञ्चालनमा रहेको विद्यालयमा शिक्षकको खडेरी छ । कक्षा ६ सम्म सञ्चालनमा रहेको यो विद्यालयमा बाल विकासमा मात्र एक शिक्षिकाको दरबन्दी छ ।

बालविकास दरबन्दीमा कार्यरत्त लक्ष्मीकुमारी महतो विद्यालयको प्रधानाध्यापक समेत हुनुहुन्छ । उहाँबाहेक विद्यालयमा अरु शिक्षक छैनन् । सहयोगी निलम कुमारी महतो र परिचर कृष्णकुमार महतोकोकै भरमा विद्यालय चलेको छ ।

पटक पटक जिल्ला शिक्षा कार्यालय धनुषा र स्थानीय तहलाई समेत शिक्षक थप गरिदिन आग्रह गर्दा समेत कुनै वास्ता नगरेको प्रधानाध्यापक लक्ष्मी महतोको गुनासो छ ।

स्थानीय रामअधिन महतोले २०६६ सालमा आफ्नै जग्गा दिएर स्थापना गरेको विद्यालय त्यही बेलादेखि एकजना बाल विकासको शिक्षिकाको भरमा चलिरहेको छ । तर पनि पठनपाठन राम्रो भएकाले विद्यालय नमूना बन्न सफल भएको छ ।

अहिले विद्यालयमा एकसय ९२ जना विद्यार्थी अध्ययनरत छन् ।

‘विद्यार्थीहरु निःशुल्क ट्युसनको समेत व्यवस्था छ । सहयोगीहरुको भरमा  पठनपाठन नियमित राम्रो गराउँदै आएकाले विद्यालय नमूना बन्न सफल भएको छ’ प्रधानाध्यापक महतोले भन्नुभयो ‘दुई तीन जनाले स्वयंसेवकको रुपमा पढाएर सहयोग गर्दै हुनुहुन्छ । तर पठनपाठनको स्तर खस्किन दिएको छैन । पटकपटक सम्बन्धित निकायसँग शिक्षक माग गरिरहेको छु । तर सुनुवाई भएन ।’
 
वडा कार्यालय विद्यालयमा राखे वापत विद्यालयलाई केही पनि उपलब्ध नगराएको प्रधानाध्यापक महतोको गुनासो छ । तर विद्यालयलाई भवनको अभाव नरहेको उहाँले बताउनुभयो ।
 
यता गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले विद्यालयमा शिक्षक थप्नको लागि जिल्ला समन्वय शिक्षा समिति एवं जिल्ला शिक्षा अधिकारीलाई आग्रह गरेको बताउनुभयो । आश्वासन पाएकाले विद्यालयमा शिक्षक थपिनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया